आलेख

स्लोभाकियाली प्रधानमन्त्री फिकोमाथि गोली प्रहार हुनुका राजनीतिक कारण

स्लोभाकियाली राजनीतिमा फिकोको उपस्थितिको गुरुत्वलाई अतिरञ्जित गर्न गाह्रो छ । उनी कम्युनिष्ट पार्टीका एक पूर्वसदस्य तथा स्मेर पार्टीका संस्थापक थिए । स्मेर पार्टी प्रारम्भमा वाम-केन्द्रवादी पार्टी थियो । उनी सन् २००६ यता ४ पटक प्रधानमन्त्री भइसकेका छन् ।

स्लोभाकियाली प्रधानमन्त्री फिकोमाथि गोली प्रहार हुनुका राजनीतिक कारण

‘फिकोलाई गोली हानियो’, बुधबार अपराह्न ३ बजेतिर मेरो एक च्याट ग्रूपमा ‘म्यासेज’ आयो । मैले समाचार जाँच गरेँ । मैले फेला पारेका सूचना मेरा मित्र र परिवारलाई ‘फरवार्ड’ गरेँ । सूचना एकदमै सीमित थिए ।

ह्यान्डलोभामा सरकारको बैठकपछि रोवर्ट फिकोलाई गोली हानियो; जस्ता शीर्षकले तथ्यलाई प्रष्ट गर्दैनथे । अमूर्त लाग्थे ।

हो, स्लोभाकियाका प्रधानमन्त्री रोवर्ट फिको एक विवादास्पद व्यक्तित्व हुन् । तर, यो प्रश्न अनुत्तरित छ कि के यो हप्ता उनीमाथि धेरैपटक गोली हानिएको थियो ? शल्यक्रियापछि उनी गम्भीर तथा स्थिर अवस्थामा अस्पतालमा भर्ना छन् ।

स्लोभाकियाली राजनीतिको ध्रुवीकरण निकै गहिरो छ । यसले घृणा सृजना गर्ने चर्को बयानबाजी र यहाँसम्म कि भौतिक हिंसाको लय टिपेको छ ।

पत्रकार र अभियन्ता, विशेषतः महिलाले अनलाईन धम्कीहरू सामना गर्नुपर्दछ । सन् २०१६ मा कामबाट घर फर्किँदै गर्दा ममाथि आक्रमण भयो । सन् २०२२ मा दुई पुरुषलाई एक समलैङ्गिक बार बाहिर आक्रमण गरेर मारियो, जो राजनीतिक उद्देश्यले अभिप्रेरित हुन सक्दछ ।

पछिल्लो पतन— दुई पूर्वमन्त्रीबीच एक प्रेस सम्मेलनमा भएको कुटाकुट थियो ।

यहाँ अधिकांशतः घृणास्पद बयानबाजी चल्छन् । इन्टरनेटमा यस्ता सामग्री कति छन् कति, ती सामान्यजस्तो भएका छन् । सांसद, पत्रकार र अभियन्ताले यस्ता गालजीगलौजलाई नागरिक जीवनमा सहभागी भएको मूल्यका रूपमा चुक्ता गर्न पर्दछ ।

हामी यसो भनेर आफूले आफैँलाई आश्वस्त पार्ने प्रयत्न गर्दछौँ कि ती जसले अनलाइनमार्फत धम्की दिन्छन्, धम्कीअनुसार गर्छन् भन्ने छैन । यसको अर्थ चर्को बयानबाजी र गालीगलौजले राजनीति र वातावरण बिगारेको छैन भन्ने हैन ।

जुजाना क्यापुटोभा, प्रगतिशील प्रस्थानबिन्दु भएकी राष्ट्रपति तथा वकिल हुन् । यो तथ्य सबैलाई थाहा छ कि उनी र उनको परिवारलाई ज्यान मार्ने धम्की दिइयो । त्यसपछि उनले फेरि चुनाव नलड्ने निर्णय लिइन् ।

अहिले प्रधानमन्त्रीलाई नै कसैले गोली हान्यो । फर्केर हेर्दा लाग्छ, घृणापूर्ण बयानबाजीले विस्तारै र अपरिहार्य रूपमा हिंसा निम्त्याउँदै छ ।

हामी अहिले यस्तो खतरनाक क्षणमा छौँ कि लाग्छ अर्को के घटना हुने हो भनेर पर्खिरहेका छौँ ।

यो आक्रमणपछि या त सरकारले कारबाहीलाई तीव्र बनाउने छ वा सबै चीज अझै खराब हुँदै जानेछ । या अब हाम्रो तातेको दिमाग सेलाउने छ र हामी यही रोकिने छौँ । हाम्रो भाँचिएको, टुटेफुटेको देशका टुक्रा उठाउने छौँ र फेरि एक साथ जोड्ने छौँ ।

स्लोभाकियाली राजनीतिमा फिकोको उपस्थितिको गुरुत्वलाई अतिरञ्जित गर्न गाह्रो छ । उनी कम्युनिष्ट पार्टीका एक पूर्वसदस्य तथा स्मेर पार्टीका संस्थापक थिए । स्मेर पार्टी प्रारम्भमा वाम-केन्द्रवादी पार्टी थियो । उनी सन् २००६ यता ४ पटक प्रधानमन्त्री भइसकेका छन् ।

मूलधार मिडियासँग उनको सम्बन्ध नराम्रो थियो । त्यहीँनेरबाट धेरै कुरा बिग्रन थालेको थियो । उनीमाथि बारम्बार भ्रष्टाचारको आरोप लाग्ने गरेको छ ।

सन् २०१६ मा ठूला-ठूला भ्रष्टाचार विरोधी प्रदर्शन भए । प्रदर्शनकारीले फिको र उनका सहायकले राजीनामा दिनु पर्दछ भन्ने माग गरेका थिए । ती प्रदर्शन आफ्नो उद्देश्यमा असफल रहे ।

सन् २०१८ मा पत्रकार जान कुसियाक र उनकी हुनेवाला श्रीमतीको हत्या भयो । उनीहरूलाई आफ्नै अपार्टमेन्टमा गोली हानी हत्या गरिएको थियो । पत्रकार कुसियाक एक राजनीतिक भ्रष्टाचारसम्बन्धी अनुसन्धानको बीचतिर थिए ।

यो घटनाले स्लोभाकियाली राजनीतिलाई साँच्चै विभाजित गर्‍यो । फेरि ठूला प्रदर्शन हुन थाले । प्रदर्शनकारीले नक्कली फासी र कोफिन बोकेर मिस्टर फिकाको बिदाइको माग गरे । यसपटक प्रर्दशन सफल रहे ।

त्यसपछि राजनीति प्रष्ट दुई भागमा विभाजित भयो । फिको समर्थक र फिको विरोधी ।

फिको समर्थकले अक्सर श्रमिक वर्ग र राष्ट्रवादी विचारप्रति रुझान राख्थे । फिको विरोधी भने उदारवादी, धनी र सभ्रान्त वर्गका सदस्य थिए ।

पछिल्लो बहिर्गमनपछि फिकोले फेरि सत्तामा फर्किने प्रयास गरे । उनले अब दक्षिणपन्थी विचार अँगाल्न थाले । यद्यपि उनको पार्टी अहिले पनि विचारले सामाजिक लोकतन्त्रवादी हो । तर, उनी पार्टीलाई हातमा खेलाउन सक्ने भएका छन् ।

पछिल्ला केही महिनामा राजनीतिक माहोल अनौठो गरी चर्कियो । सन् २०२३ मा फिको सत्तामा फर्किएदेखि नै उनको गठबन्धनले सार्वजनिक प्रसारण संस्थालाई प्रतिस्थापन गर्ने विवादास्पद डङ्का पिट्न थालेको थियो ।

थप विरोध प्रदर्शन र युरोपेली सङ्घको चेतावनीका बाबजुद उनले भ्रष्टाचार विरोधी निगरानी प्रणाली भत्काइदिएका थिए ।

अप्रिलमा राष्ट्रपतिको चुनाव भयो । राष्ट्रपति जुजाना क्यापुटोभा उम्मेदवार नै बनिनन् । फलतः फिकोका राजनीतिक सहयोगी पिटर पेलेग्रिनीले चुनाव जिते । त्यसपछि हामी सिधै जुनमा हुने युरोपेली सङ्घको चुनावको अभियानतिर प्रवेश गर्‍यौँ ।

यस्ता प्रत्येक चुनावपछि राजनीतिक विभाजन झन्‌झन् गहिरो हुँदै गएको देखियो । सवाल र नीतिमा कमभन्दा कम बहस भए तर ‘असल र खराब’ बीचको लडाइँका रूपमा प्रत्येक राजनीतिक सभा, जुलुस र अभियानलाई प्रयोग गरियो । यो काम दुवैतर्फबाट भयो ।

गत वर्ष फिकोका राजनीतिक विरोधीले यो भनेका थिए कि उनले देशलाई ‘माफिया राज’ मा लैजाने छन् । बदलामा फिकोले राष्ट्रपति क्यापुटोभालाई ‘अमेरिकाको कठपुतली र जर्ज सोरेसको समर्थक’ भनेका थिए । यस भनाइका लागि क्यापुटोभाले फिकोविरुद्ध मुद्दा नै हालिन् ।

हामी यो ठानिरहेका थियौँ कि राजनीति गर्ने तरिका नै यही त हो ।

फिकोमाथिको गोली प्रहारको केही घन्टापछि भिडिओ फुटेज सार्वजनिक भए । अनलाईन गतिविधि तीव्र भए । व्यापक प्रतिक्रियाहरू आए । सन्दिग्ध आक्रमणकारीबारे जे-जति जाँच परख भए, सबैले ठाने कि कारण राजनीतिक हो ।

एक सिद्धान्त नै प्रवाह भयो, उनी एक प्रगतिशील-उदारवादी हुनु पर्दछ । तर, उनको वास्तविक प्रेरणा अझै अस्पष्ट छ । गृहमन्त्रीले आक्रमणलाई ‘राजनीतिक रूपमा प्रेरित’ भनेका छन् । तर, सन्दिग्ध व्यक्ति कट्टरपन्थी समूहको नभएको बताएका छन् । उनको पहिचान अहिलेसम्म जुराज सीको नाममा मात्र भएको छ ।

यो गोलीकाण्डपछि पनि केही सांसदले आफ्नो धैर्यता गुमाए । उनीहरू पुरानै राजनीतिक तरिकाले एकअर्कालाई आरोप लगाउनतिर लागे । यसमा तपाईंहरू दोषी हुनुहुन्छ । स्मेर पार्टीका उपाध्यक्ष विपक्षी सांसदतर्फ फर्किएर चिच्याए ।

अर्का एक सांसदले घटनाका लागि पत्रकार जिम्मेवार भएको आरोप लगाए । उनले राजनीतिक युद्ध सुरु भएको घोषणा समेत गरे ।

तिनलाई धन्यवाद दिनु पर्दछ, जसले वातावरण थप बिगार्ने गरी इन्धन नछर्न सबैलाई आग्रह गरिरहेका छन् । भर्खरै राष्ट्रपतिको चुनाव जितेका पेलेग्रिनीले सबैलाई युरोपेली सङ्घको चुनावी अभियान स्थगन गर्न आग्रह गरेका छन् ।

हामीले अहिले यो बुझ्दैछौँ कि जब हामी ‘असल-खराबबीचको लडाइँको कुरा निरन्तर गर्दै हुन्छौँ, कसैले पनि कुनै बेला हाम्रै बोलीवचनलाई कुनै एक पक्षको रूपमा लिन सक्दछ ।

(युरोपेली मुलुक स्लोभाकियाको पछिल्लो अवस्था बुझ्न सहयोगी हुने ठानेर यो आलेख न्यूयोर्क टाइम्सबाट अनुदित गरिएको हो) 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved