काठमाडौं । जिल्ला अदालत काठमाडौंमा क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा आज पनि सुुनुवाइ हुनेछ । अन्तिम सुनुवाइ सुरु भए पनि बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको मुद्दामा आज पनि सुनुवाइ हुन लागेको हो ।
न्यायाधीश शिशिरराज ढकालको इजलासमा आइतबारदेखि निरन्तर सुनुवाइ सुरु गरिएको र बहस नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा आजका लागि राखिएको हो । यसअघि सोमबार र मंगलबार सार्वजनिक विदा भएकाले मुद्दाको सुनुवाइ आज हुन लागेको हो ।
नाबालिग बलात्कारको कसुरमा काठमाडौँ जिल्ला अदालतमा २०७९ कात्तिक १४ गते क्रिकेटर लामिछानेविरुद्ध मुद्दा दायर भएको थियो ।
वारदात भएको भनिएको मिति २०७९ भदौ ५ गते पीडित भनिएकी किशोरीको उमेर १८ वर्षभन्दा कम रहेको भन्दै गौशाला २६ को जाहेरीले नेपाल सरकार वादी भई मुद्दा दायर भएको थियो ।
अभियोजनमा पीडित किशोरीको जन्ममिति २०६२ जेठ १८ रहेको र वारदताको समयमा १७ वर्ष ३ महिना रहेको दावी गरिएको छ ।
तर प्रतिवादी तर्फका कानुन व्यवसायीले भने पीडित भनिएकी किशोरीको उमेर १८ वर्ष २ महिना रहेको र उनको जन्ममिति २०६१ असार १८ गते रहेको कागजात पेश गर्दै सफाई पाउनुपर्ने दलील पेश गरेका छन् ।
यो मुद्दा अहिलेसम्म ३३ पटक पेशी चढिसकेको छ । लामिछाने विरुद्धको मुद्दाको सुनुवाइ लगातार राखेर आज या भोलि नै अन्तिम फैसला आउन सक्ने कानुन व्यवसायी सरोजकृष्ण घिमिरेले बताए ।
Facebook Comment
Comment