त्रिविको ट्रान्सक्रिप्ट लिन सधैँ सास्ती

अनलाइन प्रणालीबाट ट्रान्सक्रिप्ट वितरण गर्ने भनिए पनि लागू हुन नसक्दा परीक्षा नियन्त्रण कार्यालय बल्खुबाट सेवा लिनु सधैं सास्ती हुने गरेको छ।

त्रिविको ट्रान्सक्रिप्ट लिन सधैँ सास्ती

काठमाडौं। स्नातक तह उत्तिर्ण गरेकी सुनेना शाक्य ट्रान्सक्रिप्ट लिन फाराम भर्ने लाइनमा उभिएको घण्टौँपछि पालो आयो। तर स्नातकका विभिन्न वर्षको मार्कसिटमा नामको हिज्जे फरक भएकाले त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालय (पनिका)का कर्मचारीले उनलाई पहिला नाम सच्याउने निवेदन ल्याउन लगाए।

उनी एकछिन त अक्क न बक्क भइन्। अनि के कसो गर्ने हो भनेर पनिकाका कर्मचारीलाई सोधिन्। ‘निवेदन मात्र भए पुग्छ’, ती कर्मचारीले ठाडो जवाफ दिए, ‘सोधपुछमा गएर बुझ्नुस्।’

हप्काउने शैलीमा दिइएको जवाफले उनी झन् अलमलमा परिन्। साथीले सोधपुछमा जाउँ भनेर हात समातेर लगिन्। त्यहाँ बसेका कर्मचारीले मार्कसिट हेरेर निवेदन लेख्न र त्रुटी भएको एउटा मार्कसिटको एक सय रुपैयाँको हिसाबले अर्को भवनमा गएर भौचर भर्न भने।

उनी दिक्क भइन्। लामो सुस्केरा हालिन्- ‘कता कता जानुपर्ने हो !’

निन्याउरो अनुहार लगाउँदै उनी जताजता भन्छन्, त्यतैत्यतै धाउन थालिन्।  चार घण्टाको दौडधुपपछि बल्ल भने जतिको कागजपत्र मिलाएर ट्रान्सक्रिप्टका लागि आवेदन दिइन्।

“एक सातापछि आउन भनेका छन्, खोइ आउने हो कि नाहिँ”, सुनेनाले भनिन्, “पनिकाबाट ट्रान्सक्रिप्ट पाउनु महाभारत जिते सरह हुनेछ।”

१३ मंसीरको दिउँसो पनिका परिसरमै भेटिइन्, डिला पाण्डे। आफूले दिएको परीक्षामा पनि अनुपस्थित भनेर नतिजा आएपछि नवलपरासीबाट काठमाडौं आएको उनले बताइन्।

“हतारहतार कागजपत्र नलिई आएँ, यहाँ सबै मार्कसिट चाहिँदोरहेछ, मेलमा मगाएको छु”, उनले सुनाइन्, “परीक्षा दिएको पनि अनुपस्थित भनेर आयो। बित्थैमा सास्ती भोग्न परिरहेछ।”

उता जनकपुरका दिपेन्द्रकुमार ठाकुर मार्कसिटमा रजिष्ट्रेसन नम्बर छुटेर ट्रान्सक्रिप्ट बनाउन नपाएको गुनासो गर्दै थिए।

“एक महीनाअघि आउँदा प्रक्रिया नबुझेर घुम्दा, घुम्दा यत्तिकै फर्किएँ” उनी भन्छन्, “एकजनाले त सम्भव नै नहुँदोरहेछ त्यही भएर साथी लिएर आएको छु।”

बल्खुस्थित परीक्षा नियन्त्रण कार्यालयमा एक दिन बस्दा लाग्छ, यो समस्यै समस्याले भरिएको घर हो। र, त्रिभुवन विश्वविद्यालय समस्याको कारखाना। कसैको मार्कसिटमा नाम नै मिलेको हुँदैन त कसैकोमा रजिष्ट्रेसन नम्बर छुटेको हुन्छ।

समस्याको चाङ बोकेर आएका विद्यार्थीलाई सहज ढंगले सेवा दिनुपर्ने दायित्व हो, पनिकाको।

जहाँ कुनै पनि शैक्षिक तह पास गरेर आफ्नो ट्रान्सक्रिप्ट लिन पुगेकाको भिडमा  प्रायः विद्यार्थीले विभिन्न खालका सास्ती झेलेको उदाहरण प्रशस्त भेटिन्छन्।

पनिकाले आफूकहाँ आउने विद्यार्थीको सास्ती घटाउने वाचा भने नगरेको होइन। १३ जेठ २०७५ देखि त्रिवि परीक्षा व्यवस्थापन सूचना प्रणाली (टीयूईएमआईएस) कार्यान्वयन गर्ने घोषणा गरेको थियो।

त्रिविका तत्कालीन उपकुलपति प्रा. डा. तीर्थराज खनियाले शिक्षाशास्त्र संकायबाट उत्तिर्ण मनोजकुमार सिंहलाई  टीयूईएमआईएसबाट बनेको प्रमाणपत्र हस्तान्तरण पनि गरेका थिए। तर त्यसपछि उक्त प्रणालीबाट ट्रान्सक्रिप्ट दिइएको छैन।

टीयूईएमआईएस प्रणालीबाट ट्रान्सक्रिप्ट दिइएको भए अनलाइन फर्म भरेर गए पुग्थ्यो। कम्तिमा लाइन बस्नुपर्ने थिएन। किन यो प्रणाली लागू भएन त ? यसबारे पनिकाका निर्देशक पुष्पराज जोशीसँग जानकारी लिन बारम्बार प्रयास गर्दा पनि उनी सम्पर्कमै आउन चाहेनन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved