काठमाडौँ । घरमा काम गर्नेगरी आफ्नै संरक्षणमा राखिएकी १४ वर्षीया नाबालिगमाथी बलात्कार अभियोगमा व्यापारी सुशील चटौतलाई १८ वर्ष १ महिना कैद सजाय सुनाइएको छ ।
सोमबार ललितपुर जिल्ला अदालतकी न्यायाधीश सीता शर्मा अधिकारीको एकल इजलासले चटौतलाई जेल सजायका अतिरिक्त चटौतबाट पीडितलाई ८ लाख रूपैयाँ क्षतिपूर्ति भराउने फैसला सुनाइएको हो ।
जिल्ला सरकारी वकिल कार्यालयले नाबालिग बलात्कारमा अधिकतम २० वर्ष कैद र आफ्नै संरक्षणमा रहेकी नाबालिगसँगको करणीबापत थप तीन वर्षसम्म कैद सजाय हुनुपर्ने माग राखेर गत वैशाख ११ मा मुद्दा दर्ता गराएको थियो ।
मुलुकी अपराध संहितामा १० वर्षभन्दा माथि तर १४ वर्ष भन्दा कम उमेरकी नाबालिगमाथि बालत्कार गर्नेलाई १९ वर्षदेखि २० वर्षसम्म कैद सजाय हुने व्यवस्था छ ।
बझाङमा जन्मिएकी पीडित नाबालिग ललितपुर इमाडोलस्थित स्थानीय विद्यालयमा कक्षा ८ मा अध्ययनरत थिइन् । उनी १० वर्षकै उमेरमा घरेलु कामदारका रूपमा चटौत परिवारमाआएकी थिईन् ।
पहिलेदेखि नै बलात्कारमा पर्दै आएकी उनी पछिल्लो पटक २०७८ माघ २४ मा बलात्कारमा परेकी हुन् ।
विद्यालयमा टोलाउने, झोक्राउने र छुट्टी भएपछि पनि घर जान नमान्ने जस्ता व्यवहार देखेपछि शिक्षक–शिक्षिकाले प्रहरी प्रभाग ईमाडोलमा खबर गरेका थिए । प्रहरीले राष्ट्रिय बाल अधिकार परिषद्को बाल हेल्प लाइनमा जिम्मा लगाएपछि हेल्पलाइनको मनोसामाजिक परामर्शपछि पीडित नाबालिगले आफू कार्यरत घरधनी चटौतबाट आफू लामोसमयदेखि यौन दुर्व्यवहारमा परेको खुलाइन् । त्यसपछि परिषद्ले जाहेरी दिएको थियो । सुरुमा प्रहरीले जाहेरी लिन नमाने पनि सार्वजनिक दबाबपछि जाहेरी दर्ता भयो र चटौत पक्राउ परे ।
पीडित बालिकाले जिल्ला सरकारी वकिलहरूको उपस्थितिमा प्रहरीलाई ‘कसैलाई भनेमा मारिदिन्छु’ भन्ने धम्की दिँदै आफूलाई चटौतले लामो समयदेखि यौन शोषण गर्दै आएको बयान दिईन् ।
गत चैत १५ मा न्यायाधीश अधिकारीको इजलासले चटौतलाई बलात्कारमा दोषी ठहर गरेको थियो । सजाय निर्धारणका लागि सोमबार तोकिएको पेशीमा सुनुवाइ गर्दै जिल्ला अदालतले चटौतलाई १८ वर्ष एक महिना कैद र पीडितलाई ८ लाख रूपैयाँ क्षतिपूर्ति भराउने फैसला गरेको हो ।
Facebook Comment
Comment