एजेन्सी । अमेरिका र फ्रान्समा कोभिड संक्रमण फैलिएयताकै धेरै संक्रमित भेटिएका छन्। कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन फैलिएसँगै अमेरिका र फ्रान्समा कोभिड संक्रमण उच्चदरमा फैलिएको हो।
अमेरिकाको रोग तथा नियन्त्रण विभाग (सीडीएस) ले सोमबार मात्रै ४ लाख ४० हजार व्यक्तिलाई ओमिक्रोन संक्रमण भएको पुष्टि गरेको छ। यद्यपि विभागले क्रिसमसका कारण रिपोर्ट आउन ढिलो भएका कारण सार्वजनिक तथ्यांकमा केही फेरबदल हुनसक्ने जनाएको छ।
यस्तै फ्रान्समा हालसम्मकै धेरै कोभिड संक्रमण पुष्टि भएको छ। फ्रान्ससँगै यो तथ्यांक युरोपकै हालसम्मको धेरै हो।
फ्रान्समा मंगलबार मात्रै १ लाख ७९ हजार ८ सय सात कोभिड संक्रमण पुष्टि भएको छ। केही समयअघि मात्रै फ्रान्समा स्वास्थ्यमन्त्री अलिवियर वेरानले जनवरी महीनाको शुरुवातदेखि नै देशमा दैनिक २५ हजार व्यक्तिमा कोभिड संक्रमण भेटिन सक्ने चेतावनी दिएका थिए।
युरोपका इटाली, ग्रिस, पोर्चुगल सहित बेलायतमा पनि मंगलबार कोभिड संक्रमणमा तीव्रवृद्धि भएको समाचारमा जनाइएको छ। विश्व स्वास्थ्य संगठनले समेत यसअघिका कोभिड भेरियन्टको तुलनामा ओमिक्रोन तीव्र हिसाबमा फैलिने बताउँदै सचेतना अपनाउन आग्रह गरिसकेको छ।
यता भारतमा पनि कोरोना संक्रमण दर उकालो लाग्न थालेको छ। गत मेयताकै सबैभन्दा बढी संक्रमित अघिल्लो दुई दिनमा फेला परेका भारतीय सञ्चारमाध्यमले जनाएका छन्। यद्यपि नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण भने सुस्त देखिएको छ।
Facebook Comment
Comment