पहिरोले बेसीसहर–चामे सडक पुनः अवरुद्ध

नेपालभ्युज

पहिरोले बेसीसहर–चामे सडक पुनः अवरुद्ध
फाइल तस्वीर

लमजुङ। पहिरोले बेसीसहर–चामे सडक पुनः अवरुद्ध भएको छ । आज बिहान लमजुङ र मनाङ जोड्ने यस सडकखण्डअन्तर्गत खरखरे भिर, हवाईडाँडा, बक्स कटिङ र च्याम्चेमा गएको पहिराले सडक पुनः अवरुद्ध भएको डुम्रे–बेँसीसहर–चामे सडक योजना कार्यालयले जनाएको छ ।

कार्यालयका सूचना अधिकारी एवं इन्जिनियर पुरुषोत्तम अधिकारीले भने, “यस सडकअन्तर्गत बेसीसहर नगरपालिका वडा नं ६ खरखरेभिर, मर्स्याङ्दी गाउँपालिका-४ स्थित तीन ठाउँमा पहिरो गएको छ ।” उक्त पहिरोमध्ये हवाईडाँडामा ठूलो पहिरो गएको उनको भनाइ छ ।

सो स्थानमा ठूला–ठूला ढुङ्गासहितको पहिराले सडक अवरुद्ध बनाएको छ । केही ठाउँमा सडक खुलाउने प्रयास भए पनि समय लाग्ने भएको छ । सडक अवरुद्ध भएसँगै सवारीसाधन सञ्चालन हुन नसक्दा यात्रु अलपत्र परेका छन् ।

यसअघि गत आइतबार नासों गाउँपालिका–१ तालडाँडामा पनि पहिराले सडक अवरुद्ध बनाएको थियो ।

त्यस्तै, ६ दिनअघि यस सडकको विभिन्न स्थानमा पहिराले सडक अवरुद्ध बनाएको थियो । यसरी पटक-पटक सडक अवरुद्ध हुँदा जिल्लाको उत्तरी भेगका स्थानीय र मनाङवासीलाई मर्का पर्दै आएको छ । सडक सञ्चालनमा आएको वर्षौं भए पनि सडक गुणस्तरीय बन्न नसक्दा थप जीर्ण र जोखिम रहँदै गएको यात्रुहरूले बताएका छन् । ६५ किलोमिटरको यस सडक लमजुङतर्फ ३५ र मनाङतर्फ ३० किमी रहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved