काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मन्त्रिपरिषद् पुन: गठन तथा मन्त्री हेरफेरको ‘मूड’ बनाएका छन् । उनले चन्द्रकान्त राउत ऊर्फ डा. सीके राउत नेतृत्वको जनमत पार्टीलाई चाँडै नै मन्त्रिपरिषद्मा सामेल गराउँदैछन् भने आफ्ना दल नेकपा (माओवादी केन्द्र) बाट बनेका केही मन्त्रीसमेत हेरफेर हुने चर्चा छ ।
प्रधानमन्त्री प्रचण्डले जनमत आफैँले रोजेको मन्त्रलाय दिएर सरकारमा सहभागी गराउने गृहकार्य गरिरहेका छन् । “यसबीचमा अलिकति गृहकार्य टुटेको थियो, अब पुन: सुरू भएको छ । अब चाँडै जनमत सरकारमा सहभागी हुन्छ,” प्रधानमन्त्री प्रचण्डनिकट स्रोतले भन्यो ।
जनमतले उद्योग र कृषिमध्ये एक रोजेको छ । उसलाई रोजेकै मन्त्रालय दिने प्रधानमन्त्री प्रचण्डले बताउने गरेका छन् । पूर्वमन्त्रीसमेत रहेका जनमतका उपाध्यक्ष अब्दुल खानले भने, “तपाईंहरू आउनुस्, सबै कुरा मिल्छ भनेर प्रधानमन्त्रीले भन्नुभएको छ ।”
यसका साथै प्रधानमन्त्री प्रचण्डले केही मन्त्रीसमेत हेरफेर गर्ने चर्चा छ । माओवादी केन्द्रबाट मन्त्री बनेकाहरू केहीलाई फिर्ता बोलाएर नयाँलाई पठाउनेबारे समेत छलफल भइरहेको छ । पठाउँदा उपमहासचिवद्वय वर्षमान पुन र जनार्दन शर्मालाई पठाउन सकिने स्रोत बताउँछ । प्रधानमन्त्री प्रचण्डनिकट स्रोत भन्छ, “पार्टीबाट बनेका केही मन्त्रीहरूले सन्तोषजनक काम नगरेको प्रधानमन्त्रीजीको गुनासो छ । सम्भवत: जिम्मेवारी हेरफेर हुनसक्छ ।”
यस्तो अवस्थामा को जान्छ सरकारमा ? भन्ने प्रश्नमा स्रोत भन्छ, “निर्णय होला पार्टीमा । तर, उपमहासचिवहरूबाट सरकारमा सहभागी गराउने काम हुनसक्छ ।” त्यसो त चुनावअघिको नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारमा जनार्दन शर्मा मन्त्री थिए । यसकारण पनि अहिले जिम्मेवारी हेरफेर हुँदा वर्षमान पुनको बढी सम्भावना रहेको बताइन्छ ।
हुन त प्रधानमन्त्री प्रचण्डले पुनलाई यसअघि नै मन्त्री बनाउन खोजेका थिए । तर, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति उपप्रधानमन्त्री हुने भएपछि उनी आफैँले मन्त्री नहुने बताएका थिए । तर, अहिले भने उनले सरकारमा सहभागी हुने आकांक्षा देखाइरहेको बताइन्छ ।
तर, पुनका स्वकीय सचिव सन्तोष पुन भने यो चर्चा मान्न तयार छैनन् । “त्यसबारे केही त्यस्तो आएको छैन,” उनले भने । प्रधानमन्त्री प्रचण्डले सरकारमा सहभागी हुनैपर्छ भनेको खण्डमा भने सोच्ने उनले बताएका छन् ।
Facebook Comment
Comment