मुग्लिन । चितवनको इच्छाकामना गाउँपालिका–६ स्थित जलविरेमा श्रीमद्भागवत तथा धार्मिक महोत्सव सुरु भएको छ । पितृमोक्ष र जलदेवी मन्दिरको संरक्षण तथा धार्मिक पर्यटकीय आकर्षणका लागि भौतिक संरचना निर्माण गर्न धार्मिक महोत्सव आयोजना गरिएको हो ।
धेरै दुर्घटना हुने गरेको यस स्थानमा पितृमोक्ष र मन्दिरको संरक्षण तथा धार्मिक पर्यटक आकर्षित गर्न भौतिक संरचना निर्माणका लागि आर्थिक सहयोग जुटाउन श्रीमद्भागवत तथा धार्मिक महोत्सवको आयोजना गरिएको जलदेवी मन्दिर संरक्षण समितिका अध्यक्ष जीवन गुरुङले बताए ।
महोत्सवको उद्घाटन गर्दै इच्छाकामना गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले मन्दिरको भौतिक संरचना निर्माण तथा चौतर्फी विकासका लागि गाउँपालिकाले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । साथै उनले यस पुण्यकाममा सबै लागि पर्नुपर्ने बताउँदै धार्मिक महोत्सवले आर्थिक सहयोग मात्र नभएर धार्मिक तथा यहाँ रहेका पर्यटकीयस्थलको प्रचारप्रसारमा समेत सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
महोत्सवमा धार्मिक अभियानकर्मी पण्डित वासुदेव घिमिरेको मुखराविन्दबाट कथावाचन हुनेछ । महोत्सवमा कथावाचनका साथै तुलादान, ब्रतबन्ध, पितृमोक्ष, चौरासी पूजाजस्ता विविध धार्मिक कार्य हुने पण्डित घिमिरेले बताए ।
नारायणगढ–मुग्लिन सडकखण्डको मुख्य राजमार्गमै पर्ने उक्त मन्दिर स्थल अत्यधिक दुर्घटना भएर यात्रुको अकाल ज्यान जान थालेपछि भरतपुर निवासी डा हेमवीर श्रेष्ठले विसं २०४० तिर जलदेवी माता रहेको स्थानमा मन्दिर निर्माण गरिदिएका हुन् । सोही मन्दिरको चौतर्फी विकासका लागि हाल मन्दिर संरक्षण समितिले विस्तृत परियोजना प्रतिवेदन निर्माण गरी धार्मिक महोत्सव आयोजना गरिएको हो । आजदेखि सुरु भएको धार्मिक महोत्सव कात्तिक २३ गतेसम्म सञ्चालन हुनेछ । रासस
Facebook Comment
Comment