भद्रगोल विमानस्थल: सुरक्षा जाँचमा विवाद हुँदा प्रहरीबाटै कुटिन्छन् हाकिम

विमानस्थल यति भद्रगोल छ कि, चाल्स शोभराजको २ दशकअघिको दाबी आज पनि सम्भव जस्तै छ । सुन तस्करी र मानव तस्करी दिनदिनै जसो भइरहेको विमानस्थलमा व्यवस्थापन उत्तिकै फितलो छ । त्रिभुवन विमानस्थल अध्यागमन कार्यालय र विमानस्थल सुरक्षा प्रहरीबीच मनमुटाव छ ।

नेपालभ्युज

भद्रगोल विमानस्थल: सुरक्षा जाँचमा विवाद हुँदा प्रहरीबाटै कुटिन्छन् हाकिम

काठमाडौं । कुख्यात अपराधी चार्ल्स शोभराजले कुनैबेला ‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हात्ती पनि छिराइदिन्छु’ भनेका थिए । जुन, नेपालको सुरक्षा संयन्त्र र सिष्टममाथी ठाडो चुनौती थियो ।

२० वर्षअघि नेपाल आएका उनले प्रहरीमा त्यो बयान दिएका थिए । १९ वर्ष नेपालको कारागारमा बसेका उनी अघिल्लो वर्ष नेपालबाट निकाला भइसकेका छन् । तर, विमानस्थल यति भद्रगोल छ कि, चार्ल्स शोभराजको २ दशकअघिको दाबी आज पनि सम्भव जस्तै छ । सुन तस्करी र मानव तस्करी दिनदिनै जसो भइरहेको विमानस्थलमा व्यवस्थापन उत्तिकै फितलो छ ।

त्रिभुवन विमानस्थल अध्यागमन कार्यालय र विमानस्थल सुरक्षा प्रहरीबीच मनमुटाव छ । विमानस्थलको सुरक्षामा नेपाल र सशस्त्र प्रहरीबीच कार्यक्षेत्र विवाद छ । विमास्थलका कर्मचारी र भन्सारका कर्मचारीबीच असहमति छ ।

भिजिट भिसामा हुने मानवतस्करीमा विमानस्थलस्थित अध्यागमन कार्यालयको संस्थागत संलग्नता देखिएको घटना सार्वजनिक भइरहेका छन् । केही दिनअघि पक्राउ परेका एक अध्यागमन अधिकृत र एजेन्टहरू माथिको अनुसन्धानले दैनिक करिब एक करोड रुपैयाँ घुस लेनदेन हुने गरेको उजागर गरेको छ ।

यसरी एकअर्काे संगठनबीच बेमेल रहेको विमानस्थलमा शुक्रबार फेरि अर्को घटना भयो, ‘प्रहरीबाटै विमानस्थल अध्यागमनका हाकिम कुटिए ।’

प्रहरीबाट आफ्ना एक अधिकृतमाथि सांघातीक आक्रमण भएको अध्यागमनले जनाएको छ । डिपार्चरबाट अराइभलतर्फ आउनेक्रममा भएको चेकिङमा अध्यागमन कर्मचारी र प्रहरीबीच विवाद उत्पन्न भएको थियो ।

विमानस्थल अध्यागमन स्रोतले भन्यो, ‘‘प्रहरीले कहिले छामछुम मात्र गरेर पास गर्छ त कहिल्यै चेक गर्दै गर्दैन । आज मेटल पास भइसकेपछि छायाँलाल मोक्तान सरलाई छामछुम गरेपछि सामान्य विवाद भयो । नजिकै रहेका ५ जनाको प्रहरीको हुल आएर उहाँलाई समातेर एउटा कुनामा लगेर कुटे ।’’

घटनापछि अध्यागमनका कर्मचारीले प्रमुख गोगनबहादुर हमाललाई त्यहाँ बोलाए । तर, हमाललाई समेत प्रहरीले कुटेको अध्यागमनका कर्मचारीले आरोप लगाएका छन् ।

कुटाई खाने कर्मचारी र प्रहरीसहितको टोलीले सीसीटीभी फुटेज हेरेर घटनाबारे छानबिन अघि बढाइसकेको छ।

अध्यागमन स्रोतले भन्यो, ‘‘सिसिटिभी फुटेज हेर्दा मोक्तान सरलाई निर्घात कुटपिट भएको देखियो । हमाल सरले यो त प्रहरीको दादागिरी भयो नि भन्दा उहाँलाई पनि हातपात भयो ।’’

कुटाई खाने अध्यागमनका कर्मचारी मोक्तानको शरीरमा निलडाम भएको छ । उनको अहिले उपचार भइरहेको छ । अध्यागमन कार्यालय प्रमुख हमालको हातमा चोट छ ।

घटनाबारे त्रिभुवन विमानस्थल प्रहरी कार्यालय प्रमुख अर्जुन चन्दले चेकिङका क्रममा सामान्य विवाद भएको बताए । उनले भने, ‘‘सुरुमा अध्यागमन अधिकृतले लात्ती हानेपछि प्रहरीले प्रतितकार गरेको रहेछ । घटनाबारे छानबिन भइरहेको छ ।’’

नेपाल र सशस्त्र प्रहरीबीच कार्यक्षेत्र विवाद

विमानस्थलमा नेपाल र सशस्त्र प्रहरीबीच कार्यक्षेत्र विवादको लफडा चलिरहेको छ । नेपाल प्रहरीले यात्रु तथा सामान जाँचको जिम्मेवारी दिनुपर्ने माग गरिरहेको थियो तर सरकारले सशस्त्र प्रहरीलाई त्यो जिम्मेवारी दिएपछि नेपाल प्रहरी असन्तुष्ट बनेको हो ।

देशभरका भन्सार कार्यालयको सुरक्षा सशस्त्र प्रहरीले गरिरहेको छ । अन्तर्राष्ट्रिय सीमा सुरक्षाको जिम्मेवारी पनि सशस्त्र प्रहरीलाई छ । तर, स्थापना कालदेखिकै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयमा भने सशस्त्र प्रहरी खटिन सकेको थिएन ।

नेपाल प्रहरीले विमानस्थलको सुरक्षा कमान्ड सम्हाल्दै आएको छ । सशस्त्र प्रहरी सादा पोसाकमा बाहेक त्यहाँ प्रत्यक्ष रूपमा खटिन सकेको थिएन । दुई साताअघिबाट सशस्त्र प्रहरीले विमानस्थल भन्सार सुरक्षाको कमान्ड सम्हालेको छ । अहिले यात्रु आगमन कक्षको सुरक्षा जाँचमा सशस्त्र प्रहरी परिचालन गरिएको छ ।

निजी कम्पनीका सुरक्षाकर्मी भाडामा लिएर विमानस्थल सुरक्षा जाँच हुँदै आएकोमा विमानस्थल भन्सार कार्यालयले सशस्त्र प्रहरीलाई यात्रु आगमन कक्षको सुरक्षा जाँचका लागि खटाएको थियो ।

निजी सुरक्षाकर्मीहरूले जाँच गर्दै आएको क्षेत्रमा नेपाल प्रहरीले भूमिका खोजेको तर अहिले सशस्त्र प्रहरीले त्यही भूमिका पाएपछि असन्तुष्ट भएको हो ।

सशस्त्र प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयकै कमान्डमा हुने गरी अन्तर्राष्ट्रिय टर्मिनल आगमन कक्षमा ३० सशस्त्र प्रहरी परिचालन गरिएको जनाएको छ ।

सुरक्षा जाँच थप प्रभावकारी बनाउन भन्सार प्रमुखकै कमान्ड हुने गरी सशस्त्र प्रहरी परिचालन गरिएको भए पछि यसअघि भूमिका खोज्दै आएको नेपाल प्रहरीले असन्तुष्टि जनाएको हो ।

गृह मन्त्रालयका प्रवक्ता सहसचिव नारायण भट्टराई भने, ‘दुवै निकायले समन्वयमै कार्य गर्ने दाबी गर्छन् । उनको दाबी छ, ‘‘विवाद भन्ने हुँदैन, समन्वयमै काम हुन्छ, सुरक्षा अवस्था झन् चुस्त दुरुस्त हुन्छ ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved