चितवन । चितवनमा आयोजना हुन गइरहेको नेकपा (एमाले)को १० औं महाधिवेशनको तयारी तीव्र पारिएको छ। महाधिवेशनअघि निस्किने प्रत्येक र्यालीसँगै एम्बुलेन्स पनि हुने बताइएको छ।
नवलपरासीको गैंडाकोट केन्द्रीय बस टर्मिनल, विशाल चोक, अप्तण्डी बेलचोक र त्रिचोकबाट महाधिवेशनअघि र्याली निस्किने एमाले चितवनले जानकारी दिएको छ। महाधिवेशनमा नेपाल रेडक्रस सोसाइटीका एम्बुलेन्स प्रयोग हुने बताइएको छ।
यस्तै महाधिवेशन सकिएपछि बन्दसत्र आयोजनास्थल सौराहमा पनि एम्बुलेन्स सेवाको व्यवस्था गरिएको स्वास्थ्य व्यवस्थापन समितिका संयोजक भानुभक्त ढकालले बताए। सहभागी प्रतिनिधिलाई कुनै स्वास्थ्य समस्या देखिए उपचार गर्न प्राथमिक स्वास्थ्य टोलीको पनि पार्टीले व्यवस्था गरेको ढकालले जानकारी दिए।
एमाले अध्यक्ष केपी ओलीका लागि एउटा छुट्टै एम्बुलेन्स उनी बस्ने होटलमा तयारी अवस्थामा राखिने पनि जनाइएको छ। महाधिवेशनमा २ सय ५० स्वास्थ्यकर्मी खटिने ढकालले बताए।
यस्तै सहभागी प्रतिनिधिलाई स्वास्थ्य समस्या आए र थप उपचार आवश्यक परे चितवन मेडिकल कलेज लगिने पनि उनले जानकारी दिए। जहाँ उनीहरूलाई निशुःल्क उपचार गरिने पनि एमाले चितवनले बताएको छ।
प्रतिनिधिलाई ४० देखि ५० प्रतिशत छुटमा होटल
महाधिवेशनमा आउने हरेक प्रतिनिधिलाई ४० देखि ५० प्रतिशतसम्म छुटमामा होटलको व्यवस्था गरिएको छ। महाधिवेशन समितिले सिफारिस गरेको व्यक्तिले मात्र यस्तो सुविधा पाउनेछन्। हालसम्म सौराहाका होटलका ३ हजार ५ सय ओटा कोठा बुक भएका बताइएको छ।
सहभागी प्रतिनिधिलाई जलकुम्भी माछासहित खानाका परिकार बनाउन काठमाडौं सोल्टी होटलबाट सिनिअर सेफहरू आउने आयोजकले जनाएको छ। प्रतिनिधिहरूलाई समग्रमा पाँच छाक खाना खुवाइने आयोजकले जनाएको छ।
पर्यटन व्यवसायी उत्साहित
एमालेको महाधिवेशनको रौनकका कारण त्यहाँका पर्यटन व्यवसायी उत्साहित भएका छन्। कोरोनाले थला पारेका सौराहाको पर्यटनलाई एमाले महाधिवेशनले गति दिने उनीहरूले विश्वास लिएका छन्। मासिक ५० देखि ६० करोडको व्यवसाय गर्ने सौराहाको पर्यटन क्षेत्र ०७७ वैशाखयता प्रभावित भएको पर्यटन व्यवसायी महादेव दवाडीले बताए।
सौराहमा १ सयभन्दा धेरै होटल र ८० भन्दा बढी रेस्टुरेन्टहरू छन्। सबै होटल र रेस्टुरेन्टमा अहिले भने चहलपहल बढेको दवाडी बताउँछन्।
एमाले महाधिवेशन आयोजना हुने सौराहाको साततारे होटलका सञ्चालकसमेत रहेका दवाडीले भने, “महाधिवेशनले होटललाई फाइदा नभए पनि उत्साहित चै बनाएको छ।”
करिब दुई वर्ष बन्द रहेको व्यवसाय अब पूर्ण क्षमताका साथ सञ्चालन हुन सक्ने सन्देश देश विदेशमा जाने हुँदा आफूहरूलाई खुसी लागेको दवाडीले बताए।
Facebook Comment
Comment