बाबु लोसपा सांसद, छोरा जनमतबाट मुख्यमन्त्री : बाबु भन्छन्-फरक दलमा भए पनि घरमा कुरा हुँदैन

लोसपामा नै रहेका शेखरकुमार २०७६ सालमा राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएका हुन् । गजबचाहिँ के भने बाबुको दल लोसपा छोरा मुख्यमन्त्री बनेको गठबन्धनको विपक्षमा छ, संघमा पनि र प्रदेशमा पनि ।

नेपालभ्युज

बाबु लोसपा सांसद, छोरा जनमतबाट मुख्यमन्त्री : बाबु भन्छन्-फरक दलमा भए पनि घरमा कुरा हुँदैन

काठमाडौं । मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सतिशकुमार सिंह राष्ट्रियसभा सदस्य शेखरकुमार सिंहका छोरा हुन् ।

पछिल्लो प्रादेशिक निर्वाचन अघिसम्म बाबु-छोरा एउटै दल लोकतान्त्रिक समाजवादी (लोसपा) मा थिए । निर्वाचनअगाडि मात्रै सतिशकुमार बाबुको सल्लाहमा नै डा. सीके राउत नेतृत्वको जनमत पार्टी प्रवेश गरे । र, सप्तरी २ को ‘क’बाट उम्मेदवारी मात्रै दिएनन्, निर्वाचितसमेत बने ।

बाबु शेखरकुमार भने लोसपामा नै छन्, उनी पार्टीका तर्फबाट राष्ट्रिय सभामा प्रतिनिधित्व गर्छन् । प्रकारान्तरले बाबु-छोरा फरक दलबाट राजकीय भूमिकामा पुगेका छन् । बाबु राष्ट्रियसभा सदस्य, छोरा मुख्यमन्त्री ।

सतिशकुमार मधेस प्रदेश सभामा सांसद मात्रै थिए तर, हात पर्‍यो मुख्यमन्त्री । प्रदेश सभामा संसदीय दलका नेता, उपनेता, प्रमुख सचेतक, सचेतक अरु नै थिए । अर्थात् संसदीय दलमा उनीभन्दा अगाडि धेरै थिए ।

तर, मुख्यमन्त्री पर्‍यो सतिशकुमारको भागमा । किन ? त्यसका हुनसक्ने मुख्य चार कारणबारे नेपालभ्युजमा मधेसको मुख्यमन्त्रीमा सिंहले कसरी मारे बाजी ? यी हुन् चार कारण  पढ्न सक्नुहुन्छ । तर, ‘इन्ट्रेस्ट्रिङ’चाहिँ के भने सांसद मात्रै हुँदा पनि उनको भागमा मुख्यमन्त्री पर्‍यो ।

जे होस्, जसरी भएपनि सतिशकुमार मुख्यमन्त्री बने । जसका लागि बाबु शेखरकुमार खुसीले गद्गद् छन् । “छोरा मुख्यमन्त्री भयो, यसमा म निकै खुसी छु,” शेखरकुमार भन्छन्, “छोरा मुख्यमन्त्री हुँदा कसलाई पो दु:ख लाग्छ र ! म त निकै खुसी छु नि ।”

जनमतमा जानेबेला सतिशकुमारले बाबु शेखरकुमारसँग सल्लाह मागेका थिए । बाबुले ‘तँ सानो छैनस्, आफ्नो निर्णय लिन आफैँ स्वतन्त्र छस्’ भनेपछि सतिशकुमार जनमत प्रवेश गरे, आज मुख्यमन्त्री पनि बने ।

“छोराले जनमतमा जानेबेला सल्लाह मागेको थियो, मैले स्वतन्त्र छाडेँ । आज ऊ मुख्यमन्त्री बन्यो । हामी फरक दलमा छौँ तर, घरमा त्यसबारे केही कुरासमेत हुँदैन । हामी आफैँ स्वतन्त्र छौँ,” उनले भने ।

सतिशकुमार यसअघि पनि सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका अध्यक्ष भइसकेका नेता हुन् । त्यसबेला उनी लोसपाकै नेता थिए । शरतसिंह भण्डारी नेतृत्वको तत्कालीन राष्ट्रिय मधेस समाजवादी पार्टी र राजपा हुँदै उनी जनमतसम्म आइपुगेर मुख्यमन्त्री बने ।

लोसपामा नै रहेका शेखरकुमार २०७६ सालमा राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएका हुन् । गजबचाहिँ के भने बाबुको दल लोसपा छोरा मुख्यमन्त्री बनेको गठबन्धनको विपक्षमा छ, संघमा पनि र प्रदेशमा पनि ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved