काठमाडौं। नेकपा (एमाले)ले पार्टीको १० औं महाविधेशनका लागि प्रत्येक सदस्यबाट कम्तीमा एक सय रुपैया संकलन गर्ने निर्णय गरेको छ।
बुधबार ललितपुरस्थीत तुलसीलाल स्मृति प्रतिष्ठानमा बसेको एमाले महाधिवेशन मूल व्यवस्थापन समितिको बैठकले महाधिवेशनलाई सम्पन्न गर्नका लागि प्रत्येक सदस्यबाट कम्तीमा एक सय रुपैया संकलन गर्ने निर्णय गरेको एमाले सचिव एवम् प्रचार विभाग प्रमुख योगेश कुमार भट्टराईले जानकारी दिए।
हाल पार्टीमा ७ लाख ३० हजार सदस्य रहेको र महाधिवेशनको खर्चका लागि खोलिएको खातामा सात करोड भन्दा बढी जम्मा हुने उनले बताए। बैठकमा महाधिवेशन उपसमितिहरुले पेश गरेको कार्ययोजनासहितको प्रतिवेदन पारित गरेको जानकारी भट्टराईले दिए।
महाधिवेशनको उद्घाटन मध्यान्ह १२ बजे चितवनको नारायणी नदी किनारमा अध्यक्ष केपी ओलीले गर्ने र बन्द सत्र सौराहामा हुने एमालेले जनाएको छ। उद्घाटन सत्रमा देशभरबाट ५ लाख जनालाई उतार्ने योजना पार्टीको छ।
त्यसअघि कात्तिक २७ गते प्रतिनिधिको निर्वाचन गरेर १९ सय ९९ जना प्रतिनिधि छनोट गर्ने र ३० गतेभित्र प्रतिनिधिको नाम केन्द्रीय कार्यालयमा उपलब्ध गराउने उनले बताए।
महाविधेशन अन्तर्गत १० गते हुने उद्घाटनसत्र पछि ११ गते नै निर्वाचन प्रक्रिया शुरु हुने तथा १२ गते निर्वाचनका लागि मतपरिणाम आउने सचिव भट्टराईले जनाए। महाधिवेशनका लागि यसपटक पोष्टर नटाँस्ने र भित्ते लेखन नगर्ने बरु डिजिटल माध्यमबाट प्रचार प्रसार गर्ने एमालेले जनाएको छ।
Facebook Comment
Comment