फेरि घट्यो सेयर बजार, लगानीकर्ता अन्योलमा

नेपालभ्युज

काठमाडौँ। साताको तेस्रो दिन सेयर बजार फेरि घटेको छ। मंगलबार ४४.१८ अंकले घटेर नेप्से परिसूचक दुई हजार ९३६.६० बिन्दुमा झरेको छ।

आइतबार नेप्से सूचक इतिहासकै भारी अंक १४७.०३ ले घटेर ४० मिनेट कारोबार रोक्का भएकोमा सोमबार हालसम्मकै उच्च १६१.९४ अंक बढेर २ हजार ९८०.७८ पुगेको थियो।

सोमबारको तुलनामा २ करोड ३३ लाखले कारोबार घटेर मंगलबार बजार ७ अर्ब ४९ करोड ५८ लाख १२ हजार रुपैयाँमा खुम्चिएको छ। आज १ करोड ५० लाख ८२ हजार ८० कित्ता सेयर कारोबार भएको छ।

मंगलबार सबैभन्दा बढी सानिमा लाइफ इन्सोरेन्सको १० प्रतिशतले सेयर मूल्य बढेकोमा आरएमडीसी लघुवित्तको ७.७३ र रूरू जलविद्युत् आयोजनाको ७.१ प्रतिशतले सेयरमूल्य घटेको छ।

सोमबार इतिहासकै भारी अंकले बजार बढेपछि उत्साहित देखिएका लगानीकर्तामा मंगलबारको बजारले अन्योलता थपेको छ। बजारमा उच्च उतारचढाव देखिएपछि लगानीकर्ता ‘पर्ख र हेर’को अवस्थामा छन्।

नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीतिमार्फत १२ करोडसम्मको मात्रै मार्जिन कर्जाको व्यवस्था गरेपछि लगानीकर्ता असन्तुष्ट देखिएका छन्।

आइतबार लगानीकर्ताहरूले १२ बुँदे मागसहित राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको राजीनामा मागेको थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved