काठमाडौं। शुक्रबार (१० मंसीर) देखि चितवनमा शुरु एमालेको दशौं महाधिवेशनले अध्यक्ष केपी ओलीलाई पुनः अध्यक्षमा निर्वाचित गर्ने निश्चित नै छ।
पछिल्लो समय पार्टी राजनीतिमा जब्बर देखिएका ओली ६ वर्षअघि संविधान जारी गर्ने बेला तराई मधेशमा सबैभन्दा आलोचित पात्र थिए। नयां संविधानविरुद्ध तराई मधेशमा चलेको ६ महीना लामो आन्दोलनको मुख्य निशानामै ओली थिए। तर उनले त्यसलाई खासै वास्ता गरेनन्।
मधेश आन्दोलनलाई पूरै बेवास्ता गरेर बढेका ओलीलाई शुक्रबार बधाई दिन लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका अध्यक्ष महन्थ ठाकुर र जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले चितवन पुगेका छन्। हुन त ठाकुर र यादव दुवै पछि ओलीको सत्तासहयात्री पनि बनेका थिए। तर पनि ओली र एमालेलाई तराई-मधेशमा अझै अन्य पार्टीजस्तो सहज भने छैन।
२०७४ सालमा भएको तीनै तहको निर्वाचनमा ओली तराई-मधेशमा चाहेर पनि झर्न सकेनन्। निर्वाचनपश्चात् शक्तिशाली प्रधानमन्त्री बने पनि ओलीले मधेश आन्दोलनको प्रभावित जिल्लामा सार्वजनिक कार्यक्रम गर्न सकेनन्। प्रदेश २ प्रदेशसभालाई सम्बोधन गरे पनि उनले जनकपुर, वीरगन्ज, राजविराजसहित मधेशमा सार्वजनिक कार्यक्रम गर्न अप्ठयारो मानिरहेका देखिन्छ।
पार्टीको दोस्रो पटक नेतृत्वमा बलियो गरी पुनः उदाएका ओलीले मधेशमा अब कस्तो प्रभाव पार्लान् ? जिज्ञासा देखिन्छ।
त्यसो त महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्ने क्रममा ओलीले मधेशमा एमालेलाई हेर्ने नजर राम्रै भएको टिप्पणी गरे। आज (१० मंसीर) नारायणी नदी किनारमा भएको उद्घाटन सत्रमा उनले मधेशमा आफू र आफ्नो पार्टीले सदैव विकास चाहेको प्रतिक्रिया दिए। बहुप्रतीक्षित हुलाकी राजमार्ग मधेशमा बनाउने लक्ष्य एमालेले लिएको र यो पूरा गर्ने उनको भनाइ थियो।
तर मधेशका पुराना राजनीतिज्ञ भरतविमल यादव ओलीप्रति मधेशमा अहिले पनि आकर्षण नरहेको दाबी गर्छन्। पछिल्लो समयमा स्वतन्त्र रूपमा जनकपुरमा रहँदै आएका सदभावना पार्टीका पुराना नेता यादव भन्छन्, “महाधिवेशनकै रौनकको कुरा गर्ने हो भने तराई मधेशमा एमालेभन्दा कांग्रेस बढी हाबी छ। ”
तर अब भने मधेशमा ओलीको नकरात्मक नजर नदेखिएको यादव दबी गर्छन्। “तेस्रो मधेश आन्दोलनताका ओलीप्रति नकारात्मक भावना थियो मधेशमा”, भन्छन्, “अहिले त्यति बेलाजस्तो नकारात्मक पनि छैनन् तर मधेशमा ओलीप्रति कुनै चासो पनि देखिएको छैन।”
केन्द्र र र पार्टीमा जति नै बलियो देखिए पनि ओलीको साख मधेशमा फर्केनेमा मधेशका जानकारहरू ढुक्क छैनन्।
एमाले जति नै बलियो देखिए पनि मधेशमा ओलीप्रति सकारात्मक सोच बनिनसकेको अर्का मधेश मामिलाका जानकार विजयकान्त कर्ण पनि तर्क गर्छन्। “मधेश आन्दोलनका क्रममा मुद्दा सम्बोधनमा ओलीले लिएको अडानभन्दा उनले दिएको अभिव्यक्रिका कारण उनीप्रति बढी नकारात्मकता फैलिएको हो,” कर्ण भन्छन्, “एमालेमै लागेका मधेशी नेताहरू सार्वजनिक रुपमा नबोले पनि अनौपचारिक रूपमा कुरा गर्दा उनीहरू ओलीप्रति मेलै सकाकारात्मक पाएको देखिनँ। त्यसैले एमाले जति नै तामझाम र बलियो देखिए पनि यसले मधेशमा छाडेको छविमा सुधार नआउने कर्ण बताउँछन्।
बृहत् मधेश नागरिक समाजका संस्थापक बलराम यादव भने फरक तर्क गर्छन्। राजविराजमा बस्ने नागरिक अगुवा यादवले पनि मधेशमा ओलीप्रति ६ वर्षअघि जस्तो नाकरात्मक भावना नदेखिए पनि आकर्षण बढिरहेको उनी बताउँछन्। भन्छन्, “उनको पार्टी पंक्तिबाहेक अन्यमा कुनै खासै चर्चा चाहिँ देखिँदैन।”
तेस्रो मधेश आन्दोलनका बेला तत्कालीन मधेशी मोर्चाले उठाएको संविधान सशोधनको मागलाई ओलीले अस्वीकार गरिदिएका थिए। मधेशी मार्चाले भने एमालेमुक्त मधेश अभियानसम नै गएको देखिएको थियो।
मधेशी शक्क्तिले उठाएको संविधान संशोधनको मागप्रति कांग्रेस र माओवादी केन्द्रले प्रतिबद्धता जनाएको थियो। कांग्रेसको प्रस्तावमा दुई बुँदे संशोधन पनि भयो। तर मधेशी मोर्चा असहमत नै देखियो।
एमालेका अध्यक्ष ओलीले भने संविधान संशोधनको औचित्य प्रस्ट नभएको भन्दै मानेनन्। एमालेले साथ नदिँदा संविधान संशोधन प्रस्ताव फेल भएपछि ओलीलाई मधेशविरोधी भन्दै मधेशी मोर्चाले आन्दोलन उठायो। ओलीकै सबैभन्दा बढी पुत्लादहन भयो। उनलाई मधेशमा प्रतिबन्धसमेत लगाइयो। एमालेले मेची-महाकाली अभियान सञ्चालन गर्दा सप्तरीको मलेठमा त दोहोरो झडप नै भयो।
तर संघीय संसदको चुनावी परिणामपछि ओली प्रधानमन्त्री बने। मधेशकेन्द्रित तत्कालीन दल राजपा र समाजवादी पार्टीले सरकारलाई समर्थन गर्यो। उपेन्द्र यादव भने सरकारमै सहभागी भए। फेरि मधेशको माग पूरा नभएको भन्दै यादव पक्ष सरकारबाट बाहिरियो। सरकारबाट अपमानजनक तरिकाले बहिर्गमन हुनुपरेपछि उपेन्द्र र ओलीबीच सम्बन्धमा थप तिक्तता आयो। दलभित्रको आन्तरिक खिचातानीका कारण समीकरण बदलियो।
नेकपाको विभाजनदेखि माधव नेपालको विद्रोहले दुईतिहाइ बहुमतको शक्तिशाली सरकार अल्पमतमा पर्यो। बहुमत जुटाउन ओली मधेशकेन्द्रित दलको साथ खोज्न लागिपरे। मधेशको माग र मुद्दा सम्बोधन गर्ने विश्वासका साथ जनता समाजदावी पार्टीको एक हिस्सा ओली पक्षमा गयो।
ओली र जसपाको एउटा समूह महन्थ ठाकुर र राजेन्द्र महतो पक्षबीच भने सम्बन्धमा सुधार आएपछि सत्तासाझेदार भएका छन्। आफ्ना माग पूरा गर्न प्रधानमन्त्री ओली सकारात्मक भएकाले आफूहरू नजिकिएको उनीहरूको टिप्पणी थियो।
ओलीले विगतमा आफैंले विरोध गरेका नागरिकता अध्यादेशदेखि मुद्दा फिर्तासम्मका काम अघि सारे। त्यसपछि ठाकुर महतो पक्षसँग ओलीको सम्बन्ध सुधारको बाटोमा अगाडि आयो। तर त्यतिले ओलीको साख मधेशमा नफर्कने नागरिक अगुवा वलराम यादवको निष्कर्ष छ। भन्छन्, “ओली र ठाकुर महतो पक्षको सत्ता सहकार्य बढेको भए र मुद्दालगायत नागरिक अध्यादेशको काम बढेको भए एउटा सकारात्मक वातावरण बन्न सक्थ्यो, तर त्यो पनि नभएपछि मधेशमा त्यस्तो चासो छैन।”
Facebook Comment
Comment