किन अपशब्द बोल्छन् मान्छे ? यस्ता छन् ५ मुख्य कारण

अपशब्दले मान्छेको अहम्‌मा ठेस पुर्‍याउँछ । मानसिक आघात हुने सम्भावना बढ्छ । प्रतिशोधको भावना बढाउँछ । आफ्ना कुरा प्रभावकारी ढङ्गले राख्न र मान्छेको ध्यान खिच्न अपशब्द बोल्न जरुरी हुँदैन ।

नेपालभ्युज

किन अपशब्द बोल्छन् मान्छे ? यस्ता छन् ५ मुख्य कारण

काठमाडौं । सार्वजनिकरूपमा अपशब्द बोल्नु वा कसैलाई अश्लील शब्द प्रयोग गरेर गालीगलौज गर्नु कुनै सभ्य तथा सुसंस्कृत व्यवहार हैन । सामाजिक मर्यादा र मानवीय सभ्यताका दृष्टिकोणले मान्छेलाई यस्तो बोल्न लाज लाग्नु वा असजिलो अनुभूति हुनु पर्ने हो ।

तर, लाग्छ हिजोआज अपशब्द बोल्नेको संख्या झन्‌‌झन् बढिरहेको छ । हिजो मानिस व्यक्तिगत मित्रसँग अनौपचारिकरूपमा मात्र त्यस्ता शब्द बोल्थे । त्यसरी बोलेका कुरा अभिलेखित हुँदैनथे । केही सीमित मान्छेले मात्र सुन्थे । असहज लाग्ने लजाउँथे । कसै-कसैले ‘फेरिफेरि त्यस्तो नबोल्न भन्दै’ आपत्ति जनाउँथे ।

मन र उमेर मिल्ने दौंतरीबीच भने अश्लील वा अपशब्द बोल्नु सामान्य मानिन्थ्यो । जहाँ बोलिन्थ्यो, त्यही सकिन्थ्यो । तर, हिजोआज भने त्यसरी बोलिएका त्यस्ता शब्द अभिलेखित हुने सम्भावना बढी रहन्छ । कसैले फोनटेप गर्दिन सक्दछ । थाहै नपाईकन कसैले भिडियो खिचिदिएको हुन सक्दछ । सामाजिक सञ्जालमा व्यक्त हुने अपशब्द तथा अश्लील शब्द प्राय: सबैले देख्दछन् ।

अपशब्द बोल्नु तथा कसैलाई सार्वजनिक गाली बेइज्जती गर्नु कानूनतः पनि बर्जित काम हो । त्यसबापत् सार्वजनिक गाली बेइज्जती तथा मानहानिको मुद्दा लाग्न र अदालतद्वारा दण्डित हुन सक्दछ । यति कुरा थाहा हुँदाहुँदै पनि मान्छे अपशब्द बोलिरहेका हुन्छन् । कतिपयले त जानीबुझीकन निहित उद्देश्य वा प्रायोजित तवरले नै अपशब्द बोल्छन् । सामाजिक सञ्जालमा आफैँ अपशब्द लेखिरहेका हुन्छन् ।

अध्ययनले के देखाउँछ भने अपशब्द बोल्नु एक प्रकारको मनोवैज्ञानिक अवस्था हो । निम्न कारणले गर्दा अक्सर मानिसले अपशब्द बोल्दछन् ।

१.सांस्कृतिक पृष्ठभूमि

कतिपय व्यक्ति त्यस्तो पारिवारिक, सामाजिक, सामुदायिक तथा सांस्कृतिक पृष्ठभूमिबाट आएका हुन्छन, जहाँ अपशब्द बोल्नु सामान्य मानिन्छ । उनीहरू जन्मे हुर्केको समाज र वातावरण नै त्यस्तै हुन्छ । त्यस्तो समाजमा अपशब्द बोल्नुलाई कुनै ठूलो कुरा मानिँदैन । त्यो प्रकारको बानी बन्दछ र मान्छे सहजै अपशब्द बोल्ने गर्दछन् ।

यसो हुनुमा भाषिक समुदायको भिन्नताले पनि कम गरेको हुन्छ । कतिपय समुदायिक भाषामा सामान्य लाग्ने शब्द मूलधार भाषामा गाली वा अपशब्दको अर्थ दिने हुन्छन् । यस कारणबाट अपशब्द बोल्ने मान्छेको नियत नराम्रो हुँदैन । बोल्नेले सबैलाई आफ्नै समाज वा समुदायजस्तो ठानिरहेको हुन्छ । संस्कारको शिकार भइरहेको हुन्छ ।

२. व्यक्तित्व चिन्ताको अभाव

कतिपय व्यक्तिको सोच नै यस्तो हुन्छ कि तिनले सामाजिक मर्यादालाई खासै महत्त्व दिन चाहँदैनन् । यस्ता मानिसले सबै कुरा बुझेका हुन्छन् तर, उनीहरूको जीवन दृष्टि नै फरक हुन्छ । एक प्रकारको अराजकतावादी दार्शनिक रुझान हुन्छ यिनीहरूको सोचमा । मान्छेको जिन्दगी यस्तै त हो, दुई दिनको, कुनै दिन मरेर जानु छ, कतिको मानभाउ पुर्‍याउनु हो, यस्तै रफ जिन्दगी बाँच्ने हो, मार्ने हो भन्ने सोच हुन्छ । यस प्रकारका मान्छेमा नैतिक मूल्यप्रणाली विश्वास नै कमजोर हुन्छ ।

खासमा यो सोच उपयुक्त हैन । किनकि सृष्टिमा जन्मेका सबै मान्छेको कुनै न कुनै प्रयोजन वा उपयोगिता हुन्छ । प्रयोजनको क्षेत्र, मात्रा वा स्तर फरक हुन्छ । तर, प्रयोजन अवश्य हुन्छ । मर्यादाहीनताले मान्छेको व्यक्तित्वलाई नराम्रो असर पार्दछ । कसैका बारेमा एकदुईपटक कुनै कारणले गलत छवि बन्यो भने त्यसको असर लामो समयसम्म रहने सम्भावना हुन्छ ।

हरेक मान्छे समाजको एक आर्दश पनि हो । सबैले मर्यादाहीन व्यवहार गर्ने हो भने समाज अराजक हुँदै जाने सम्भावना बढ्छ । अराजक र आदर्शहीन समाज भ्रष्टता, क्रूरता, प्रतिशोध र ध्वंसात्मकतातिर अघि बढ्ने जोखिम हुन्छ । त्यसैले मान्छेले आफ्नो व्यक्तित्वको चिन्ता गर्नैपर्छ । के थाहा कतिखेर कसको व्यक्तित्व समाज र राष्ट्रका लागि उदाहरणीय र नेतृत्वदायी बन्ने हो ।

३. व्यक्तिगत रिस र राजनीतिक पूर्वाग्रह

रिस र पूर्वाग्रह मान्छेका शत्रु हुन् । उखान नै छ— रिस खा आफू, बुद्धि खा अरु । अर्थात् रिसले अन्ततः आफैँलाई हानी पुर्‍याउँछ  भने बुद्धिमत्ता र धीरताले अरुलाई आफू अनुकुल बनाउँछ । यति कुरा धेरैले बुझेकै हुन्छन् । तर, रिस उठेको बेला कमैले आफूलाई नियन्त्रण गर्न सक्दछन् । रिसाएको मानिसले वेद पढ्दैन भन्ने उखान त्यसैले बनेको होला ।

राजनीतिक पूर्वाग्रह अपशब्द वा अश्लील बोल्न प्रेरित गर्ने अर्को कारण हो । राजनीतिमा विरोध, समर्थन, आलोचना वा समीक्षा त हुनैपर्छ । लोकतान्त्रिक पद्धति र समाजमा त्यो झनै जरुरी हुन्छ । तर्क-बितर्कले नै समाजालाई गतिशील बनाउने हो । सत्य बुझ्ने आम अवसर सृजना हुने हो ।

तर, राजनीतिक पूर्वाग्रहका कारण अश्लील वा अपशब्द बोल्नुचाहिँ खराब कुरा नै हो ।

४.अटेन्सन सिकिङ र भाइरल हुने रहर

पछिल्लो समय छिट्टो चर्चित हुने वा भाइरल हुने रहरले पनि मान्छेले अश्लील वा अपशब्द बोलेको सुनिन्छ । अश्लील सिनेमा र साहित्यको बजार पनि ठूलै थियो कुनै बेला । अहिले त्यसले स्वरूप परिवर्तन गरेको छ । खैर, यसतर्फ कुनै लेखमा चर्चा गरौँला । यस्तै स्मार्टफोन र इन्टरनेट प्रविधिको युगमा यो झनै बढेको छ ।

चर्चित हुने रहर स्वाभाविक र मानवीय हो । तर, कस्ता कर्म र योगदानद्वारा चिनिने वा लोकप्रिय हुने भन्ने प्रश्न सर्बथा महत्त्वपूर्ण हुन्छ । आमध्यानाकर्षणका लागि अपशब्द बोल्नु पटक्कै उचित हैन । अश्लील बोलेर भाइरल हुनुका फाइदा मात्र हैन, चुनौती, हानी-नोक्सानी पनि उत्तिकै हुन्छन् । यसले मानिसको मूल्य घटाउन र सस्तो बनाउन सक्दछ । गम्भीर प्रकृतिका कामका लागि मानिसले विश्वास नगर्न सक्दछन् । अनावश्यक विवाद, झन्झट र साइबर क्राइममा फस्ने स्थिति आउन सक्दछ ।

५.शारीरिक तथा मानसिक स्वास्थ्य

कसैको मानसिक स्वास्थ्य नै ठीक छैन भने उसले अपशब्द बोल्नु कुनै ठूलो कुरा भएन । अकारण र बारम्बार कसैले अपशब्द बोल्छ भने उसको मानसिक स्वास्थ्यमा शंका गर्न सकिन्छ । यसको अर्थ अपशब्द बोल्ने सबै मानिस ‘मानसिक रोगी’ नै हुन्छन् भन्ने हैन । एक प्रकारको मनोवैज्ञानिक दबाब तथा मानसिक विचलनको अवस्थामा भने अवश्य हुन्छन् ।

कतिपय अवस्थामा भने अश्लील वा अपशब्द बोल्नुले फाइदा पनि गर्दछ । मानिस ठूलो मनोवैज्ञानिक दबाबको बीचमा छ भने अश्लील बोल्दा मनका बिकार बाहिरिन्छन् । त्यसको केही बेरपछि मान्छे शान्त र मर्यादित हुन सक्दछ । यस्तो अवस्थामा भने अश्लील वा अपशब्द बोल्नु एकप्रकारको मनोवैज्ञानिक उपचार हो ।

शारीरिक स्वास्थ्य स्थितिले पनि मान्छेलाई अपशब्द बोल्न प्रेरित गर्दछ । विशेषतः कुनै दीर्घरोगको शिकार भएका मानिसले जीवनप्रतिको आशा गुमाइसकेका हुन्छन् । त्यस्ता मान्छेलाई आफ्नै जीवन र सम्बन्धहरूसँग झर्को लागिरहेको हुन्छ । तसर्थ; आफ्नो असक्षमता, रोगसँगको लडाइँबाट सृजित तनाव र उन्मुक्तिको चाहनाले अपशब्द बोल्दछ ।

प्रेसर र सुगरका रोगीलाई धीरता कायम गर्न गाह्रो हुन्छ । यस्ता रोगीले पनि अपशब्द धेरै बोल्ने सम्भावना हुन्छ ।

कसैले कारणबस् वा कुनै खास अवस्थामा अपशब्द वा अश्लील बोल्यो भन्दैमा त्यसलाई धेरै ठूलो घटना बनाउन उचित हुँदैन । तर, औपचारिक सभा तथा सञ्चारमाध्यममा भने अपशब्द नबोल्नु, नलेख्नु सबैका लागि उचित कुरा हो । अपशब्दले मान्छेको अहम्‌मा ठेस पुर्‍याउँछ । मानसिक आघात हुने सम्भावना बढ्छ । प्रतिशोधको भावना बढाउँछ ।

आफ्ना कुरा प्रभावकारी ढङ्गले राख्न र मान्छेको ध्यान खिच्न अपशब्द बोल्न जरुरी हुँदैन । मर्यादित शब्दले पनि प्रभावकारी वाक्य निर्माण गर्न र सार्वजनिक ध्यानाकर्षण गर्न, गराउन सक्दछन् ।

सार्वजनिकरूपमा अपशब्द बोल्नु वा सामाजिक सञ्जालमा अश्लील लेख्नु प्रकारान्तले आफ्नै व्यक्तित्व र सामाजिक हैसियतलाई घाटा पुर्‍याउनु हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप फिचर

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved