काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा) ले गण्डकी प्रदेश सरकारलाई कानुन बमोजिम विश्वासको मत दिएको भन्दै फ्लोर क्रसको प्रचारबाजी गरिएकोमा आपत्ति जनाएको छ।
नेसपाका केन्द्रीय प्रवक्ता कृष्ण शर्माले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै नेसपा गण्डकी प्रदेशसभा सदस्य फणीन्द्र देवकोटाले मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई दिएको मत संविधानसम्मत भएको बताएका हुन् ।
‘गण्डकी प्रदेशसभामा नेपाल समाजवादी पार्टीले संविधान र कानुनले दिएको अधिकार प्रयोग गरी विश्वासको मत दिएको अवस्था हो । नेपाल समाजवादी पार्टीले संविधानको मर्म, भावना र मौजुदा कानुनी व्यवस्था बमोजिम गरेको निर्णयलाई फ्लोर क्रस भनी गरिएको प्रचारबाजीबाट भ्रमित नहुन सम्पूर्ण जनसमुदायमा हार्दिक अपिल गर्दछौँ,’ विज्ञप्तिमा भनिएको छ ।
विश्वासको मतलाई आधार बनाएर अन्य दलले ह्विप जारी गरी कारबाही गर्न मिल्ने अवस्था देवकोटाको हकमा नरहेको उल्लेख छ ।
‘ नेपाल समाजवादी पार्टी र नेकपा (माओवादी केन्द्र) नेपालको संविधान धारा १७ को उपधारा (२) खण्ड (ग) र राजनैतिक दलसम्बधी ऐन २०७३ को दफा ४९ ले दिएको अधिकार प्रयोग गरी दलको छुट्टै स्वतन्त्र अस्तित्वसहित चुनावमा सहकार्य भएको थियो,’ विज्ञप्तिमा भनिएको छ, ‘यस सन्दर्भमा नेपाल समाजवादी पार्टीको निर्देशन र जनताले आम निर्वाचनमा दिएको जनादेश बमोजिम हाम्रो पार्टीका प्रदेश सभा सदस्य फणीन्द्र देवकोटाले विश्वासको मत दिनुभएको हो । यस अवस्थामा उहाँले दिनुभएको विश्वासको मतलाई आधार बनाएर अन्य दलले ह्विप जारी गरी कारबाही गर्न मिल्दैन।’
नेसपाले फणीन्द्र देवकोटाले गोरखा २ (१) मा उम्मेदवारी दर्ता गर्दा नै मनोनयन फाराममा नेपाल समाजवादी पार्टीको तर्फबाट उम्मेदवार भनेर जनाएको बताएको छ।
‘निर्वाचनमा गोरखा २ (१) मा उम्मेदवारी दर्ता गर्दा नै फणीन्द्र देवकोटाले मनोनयन फाराममा नेपाल समाजवादी पार्टीको तर्फबाट उम्मेदवार भनेर जनाउनु भएको थियो। निर्वाचनपश्चात् निर्वाचन आयोगले उहाँलाई नेपाल समाजवादी पार्टीको विजयी सांसद भनी प्रमाण पत्र र परिचय पत्र दिएको हो । निर्वाचन आयोगमा भएको अभिलेखमा समेत नेपाल समाजवादी पार्टीका प्रदेश सभा सदस्य भनेर उल्लेख गरेको अवस्था छ’, विज्ञप्तिमा भनिएको छ।
Facebook Comment
Comment