काठमाडौं। इजरायलले गाजामा स्थलगत आक्रमण सुरु गरेपश्चात सयभन्दा बढी इजरायली सैनिकको मृत्यु भएको छ।
गाजाको दक्षिणी क्षेत्रमा सोमबार बिहान भएको भिडन्तमा तीन जनाको मृत्यु हुँदा अन्य एक मानिस भने सेना सम्बन्धित ट्राफिक दुर्घटनामा मृत्यु भएको इजरायल सुरक्षा बल आईडिएफले जनाएको हो।
अक्टोबर ७ मा प्यालेस्टिनी अतिवादी समूह हमासले आक्रमण सुरु गरेपश्चात मारिएका ४३० सैनिक सम्पूर्णको नाम आईडिएफले सार्वजनिक गरेको छ। जसमध्ये १०१ मानिसको मृत्यु इजरायलले २७ अक्टोबरमा गाजामा स्थलगत आक्रमण सुरु गरेपश्चात भएको आईडिएफले जनाएको छ।
यता, हमासले आफ्नो माग पूरा नभएसम्म बन्धकहरुलाई जिउँदो रिहा नगर्ने चेतावनी दिएको छ।
आदानप्रदान, वार्ता र प्रतिरोधका शर्तहरुमा सहमति नजनाएसम्म कुनै बन्धकलाई जिउँदो नछाड्ने हमासका प्रवक्ता अबु ओबेदाले टेलिग्राममा बताए। हमास तथा अन्य सशस्त्र समूहरुको नियन्त्रणमा थप १३८ मानिस भएकाले अधिकारीहरुमाथि दबाब सृजना भएको छ।
इजरायल र हमासबीच भएको एक हप्ताको युद्धविराममा करिब ११० बन्धकलाई स्वतन्त्र गरिएको थियो। इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले दर्जनौँ हमासका लडाकुहरुले हतियार बिसाएर आत्मसमर्पण गरेको बताए।
Facebook Comment
Comment