काठमाडौं । सडकमा भएको खाल्डोका कारण गाडी उफ्रिदा खसेर एक प्रहरीको ज्यान गएको हो । प्रहरी प्रभाग बलम्बुमा कार्यरत प्रहरी सहायक हवलदार हेमराज एल.जीको भ्यानबाट खसेर ज्यान गएको हो ।
सिप्रदीस्थित कलंकी–थानकोट मुख्य सडक खण्डमा भ्यानको पछाडिबाट अकस्मात् सडकमा खस्दा घाइते भएका उनको अस्पतालमा पुगेपछि निधन भएको हो ।
घटना गएरातिको हो । उनी प्रहरीको रातीको सुरक्षा योजना अनुसारको चेकिङ ड्युटी सकेर मोबाइल ड्युटी खटिएका थिए ।
बलम्वु प्रहरी कार्यालयको बा १ झ ७४१८ नम्बरको प्रहरी भ्यानमा ड्युटीको क्रममा नैकाप तर्फबाट प्रहरी कार्यालय बलम्बुतर्फ आउने क्रममा ११ः१५ बजेको समयमा सिप्रदीस्थित कलंकी– थानकोट मुख्य सडक खण्डमा उक्त भ्यानको पछाडिबाट सडकमा खसेका थिए ।
मृतक एलजीको शव पोष्टमास्टमको लागी टिचिङ शिक्षण अस्पताल महाराजगन्ज पठाइएको प्रहरीले जनाएको छ । गाडीका चालक सहायक हवलदार रामप्रसाद यादवलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।
सवारीसाधन र सडकको कारण दुर्घटना
प्रहरी स्रोतका अनुसार सवारी साधन र सडकको दुरावस्था कारण उक्त दुर्घटना भएको हो । २० वर्ष पुरानो भ्यानको मेकानिकल अवस्था निकै नाजुक छ ।
एक प्रहरी कर्मचारीले भने, ‘‘गाडीमा सधैँ धकेलेर स्टार्ट गर्छ । पानी परेको बेलामा चुहिन्छ । अगाडि सीटमा बस्न मिल्दैन । नअटाउने समस्या थियो ।’’ उक्त भ्यान दुर्घटना पश्चात् बिग्रिएको छ । एपीएफ अस्पतालको पार्किङका छोडिएको छ । घाइते अवस्थाका हवलदारलाई अस्पताल लगेपछि त्यही छाडिएको छ ।
स्रोतका अनुसार केही समयदेखि बलम्वु प्रहरी प्रभागका प्रमुख प्रहरी निरीक्षक सुरेन्द्र श्रेष्ठ र सवारी चालकबीच विवाद बढेको थियो ।
कतिपयले भने प्रहरी निरीक्षक श्रेष्ठको कमान्ड सीप कमजोर रहेको आरोप लगाउँदै आएका छन् ।
Facebook Comment
Comment