तराई-मधेसमा उखरमाउलो गर्मी, मजदुरीदेखि पढाइसम्म प्रभावित

तराई-मधेसमा उखरमाउलो गर्मी, मजदुरीदेखि पढाइसम्म प्रभावित

जनकपुरधाम । तराई–मधेसका अधिकांश भागमा केही दिनयता अधिकतम तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेको छ । यससँगै सर्वसाधारणको जनजीवन प्रभावित बनेको छ ।

मधेसका अधिकांश स्थानमा पछिल्लो एक सातादेखि तातो हावा तथा लू (हिट वेभ) चलिरहेको छ ।

गर्मी बढेसँगै जल तथा मौसम विज्ञान विभागले सिङ्गो मधेस प्रदेशका क्षेत्रलाई चेतावनीको स्तरमा राखेको छ अर्थात्, यी स्थानमा तातो हावा एवं लूबाट बच्न सचेतना अपनाउन आग्रह गरेको छ ।

मौसम विभागले तातो हावा तथा लूबाट बच्न घरभित्र वा चिसो ठाउँमा रहन, घाममा हिंड्डुल नगर्न, हलुका लुगा लगाउन, घर बाहिर निस्कँदा कपडा वा अरू कुराले टाउको छोप्न, पानी र झोल पदार्थ पर्याप्त पिउन सुझाव दिएको छ ।

तातो हावा तथा लूका कारण अत्यधिक थकान हुने, कमजोरी हुने, तिर्खा लाग्ने, बेहोस हुने, बान्ता हुने लगायत जोखिम निम्तन सक्छ ।

गर्मीका कारण दैनिक ज्यालादारी गर्ने मजदुरहरूको जनजीवन झन् कष्टकर बनेको छ ।

दैनिक ज्यालादारी मात्रै हुने आफूहरूजस्ता मजदुरलाई उखरमाउलो गर्मीमा काम गर्न निकै कठिन भएको धनुषा महेन्द्रनगरका ३५ वर्षीय पुल्कित राम बताउँछन् ।

आफ्नै जग्गाजमिन नभएका कारण विगत १५ वर्षदेखि मजदुरी गर्दै आएका पुल्कित पछिल्ला वर्षहरूमा बर्खा याममा सहनै नसकिने गरी गर्मी बढ्ने गरेको बताउँछन् ।

‘बढ्दो गर्मीले होला, मलाई एकदमै चक्कर आउलाजस्तो हुन्छ । तर, यो काम नगरी सुखै छैन,’ क्षीरेश्वरनाथ नगरपालिका ५ महेन्द्रनगरमा निर्माणधिन एक भवनमा काम गर्दै गरेका उनले भने ।

गर्मी अत्यधिक बढ्दै गएको भए पनि उनीसंगै र अन्य दैनिक ज्यादारीमा काम गर्ने मजदुरहरू काममा व्यस्त छन् । गर्मी याममा दिन पनि लामो हुने भएकाले काम गर्न थप कठिन हुने मजदुरहरू बताउँछन् ।

जनकपुरधामका रामबाबु मुखिया रिक्सा चालक हुन् । अहिले गर्मी बढ्दा यात्रू पाउन र चर्को घाममा रिक्सा चलाउन निकै कठिन भएको उनी बताउँछन् ।

‘अहिले घाम अनि तातो हावाले बिरामी नै पर्लाजस्तो भएको छ । तर, पेट पाल्न काम त गर्नपर्यो । मानिसहरू घरभित्रै बस्ने भएकाले आम्दानी पनि छैन,’ मुखियाले भने ।

“गर्मीले दुईछाक टार्न कठिन भएको छ तर, जसरी पनि काम गरौँ भने चढ्ने मान्छे नै पाइँदैन ।’ उनी भन्छन् ।

मानिसहरूको दैनिक जनजीवनमात्रै नभई अहिले मधेसका धेरै क्षेत्रमा सरकारी कार्यालयका कामहरू गर्न जान पनि कठिन भएको सेवाग्राही बताउँछन ् । सहरी क्षेत्रमा मानिसहरूको चहलपहल निकै कम देखिन्छ ।

दिउँसोको समयमा घरबाहिर निस्किएर काम गर्न मुस्किल भइरहेको सर्वसाधारणहरूले बताएका छन् ।

ढल्केवरबाट काम विशेषले जनकपुरधाम पुगेकी नन्दिता बस्नेतले गर्मीका कारण आफ्नो काम प्रभावित भएको बताइन् । उनी भन्छिन्, ‘जनकपुरमा गर्मी खान आएकोजस्तो मात्र भएको छ । कार्यालयमा लाइनमा बसेर केही गर्नुपरेमा गर्मीले लाइनमै ढल्ने जस्तो अवस्था छ ।’

घर धनुषा नै भएपनि विगत लामो समयदेखि काठमाडौं बस्दै आएका चन्द्रकान्त कर्णले पनि जनकपुरमा टिक्नै नसक्ने गर्मी महसुस भइरहेको बताए ।

“काठमाडौंबाट यता आउँदा साह्रै गर्मी महसुस भयो, शरीरभरि बिमिरा आइसक्यो । हिँड्डुलको त कुरै छोडौँ, दिउँसोको समयमा घरभित्र बस्न समेत समस्या भइसक्यो,“ कर्णले भने ।

यताका स्थानीयहरू पनि पहिलेको तुलनामा गर्मी बढ्दै गएको अनुभव सुनाउँछन् ।

ढल्केवरकी स्थानीय बासिन्दा सरीता अधिकारीले गर्मी छल्न दैनिक चार पटकसम्म चिसो पानीले नुहाउने गरेको बताइन् । उनले भनिन्, ‘त्यत्तिकै बस्दा पनि खलखली पसिना आइराख्छ, नुहाएको १० मिनेटमा फेरि उस्तै पसिना आउन थाल्छ ।’

जनकपुरधाम कै सृजना यादवले कामका लागि बजार निस्कनु परे बिहान र बेलुकाकै समय पर्खिनुपर्ने बताइन् । ‘दिउँसो घर बाहिर निस्कँदा सिधै आगोले पोलेजस्तो हुन्छ । घरभित्र पनि भोल्टेज कम भएर होला, पङ्खाले राम्ररी हावा पनि दिँदैन ।’ उनी भन्छन् ।

जिल्ला प्रशासन कार्यालय धनुषाले एक सूचनामार्फत् सर्वसाधारणलाई गर्मीबाट बच्नका लागि अति आवश्यक कामबाहेक घरबाट बाहिर ननिस्कन, प्रशस्त पानी पिउन, बासी, सडेगलेको खाना नखान लगायतका स्वास्थ्य सावधानी अपनाउन सचेत गराउने काम गरिएको प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाले जानकारी दिए ।

त्यसैगरी गर्मी अत्यधिक बढेपछि जनकपुरधाम लगायतका स्थानीय तहका अधिकांश विद्यालयहरू बन्द गरिएका छन् ।

अत्यधिक गर्मीका कारण बालबालिका तथा विद्यार्थीहरू कक्षा कोठामै बेहोस हुन थालेपछि विद्यालयहरू बन्द गर्ने निर्णय गरिएको जनकपुरधाम उपमहानगरपालिकाका निमित प्रमुख प्रशासकीय अधिकृत उपसचिव मेहिलाल यादवले बताए ।

अत्यधिक गर्मीको कारण बाल बालिकाको स्वास्थ्यमा पर्न सक्ने प्रतिकूल असरलाई मध्य नजर गर्दै मिति जेठ १७ गते बिहिबारदेखि २१ गते सोमबार सम्म जम्मा ५ दिन वर्षे विदाबाट कट्टा हुने गरी यस उप–महानगरपालिका अन्तर्गतका सामुदायिक तथा संस्थागत विद्यालयहरूमा प्रशासनिक कार्य बाहेक पठन पाठन बन्द गरिएको छ ।

गर्मीकै कारण अस्पतालहरूमा बिरामी बढ्न थालेको प्रादेशिक अस्पताल जनकपुरधामका प्रवक्ता डा. केडी दासले बताए ।

किसानहरूले पनि पानी अभावका कारण खेतमा बीउ छर्न सकेका छैनन् भने कतिपय ठाउँमा बीउ सुक्न थालेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved