पर्वत। पर्वतका दुई छुट्टाछुट्टै स्थानमा गएराति परेको चट्याङमा पाँचजना घाइते हुनाका साथै एक घरमा क्षति पुगेको छ । जिल्लाको फलेवास नगरपालिका–३ शङ्कर पोखरीस्थित टारीका दयाराम पङ्गालीको घरम चट्याङ पर्दा तीन जना घाइते भएका थिए ।
गए राति करिब १२ बजेको समयमा भीषण वर्षासँगैको चट्याङ परेर ३० वर्षीया शर्मिला रिजाल, २५ वर्षीय होमनाथ रिजाल र २७ वर्षीय नवीनप्रसाद रिजाल घाइते भएका थिए ।
उनीहरूको पोखरास्थित गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको प्रहरी निरीक्षक प्रकाश रावतले जानकारी दिए । घाइतेहरूको अवस्था सामान्य रहेको छ । चट्याङले पङ्गालीको दुईतले घरको दुईवटा कोठामा पूर्ण क्षति पुर्याएको छ भने टिभी, मिटरबक्सलगायत विद्युतीय सामग्रीसमेत नष्ट भएका छन् ।
त्यसैगरी, महाशिला गाउँपालिका–६ फलामखानीमा पनि चट्याङमा परी दुई जना घाइते भएका छन् । बिहीबार राति परेको चट्याङले स्थानीय ५० वर्षीया उमादेवी सुनार र उनकी छोरी ३० वर्षीया रेखा सुनार घाइते भएको वडाध्यक्ष गोविन्द विकले जानकारी दिए । उनीहरूको खुट्टा र कानमा चोट लागेको र स्थानीय स्वास्थ्यचौकीमा उपचार भइरहेको उनको भनाइ थियो ।
चट्याङ लागेर फलामखानीको पात्ला र ढडेनका सात घरमा विद्युतको मिटरबक्स जल्नुका साथै एक बाख्रोसमेत मरेको छ । क्षतिको विवरण सङ्कलन गर्ने काम भइरहेको वडाध्यक्ष विकले बताए ।-रासस
Facebook Comment
Comment