काठमाडौं । सरकारले काठमाडौं उपत्यकालाई व्यवस्थित सहर बनाउन गुरुयोजना निर्माण गरिरहेको छ । सहरी विकासमन्त्री सीता गुरुङले उपत्यकालाई व्यवस्थित बनाउन सरकारले विशेष कार्यक्रमसहित गुरुयोजना बनाउने काम भइरहेको बताएकी हुन् ।
सोमबार जिल्ला समन्वय समिति ललितपुरको सातौं जिल्लासभामा बोल्दै मन्त्री गुरुङले काठमाडौं उपत्यका घरै–घरको मात्रै सहर हुँदा सुन्दर नभएको भन्दै व्यवस्थित बनाउने योजना बनाइरहेको बताइन् ।
उनले सरकारले बनाइरहेको गुरुयोजनाले सहरलाई थप व्यवस्थित बताउने दाबी गरिन् । उनले काठमाडौं उपत्यकाबाट बग्ने वागमती र त्यसका साहयक नदीहरुको सरसफाईबिना सुन्दर सहर निर्माण नहुनेमा जोड दिइन् । त्यससँगै धार्मिक, साँस्कृति सम्पदाको जगेर्ना गर्दै व्यवस्थित सहर बनाउने गरी योजना बनाइरहेको पनि दाबी गरिन् ।
‘राज्यले नीतिगत रुपमा सहरको स्वरुप यस्तो हुनुपर्छ भनेर कार्यान्वयन गर्न नसक्दा काठमाडौं उपत्यकामा घरै मात्रै भएको अवस्था छ । ठूलो सहर पनि छैन । गाडी पार्किङ गर्ने ठाउँ पनि छैन । खानेपानी, साना–साना पार्क र फुटपाथ, केही पनि छैन’, उनले भनिन्, ‘सहरलाई व्यवस्थित बनाउन पुराना सबै भत्काउन सकिने अवस्था छ्रैन । तर पनि व्यवस्थित बनाउने दृष्टिकोणका साथ सरकारले अहिले काठमाडौं उपत्यकाको गुरुयोजना बनाइरहेको छ ।’
अहिले अव्यवस्थित र सुकुम्वासी बस्ती हटाउन सरकारलाई चुनौती भएको उनले बताइन् । ‘सरकारले नदी किनारको अव्यवस्थित र सुकुम्वासी बस्ती हटाउन सक्यौं भने धेरै काम गर्न सहज हुने अवस्था छ’ उनले भनिन्, ‘त्यस्तै फोहोर व्यवस्थापन पनि चुनौतीको विषय बनेको छ । अब सबै समस्या समाधान हुनेगरी गुरुयोजना बन्दैछ ।’
उनले सहर व्यवस्थित बनाउन सरकार र स्थानीय तहबीच हातमाले हुन आवश्यक रहेको बताइन् ।
Facebook Comment
Comment