पोखरास्थित फिर्केखोलाका संरचना हटाउन ३५ दिने सूचना

नेपालभ्युज

पोखरास्थित फिर्केखोलाका संरचना हटाउन ३५ दिने सूचना

कास्की। पोखरा महानगरपालिकाले बजार क्षेत्रबाट बग्ने फिर्केखोलाको खोलाघरभित्र बनेका सबै प्रकारका संरचना हटाउने भएको छ ।

पोखरा–१८ को अधेरीकुनादेखि सुरु भएर फेवातालमा मिसिने फिर्केखोलामा मापदण्डविपरीत निर्माण गरिएका संरचना हटाउन महानगरले ३५ दिने सार्वजनिक सूचना जारी गरेको छ।

यसअघि महानगरबाट खटिएको प्राविधिक टोलीले स्थलगत नापजाँच गरी पोल गाडिएको भन्दाभित्र पर्ने स्थायी तथा अस्थायी संरचना हटाइने महानगरले जनाएको छ ।

गत साउन पहिलो साता महानगरले फिर्केखोलाको प्राकृतिक बहाव पत्ता लगाउने प्रयोजनका लागि एक प्राविधिक समिति बनाएर सीमाङ्कन सुरु गरेको थियो । सो प्राविधिक समितिले एक महिना लगाएर खोलाको नाप जाँच गरेको थियो ।

प्राविधिक समितिको प्रतिवेदनअनुसार फिर्केखोलाघरमाथि स्थायीदेखि अस्थायी प्रकृतिका एक सय ६० संरचना निर्माण गरेको पाइएको छ । फिर्केखोला अतिक्रमण गरी खोलामाथि सामाजिक संघसंस्था, विद्यालय तथा व्यक्तिगत घर तथा संरचना बनाएको पाइएको सो प्रतिवेदनमा उल्लेख छ ।

फिर्केखोला नै मिचेर ९७ वटा अस्थायी संरचना र ३५ स्थायी संरचना निर्माण गरेको पाइएको छ । खोलामाथि १० अस्थायी र १८ वटा स्थायी प्रकृतिका संस्थागत संरचना निर्माण गरिएको प्रतिवेदनमा उल्लेख छ ।

महानगरले अतिक्रमित संरचना नहटाएमा महानगरपालिका आफैँले हटाउने र सो क्रममा लाग्ने लागतसमेत सम्बन्धित व्यक्ति वा संस्थाले सरकारी बाँकीसरह भुक्तानी गर्नुपर्ने जनाएको छ ।

साविक ग्यार जाति पछि सराङकोट गाविस हुँदै हाल पोखरा महानगरपालिकाको वडा नम्बर २, ४, ५, ६, ७, ८, १७ र १८ भएर फेवातालमा मिसिने फिर्केखोलाको लम्बाइ आठ किलोमिटर छ ।

यो खोला कम्तीमा ३।३० मिटरदेखि बढीमा ४० मिटरसम्म फराकिलो रहेको नापजाँचका क्रममा पाइएको छ । खोलाको उचाइ चारदेखि नौ मिटरसम्म गहिरो रहेको पाइएको हो ।

फिर्केखोलाको प्राविधिक नाप जाँचपछि यकिन गरिएको खोलाघरको पश्चिमतर्फ तीन सय तीन र पूर्वतर्फ दुई सय ८५ गरी पाँच सय ८८ सीमास्तम्भ गाडिएका छन् । प्रतिवेदनअनुसार फिर्केखोलामाथि २५ वटा पुल तथा कल्भर्ट रहेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved