काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउनका लागि सरकारले काम गरिरहेको बताएका छन् ।
गणतन्त्र दिवसका अवसरमा टुँडीखेलमा आयोजित विशेष समारोहमा उनले संक्रमणकालीन न्यायका बाँकी काम सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको बताएका हुन् । संविधानको मर्म र भावनालाई सम्बोधन गर्नेगरी द्वन्द्व व्यवस्थापन र शान्ति स्थापनाका अधिकांस काम पूरा भइसकेकाले बाँकी काम पनि चाँडै सक्ने बताए ।
प्रचण्डले द्वन्द्व व्यवस्थापन र शान्ति स्थापनामा नेपालले गरेको अभ्यास विश्वसामु नवीन उदाहरणका रूपमा स्थापित भएको दाबी गरेका छन् । उनले सशस्त्र द्वन्द्व तथा जनआन्दोलनका घाइते र अपांगता भएकालाई जीवन निर्वाह भत्ता वितरण तथा द्वन्द्वपीडित परिवारलाई क्षतिपूर्ति र परिपूरणको व्यवस्था मिलाइएको जानकारी दिए ।
प्रधानमन्त्री प्रचण्डले संविधानबमोजिम तीनै तहमा निष्पक्ष, स्वतन्त्र, शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न निर्वाचनले मुलुकमा संघीय शासन प्रणालीलाई थप सुदृढ बनाएको उल्लेख गरेका छन् । प्रधानमन्त्री प्रचण्डले आवधिक निर्वाचनबाट गठन भएका तीन वटै तहका सरकारहरू नागरिकको हित र उन्नतीका लागि क्रियाशील रहेको दाबी गरेका छन् ।
देशमा भएको युगान्तकारी परिवर्तनको फलस्वरूप रैती भएर युगौंदेखि हेपिएका वर्ग तथा समुदाय अहिले अधिकार र सम्मानका साथ राज्यका विभिन्न निकायमा नेतृत्व तह पुग्न सफल भएको बताउँदै प्रधानमन्त्री प्रचण्डले भने, ‘कल्पनाभन्दा पर रहेको, आँगनमा उभिँदा समेत छोइछिटो सहनुपर्ने समुदाय अहिले देशैभरिका ६ हजार ७ सय ४३ वडालगायत राज्यका विभिन्न तहका निकायमा निर्णायक भूमिकामा रहेका छन् । आधा आकाशको उपमा पाएका तर चुलोचौकोमा सीमित महिलाहरूले ७५३ स्थानीय तहका प्रमुख वा उपप्रमुखको रूपमा नेतृत्व गरिरहनुभएको छ ।’
हरेक तहका निकायका एक तिहाइ महिलाको सहभागिता सुनिश्चित भएको उल्लेख गर्दै प्रधानमन्त्रीले वञ्चितीकरणमा परेका वर्गको मूलप्रवाहीकरण एवं लक्षित समूहको अधिकार संरक्षणका लागि स्थापित संवैधानिक आयोगहरू क्रियाशील रहेको बताए ।
Facebook Comment
Comment