काठमाडौं। नेपालमा राजनीतिक दलहरू मिल्ने र विभाजन हुने कुनै टुङ्गो छैन। कुनै यस्तो दल छैन, जो आन्तरिक कलहमा नफसेको होस्। कतिसम्म भने, विभाजनपछि बनेका दलहरूलाई समेत आन्तरिक कलहले छोडेको छैन।
जनता समाजवादी पार्टी (जसपा) भित्र कलह बढेपछि महन्थ ठाकुर र राजेन्द्र महतो समूह बाहिरिएर लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) गठन गरे। सत्ता समीकरणका विषयमा मत बाझिएपछि जसपा दुई पार्टीमा विभाजित भएको थियो तर, यी दुवै पार्टी यतिबेला आन्तरिक कलह बढेको छ ।
पहिले जसपाकै चर्चा गरौँ ।
जसपाका अध्यक्ष उपेन्द्र यादव हुन् भने संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई।त्यस्तै वरिष्ठ नेतामा अशोक राई छन्। ठाकुर समूह पार्टीमा रहँदा एकै ठाउँ उभिएका यी नेतावीच अहिले सम्बन्ध चिसिएको छ।यसको कारण हो, यादवको एकलौटी निर्णय ।
गठबन्धन सरकारमा जसपाको तर्फबाट मन्त्री छनोट गर्न पार्टी बैठकले यादव, भट्टराई र राईलाई जिम्मा दियो। तर, पठाउँदा यादवले आफू निकटका लाई मात्रै पठाए। उनले एकलौटी गरेपछि पार्टीभित्र असन्तुष्टि बढ्यो र उनको विरोधमा अभिव्यक्तिहरू आए।
स्रोतका अनुसार, पार्टी विभाजन हुँदा यादवले इस्तियक राईदेखि प्रदीप यादवसम्मलाई मन्त्री बनाउने आश्वासन दिएका थिए। तर,सरकारमा अरूलाई नै पठाएपछि राई, यादव चिढिएका छन् ।
संघीय परिषद् अध्यक्ष भट्टराईको सिफारिसमा एक जनालाई पनि मन्त्री नबनाएपछि जसपाभित्र असन्तुष्टि चुलिएको थियो। अहिले दुरी अरू बढेको छ। कार्यकारी निर्णयको अधिकार यादवमा मात्रै रहँदा अरू निरीह झैँ हुन थालेपछि यादवविरुद्ध मोर्चा बन्दी शुरु भएको छ।
इस्तियाक राई, प्रदीप यादव, राजकिशोर यादव मात्रै होइन, कृषिमन्त्री महेन्द्र यादव समेत उपेन्द्रको एकलौटी गर्ने प्रवृत्तिको विरुद्ध उभिएका छन्। जसले गर्दा पार्टीमा भट्टराई, अशोक राईहरू बलियो देखिएका छन्। महत्त्वपूर्ण निर्णयहरूमा यादव, भट्टराई र राईको बरोबर ‘स्टेक’ हुनुपर्ने बहस यतिखेर जसपा भित्र चलेको छ ।
पार्टीको केन्द्रीय संरचनामा फेरिएको शक्ति सन्तुलनका कारण उपेन्द्र यादव निकै दबाबमा छन्। यादव र भट्टराईवीच दुरी मात्रै बढेको छैन। कतिपय राष्ट्रिय महत्त्वका मुद्दामा समेत यी नेता फरक ढङ्गले प्रस्तुत भइरहेका छन्। जस्तो, भट्टराईले एमसीसीको खुलेरै पक्षधरता लिएका छन् भने यादव मौन छन्।यी सबै सन्दर्भ हेर्दा जसपा भित्र गृह कलह भुसको आगो जस्तै भित्रभित्रै सल्केको छ।
जसपा नेता नवराज सुदेवीले नेपालभ्यूजसँगको कुराकानीमा भने, ‘‘उपेन्द्र यादवमा रूपान्तरणको आवश्यकता छ। त्यस्तो नहुँदा पार्टी पङ्क्तिमा निराशा उत्पन्न हुने छाँटकाँट देखिएको हो। र, त्यसले पार्टीलाई विघटनको बाटोमा लैजाने खतरा देखिन थालेको छ।’’
यद्यपी जसपा कार्यकारिणी समिति सदस्य विजय यादवले पार्टीमा कुनै विवाद नरहेको र सहमतिमै बढेको दाबी गरे। “पार्टीको आन्तरिक बैठक नेताहरूले आ–आफ्नो कुरा राख्नु स्वाभाविकै हो” उनले नेपालभ्यूजसँग भने।
केही समय अघि बसेको जसपाको कार्यकारिणी समिति बैठकमा पर्साबाट संघीय संसद्मा निर्वाचित सांसद प्रदीप यादवलाई गरिएको कारबाही बारेमा व्यापक असन्तुष्टि देखिएको थियो।
लोसपामा पनि उस्तै
जसपामा यादव विरुद्ध असन्तुष्टि बढिरहँदा यता लोसपामा महन्थ ठाकुरविरुद्ध नेताहरूले पार्टी कार्यालयमै धर्ना दिएका छन्।
औपचारिक रुपमा गत भदौमा लोसपा नेपाल गठन भएको हो। तर, ठाकुर र राजेन्द्र महतो सहित यो समूहका नेताहरूले फागुन देखि नै समानान्तर गतिविधि गर्दै आएका थिए। केपी ओली नेतृत्वको तत्कालीन सरकारलाई समर्थन गर्ने कि नगर्ने भन्ने विवादका कारण संस्थापनबाट बाहिरिएका ठाकुर समूहले बेग्लै दल त दर्ता गरे तर चलाउन सकिरहेका छैनन्।
दर्ताकै क्रममा एउटा अध्यक्ष राख्ने कि दुई ओटा अध्यक्षीय प्रणालीमा पार्टी चलाउने भन्ने विवाद सार्वजनिक भयो। ठाकुर अध्यक्ष र महतोलाई वरिष्ठ नेता राखेर लोसपा दर्ता भयो। तर दर्ता प्रक्रिया पुरा नहुँदै पुन एक जना वरिष्ठ नेता थपिदा महतो पक्ष झस्किएको छ। लोसपामा अहिले अध्यक्ष ठाकुर र वरिष्ठ नेतामा महतो र शरदसिंह भण्डारी छन्। पार्टी दर्ता भएको पाँच महिना बितिसक्दा पनि यो पार्टीले केन्द्रीय समिति देखि पार्टीको अन्य संरचनाहरू सम्म निर्माण गर्न सकेको छैन। कतिसम्म भने, पार्टीको औपचारिक बैठक सम्म राख्न सकिरहेको छैन।
दुई साता यता अध्यक्ष ठाकुरले जिल्ला इन्चार्ज र जिल्ला अध्यक्ष मनपरी ढङ्गले नियुक्त गर्न थालेपछि धनुषासहित केही जिल्लाका स्थानीय नेताहरु काठमाडौँ पार्टी कार्यालयमा धर्ना बसेका छन्। ठाकुर निकट लोसपा नेता सुरेन्द्र झा भने पार्टीमा खासै विवाद नरहेको दाबी गर्छन्। “पार्टी सङ्गठनको काम बढेको हो, केही साथीहरूले असन्तुष्टि राखेकोलाई अध्यक्षले लोकतान्त्रिक पार्टीमा सामान्य कुराकै रुपमा लिनुभएको छ” झा भन्छन्, “असन्तुष्ट साथीहरूलाई पनि मिलाएर जिम्मेवारी दिने गृहकार्य चली रहेको छ।”
राजेन्द्र महतो निकट नेता सन्तोष मेहताले भने पार्टी भित्र असन्तुष्टि बढ्दै गएको बताए। उनले शीर्ष नेताहरूको बीचमा आपसी संवाद र सहकार्यको अभाव पार्टीमा देखिएको बताए। “जिल्लाहरूमा भएको नियुक्तले पार्टीका स्थानीय नेताहरूमा व्यापक असन्तुष्टि देखिएको छ” मेहताले भने, “यसले पार्टीलाई हित गर्दैन, शीर्ष नेताहरु समयमै चेत देखाउनु पर्छ।”
Facebook Comment
Comment