टिप्पणी

सरकार परिवर्तनको कसरत : राष्ट्रिय सहमतिका लागि कि प्रचण्डको विकल्प खोजी ?

देउवा चिढिएपछि प्रचण्ड प्रेसरमा !

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का हिजोआजका अभिव्यक्ति/भाषणहरू ‘भयमिश्रित’ सुनिन्छन् । उनी राष्ट्रिय सहमतिको सरकार आवश्यक पर्ने दोहोर्‍याइरहन्छन् ।

सरकार परिवर्तनको कसरत : राष्ट्रिय सहमतिका लागि कि प्रचण्डको विकल्प खोजी ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का हिजोआजका अभिव्यक्ति/भाषणहरू ‘भयमिश्रित’ सुनिन्छन् । उनी राष्ट्रिय सहमतिको सरकार आवश्यक पर्ने दोहोर्‍याइरहन्छन् ।

केही दिनअगाडि एक सार्वजनिक कार्यक्रममा पनि उनले यही भनाइ दोहोर्‍याए । संसद्‌को सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको प्रमुख साझेदारीमा प्रधानमन्त्री बनेका प्रचण्डमा कांग्रेसले साथ छाड्ला कि भन्ने भय रहेको माओवादीकै नेताहरू स्वीकार्छन् ।

प्रधानमन्त्री प्रचण्डले आफ्ना पार्टीका पदाधिकारी/नेताहरूलाई कांग्रेसको ‘त्यत्ति भर लाग्दैन’ भनेर ब्रिफिङ्ग गर्ने गरेका छन् । प्रधानमन्त्री प्रचण्डलाई उद्धृत गर्दै माओवादीका एक नेता नेपालभ्यूजसँग भन्छन्, “गठबन्धनभित्र विभिन्न प्रश्नहरू उठ्न थालेका छन् । सोचेजत्ति समय गठबन्धन पो नरहला कि ! यसबारे साथीहरूले विचार गर्नुहोला ।”

त्यसो त केही गडबडी भएको सङ्केत माओवादी पोलिटब्यूरो सदस्यसमेत रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले पनि गरे । केही दिनअगाडि आयोजित एक सार्वजनिक कार्यक्रममा उनी प्रधानमन्त्री प्रचण्डको भाषा बोले, भन्दै थिए— अहिले राष्ट्रिय सहमतीय सरकार आवश्यक छ । त्यसमा बरु हामी पद त्याग्न तयार छौँ ।

उसो त प्रमुख साझेदार दल कांग्रेसभित्र ‘सरकार परिवर्तन’ को बहस सुरू भएको चर्चा छ । कांग्रेस नेताहरूले भन्ने गरेका छन्— सरकारले अपेक्षित काम गर्न सकेन, स्टन्टबाजीमा रमायो ।

जसै मङ्गलबार संसद्‌बाटै कांग्रेस महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री प्रचण्डलाई नयाँ तवरले समस्याको सामना गर्न तयार रहन चेतावनी नै दिए । उनले प्रधानमन्त्री प्रचण्डलाई ‘मसँग बहुमत छ, जे गर्दा पनि हुन्छ, ताली बजिहाल्छ’ भनेर नसोच्न आग्रह गरे । महामन्त्री थापाको यो अभिव्यक्तिले पनि कांग्रेसभित्र वर्तमान सरकारको विकल्पबारे छलफल भएको सङ्केत गर्छ ।

जुन कुरा कांग्रेस सभापति शेरबहादुर देउवाका विश्वासपात्र मीनबहादुर विश्वकर्मा स्वीकार्छन् । “बहस भइरहेको छ । वर्तमान सरकार अपेक्षित काम गर्नमा चुकेको हाम्रो साङ्गठानिक र सामूहिक निष्कर्ष छ । यस्तो अवस्थामा विकल्पका बारेमा स्वाभाविक छलफलहरू हुने नै भए । तर, अहिल्यै सरकार परिवर्तन भइहाल्नुपर्छ भन्ने मान्यता कांग्रेसको छैन । सरकारचाहिँ सुध्रिनुपर्छ,” उनी भन्छन् ।

परन्तु, सरकारले आफ्नो गतिविधि सुधारेन भने विकल्प खोज्ने कांग्रेसकै अर्का नेता बताउँछन् । “हामीले सुध्रिनका लागि भनिरहने र सरकार यही शैलीमा अघि बढिरहने हो भने विकल्प त खोज्नु परिहाल्यो नि ! र, सरकार सुध्रिन्छ भन्ने मलाईचाहिँ व्यक्तिगतरूपमा त्यत्ति लाग्दैन,” ती नेता भन्छन्, “सरकारलाई स्टन्टबाजीमा रमाउने बानी परिसकेको देखिन्छ ।”

यस्ता छन् कांग्रेस-माओवादीबीच बढ्दो दूरीका ७ कारण

हुन पनि कांग्रेस सभापति देउवा वर्तमान सरकारसँग खुसी छैनन् । उनी सबैभन्दा धेरै आफ्ना विश्वासपात्र पूर्वगृहमन्त्री बालकृष्ण खाण पक्राउ गरिएकोप्रति सरकारसँग रुष्ट छन् ।

खाणलाई जोगाउँदा-जोगाउँदै पक्राउ गरिएपछि उनी रुष्ट बनेका छन् । देउवाले ‘नक्कली शरणार्थी प्रकरणमा बालकृष्ण खाणको नाम आउनेबित्तिकै पक्राउ गरिएको तर, ९ किलो सुन प्रकरणमा माओवादी उपाध्यक्ष कृष्णबहादुर महराको रिपोर्टसमेत सार्वजनिक हुँदा पनि अनुसन्धानमा समेत नतानिएको’ भन्दै सरकारमाथि प्रश्न उठाउने गरेका छन् । उनले पार्टीका पदाधिकारी तथा नेताहरूसँग छानबिनमा समेत सरकारले आग्रह-पूर्वाग्रह राखेको बताउने गरेका छन् ।

यसअघि उनले गृहमन्त्री; जो माओवादीका वरिष्ठ उपाध्यक्ष हुन् नारायणकाजी श्रेष्ठलाई यही विषय उल्लेख गर्दै ‘यो के गरेको भनेर’ ठूलै स्वरमा सोधेका थिए । जसै कांग्रेसका कतिपय नेताहरूले प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्री श्रेष्ठले राजीनामा दिनुपर्ने मागसमेत उठाइरहेका हुन्छन् ।

गठबन्धनमा बनेको सहमतिअनुसार कांग्रेस सभापति देउवा ५ वर्षमध्ये अन्तिमको २ वर्ष प्रधानमन्त्री बन्नेछन् । बीचको १ वर्ष नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल प्रधानमन्त्री बन्ने सहमति छ । प्रचण्ड २०७९ पुस १० गते प्रधानमन्त्री बनेका हुन्, जसको प्रधानमन्त्रीत्वकाल ८ महिना बित्यो । सहमतिअनुसार नै हो भने प्रचण्ड अझै १६ महिना प्रधानमन्त्री बनिरहनेछन् ।

संसद्को अवरोध होइन, गृहमन्त्री नै हटाउन चाहन्छन् देउवा !

तर, अहिल्यै आएर सरकार परिवर्तनको प्रयास देखिनु दुखद् भएको बताउँछन् माओवादी महासचिव देवप्रसाद गुरुङ । “असन्तुष्टिहरू सुनिएकै हुन् । मलाई के लाग्छ भने सम्भवत: सरकार परिवर्तनको प्रयास भएको छैन होला । यदि भएको हो भने त्यो दुखद् हो,” महासचिव गुरुङ भन्छन् ।

संसद्को अवरोध होइन, गृहमन्त्री नै हटाउन चाहन्छन् देउवा !

उनी पनि राष्ट्रिय सहमतीय सरकार बन्नुपर्ने मत राख्छन् । माओवादी सरकार बनाउने र टिकाउने कुरामा मात्रै राष्ट्रिय सहमतिको हिमायती पार्टी नभएको जिकिर महासचिव गुरङको छ । “हामी सरकार बनाउने बेला र टिकाउने बेलामात्रै राष्ट्रिय सहमतिको कुरा गर्दैनौँ । सधैँभरि नै राष्ट्रिय सहमतिअनुसार अगाडि बढ्नुपर्छ भन्ने ठान्छौँ,” उनले भनेका छन् ।

महासचिव गुरुङको यही भनाइ सुनाउँदा कांग्रेसका एक नेता भन्छन्— त्यसका लागि त सुध्रिनुपर्‍यो, सही ढङ्गले काम गर्नुपर्‍यो नि !

त्यसो त ‘कांग्रेस सरकारले अपेक्षित काम नगरेको भन्दा पनि भएका कामहरूको जस माओवादीले मात्रै पाउने भएपछि छट्पटिएको हो’ भन्ने चर्चासमेत राजनीतिक वृत्तमा चर्चामा छ । जे होस्, माओवादी-कांग्रेसबीच केही दिनयता त्यत्ति समधुर सम्बन्ध देखिँदैन । यसले केसम्म गराउँछ, हेर्न बाँकी छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved