म्याग्दी। गण्डकी प्रदेशअन्तर्गतको पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आर्थिक वर्ष २०७९/८० मा कार्यान्वयनमा ल्याएका अधिकांश योजना अधुरा छन् । मन्त्रालयले पर्यटन तथा उद्योग कार्यालय म्याग्दीमार्फत गत आवमा कार्यान्वयनमा ल्याएका २१ योजनामध्ये २०८०/८१ मा आठलाई मात्र निरन्तरता दिएको छ ।
“म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको बेंसीगाउँदेखि नारच्याङ झरना पुग्न करिब एक किलोमिटर उकालो पैदलयात्रा गर्नुपर्छ”, नारच्याङ झरना पदमार्ग योजनाअन्तर्गत उपभोक्ता समितिका अध्यक्ष चन्द्रप्रकाश फगामीले भने, “गत वर्ष पर्यटन कार्यालयको सहयोगमा एक सय ५० मिटर पदमार्ग निर्माण गरिएको हो ।” चालु आवमा उक्त योजनाका लागि बजेट विनियोजन नभएकाले पदमार्ग निर्माणको काम अधुरो बनेको उनले बताए ।
झरना अवलोकन गर्न आउने पर्यटकलाई आवतजावतमा सहज होस् भन्नका लागि विनियोजित बजेटले पदमार्ग निर्माण गरिएको भन्दै अध्यक्ष फगामीले बजेट अभावका कारण यस वर्ष काम अधुरो रहेको बताए । “बजेट विनियोजन भएका आधारमा गत आवमा डेढ सय मिटर मात्र पदमार्ग बनायौँ”, उनले भने, “थप सात सय ५० मिटर पदमार्ग बनाउनुपर्ने छ । यस वर्ष बजेट विनियोजन नभएकाले सुरु भएको योजना अलपत्र परेको छ ।”
‘मसिनाढुङ्गा–थाकनपोखरी पदमार्ग योजना’का लागि गत आवमा १५ लाख बजेट विनियोजन गरिएकामा यस वर्ष बजेटविहीन बनेको योजनाका अध्यक्ष हरिप्रसाद पौडेलले जानकारी दिए । “बेनी नगरपालिका–६ अन्तर्गत मसिनाढुङ्गा–थाकनपोखरी जोड्ने उक्त योजनाअन्तर्गत गत वर्षको बजेटले तोकिएको परिणामको काम भए पनि पूर्णता पाएको छैन”, उनले भने, “यस वर्ष बजेटले निरन्तरता नपाउँदा निर्माणाधीन पदमार्ग अलपत्र बनेको छ ।”
विस्तृत सर्वेक्षणविना योजनाका लागि बजेट विनियोजन गरिएको भन्दै सुरु गरिएका पूर्वाधार निर्माणका योजनालाई निरन्तरता नदिँदा अधिकांश अलपत्र परेका पौडेलले बताए । अधुरा योजनाबाट नागरिकले लाभ लिन नसक्ने भएकाले निर्माणाधीन कामका लागि बजेटको निरन्तरता आवश्यक पर्नेमा उनले जोड दिए । – रासस
Facebook Comment
Comment