काठमाडौं । सरकारको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रका सांसद पूर्णबहादुर घर्तीमगरले सहरी विकास मन्त्रालयले ५ लाखभन्दा कमको पनि बजेट विनियोजन गरेकोमा आपत्ति जनाएका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहालले संघीय सरकारले ५ करोडभन्दा कम बजेट विनियोजन नगर्ने प्रतिवद्धता जनाए पनि त्यस विपरीत बजेट आएको भन्दै उनले आक्रोश व्यक्त गरे ।
बुधबार प्रतिनिधि सभा बैठकमा सहरी विकास मन्त्रालय, रक्षा मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको विनियोजित बजेटमाथिको छलफलमा भाग लिँदै उनले ५ करोडभन्दा कम बजेट संघीय सरकारले नगर्ने भन्ने सहमति विपरीतका बजेटहरु विनियोजन गर्नु गलत भएको बताए ।
उनले द्वन्द्व पीडितहरुलाई क्षतिपूर्ति दिनका लागि बजेट विनियोजन नगरिएकामा असन्तुष्टि व्यक्त गरे ।
‘सहरी विकास मन्त्रालयको बजेटमा ५ लाख बराबरको योजनाहरु १७७ वटा रहेछन् । जबकी हामीले ५ करोडभन्दा बढीको योजना समावेश नगर्ने भनेका थियौँ । तर ५ लाख बराबरको १७७ वटा योजनाहरु छन । ३ लाखका २४ वटा योजनाहरु छन् । र, १ लाखका ९१ वटा योजनाहरु देखिएका छन् । प्रधानमन्त्रीज्यू र अर्थमन्त्रीज्यूको भनाइ र गराइ मिलेन कि भन्ने मलाई लागिराखेको छ । यो ५ लाख, ३ लाख, २ लाखका योजनाहरु गर्दाखेरी मिलेन भन्ने मलाई लाग्छ’, उनले भने ।
सांसद घर्तीमगरले बजेट वितरणमुखी भएको पनि बताए ।
Facebook Comment
Comment