राष्ट्रपति भण्डारीको ७ वर्ष : केही विवाद केही हस्तक्षेप

राष्ट्रपति भण्डारीको ७ वर्ष : केही विवाद केही हस्तक्षेप

२०७२ साल कात्तिक ११ गते नेपालको व्यवस्थापिका–संसदबाट पहिलो महिला राष्ट्रपतिमा निर्वाचित भएकी हुन् विद्यादेवी भण्डारी। त्यतिबेला उनी विश्वकै २६औं महिला राष्ट्रपतिको रूपमा निर्वाचित भएकी थिइन्।

पहिलो कार्यकालमा खासै विवादमा नपरेकी राष्ट्रपति भण्डारी २०७४ फागुन २९ मा दोस्रो कार्यकालका लागि निर्वाचित भइन् । उनी राष्ट्रपति निर्वाचित भएको घोषणा, पूर्व छापामार पृष्ठभूमि हुँदै संसदको सभामुख भएकी अर्की महिला ओनसरी घर्तीले गरेकी थिइन्।

भण्डारीले ०७४ फागुन ३० गतेदेखि राष्ट्रपति पदको दोश्रो कार्यभार सम्हाल्दै आएकी हुन्। दुई दिनपछि उनको पदावधि सकिँदै छ । नयाँ राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित भइसकेका छन्।

राष्ट्रपति हुनुअगाडि नेकपा एमाले पार्टीकी उपाध्यक्ष एवं महिला संगठनको प्रमुख रहेकी भण्डारीले राष्ट्रपति निर्वाचित भएपछि पनि एमाले पार्टीमा आफ्नो पकड भने कायम राख्न सफल भएको देखिन्छ ।

राष्ट्रपति भण्डारी पार्टीको साधारण सदस्यसमेत नहुँदा पनि पार्टीमा हस्तक्षेप गर्न र आफ्नो पक्षकालाई ‘सेटिङ्ग’ मिलाउन कति खप्पिस हुन भन्ने कुरा केही घट्नाक्रमले पनि पुष्टि गर्दछ।

उनका केही सिलसिलेवार घटना क्रमलाई हेरौं।

पहिलो हस्तक्षेप

राष्ट्रपति भण्डारीले पार्टीमा रहँदा कहिल्यै सुमधुर सम्बन्ध नरहेको र सधैं मनमुटाव चलिरहने पार्टी नेतृ अष्टलक्ष्मी शाक्यलाई बागमती प्रदेशको पहिलो मुख्यमन्त्री बन्नबाट २०७४ माघ २९ गते रोक्न सफल भइन् ।

शाक्यको ठाउँमा आफ्नो पक्षका डोरमणि पौडेललाई मुख्यमन्त्री बनाइन्। पौडेलभन्दा सिनियर र चर्चामा रहेका शाक्य, राजेन्द्र पाण्डे र केशव स्थापितलाई उनले सहजै पाखा लगाइन्।

त्यही खुसीमा शीतलनिवासमा पार्टी अध्यक्ष समेतलाई बोलाएर डिनर खुवाइन्। शाक्य मुख्यमन्त्री भएमा मन्त्रीचाहिँ पाउँछु होला भन्ने कसरतमा रहेका पौडेललाई राष्ट्रपति भण्डारीले नै रातारात उम्मेदवार खडा गरेको एमालेकै नेताहरू बताउँछन्।

दोस्रो हस्तक्षेप 

नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकता हुँदा एमाले नेता माधव नेपाललाई घटुवा गर्न राष्ट्रपति भण्डारी खुलेरै लागेको चर्चा पनि राजनीतिक वृत्तमा छ । पार्टी एकतामा केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड अध्यक्षद्वय पछिको वरीयतामा नेपालको वरीयता घटुवा गर्दै वरिष्ठ नेतामा झलनाथ खनाललाई ल्याइएको थियो।

त्यसरी बदला लिनुको कारण पनि रोचक छ। ०६६ सालमा माधव नेपाल प्रधानमन्त्री हुँदा भण्डारीले गृहमन्त्री दाबी गरेकी थिइन् ।

तर, प्रधानमन्त्री नेपालले भीम रावललाई गृहमा लगेर भण्डारीलाई रक्षामन्त्री बनाए। त्यतिबेलाको ‘रिस’ को बदला लिँदा माधव नेपाल घटुवामा परेको नेताहरूको दाबी छ।

तेस्रो हस्तक्षेप आफ्नै लागि

०७४ फागुन २३ गते तत्कालीन एमालेको स्थायी समिति बैठक बस्दै थियो । तत्कालीन पार्टी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले राष्ट्रपतिमा झलनाथ खनालको नाम प्रस्ताव गरिन् । त्यो बैठक ७ घण्टा चल्यो । तर,खनालको नाममा सहमति भएन ।

राष्ट्रपतिमा नदोहो याउने भए सक्रिय राजनीतिमा आउने ‘धम्की’ भण्डारीको तर्फबाट आएपछी ७ घन्टाको छलफलले भण्डारीलाई दोहो¥याउने सहमति जुटायो ।

चौथो हस्तक्षेप 

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली सिंगापुर उपचारमा निस्केका बेला प्रचण्डले बोलाएको नेकपा सचिवालय बैठक राष्ट्रपति भण्डारीसँगको परामर्शपछि मात्रै बसेको थियो ।

राष्ट्रपति भण्डारीले ओलीको अनुपस्थितिमा नेकपामा प्रचण्डले कुनै निर्णय लिन नसकून् भनेर यो बैठकमा केही नेताहरूलाई चनाखो हुन भनेको एक नेताले खुलाएका छन्।

पाँचौं हस्तक्षेप

नेपालमा चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका बेला राष्ट्रपति भण्डारीले सोल्टी होटेलको रात्रिभोजमा गएर चीनको पक्षमा ‘कार्यकारी राष्ट्रपति’ नै उभिएजसरी भाषण गरिन् । त्यो बेला धेरैले त्यसको आलोचना पनि गरे ।

‘सी विचारधारा नयाँ युगको विश्व दर्शन बनेको छ’ उनले भनेकी थिइन्। उनको भाषण गैरकूटनीतिक र दलीय आग्रहको अभिव्यक्ति जस्तै भनेर टिप्पणीसमेत गरिएको थियो।

छैटौं हस्तक्षेप 

नेकपा कालमा पार्टीभित्र उपगुट चलाउनेदेखि सरकारी नियुक्तिमा समेत राष्ट्रपति भण्डारीले चासो लिने गरेको नेकपा कालका एक केन्द्रीय सदस्य बताउँछन्।

राष्ट्रपति भण्डारीले धर्मकान्त बाँस्कोटालाई त्रिवि उपकुलपति नियुक्त गराएकोदेखि २०७६ पुसमा नेपाल पर्यटन बोर्डको सीईओ दीपकराज जोशीको कार्यकाल सकिएपछिको नियुक्तिमा समेत उनको हस्तक्षेप थियो।

सातौं हस्तक्षेप

मन्त्री र मुख्यमन्त्रीमा समेत राष्ट्रपतिको हस्तक्षेप हुने गरेको तथ्य पनि छ । एकपटक उनको भाञ्जी बुहारी नाता पर्ने खतिवडा थरकी उद्योग सचिवले शीतल निवासकै आडमा मदिरा उद्योग सञ्चालनसम्बन्धीको विधेयक विभागीय मन्त्रीको जानकारी विनै अगाडि बढाउको तथ्य पनि सार्बजनिक भएको थियो ।

यस्तै थममाया थापा मगर मन्त्री बन्ने कुरा,गण्डकीमा पृथ्विसुब्बा गुरुङ मुख्यमन्त्री बन्ने कुरादेखि राष्ट्रपतिकै कोटाबाट राष्ट्रिय सभा सदस्य हुँदै प्रचण्ड नेतृत्वको पछिल्लो सरकारमा परराष्ट्रमन्त्री भएकी विमला राई पौडेललाई मन्त्री बनाउने कुरामा पनि राष्ट्रपतिको चासो थियो ।

यसैगरी, पार्टी, सरकार र प्रशासनमा हस्तक्षेपबाहेक राष्ट्रपति भण्डारीले धेरै आलोचना पनि खेप्नुपरेको छ । उनको ‘मेरो सरकार’भन्ने अभिव्यक्तिसँगै निर्वाचित प्रधानमन्त्रीले लगेका विधेयक फिर्ता र संसद् भङ्ग गर्ने कुरामा पनि उनी आलोचित बन्दै आएकी थिइन्।

त्यसैगरी, जीवनशैलीको बारेमा पनि उनको आलोचना हुने गरेको छ। मठमन्दिर दर्शनमा जाँदा,संघीय संसदमा जाँदा पनि बेला बेला राष्ट्रपति भण्डारी विवादमा तानिँदै आइन्।

ठूलो र भड्किलो खर्चमा जिल्ला भ्रमण, सामान्य कार्यक्रममा पनि तामझाम सहितको उपस्थिति र पार्टीका कार्यकर्ताले राखेका कार्यक्रममा मर्यादा बिर्सेर पुग्ने कुरा पनि उनको लागि आलोचनाको विषय बन्यो।

जस्तैः जनकपुरको जानकी मन्दिरको पुजा, भक्तपुरको तलेजु मन्दिर दर्शनमा जाँदा गरेको फोटो सेसन (जहाँ मूलचोकको प्रवेशद्वारमै फोटो खिच्न नपाइने सन्देश छ) त्यहाँ ‘तस्वीरका लागि निषेध गरिएको छ’ भन्ने बोर्डमै टाँसिएर राष्ट्रपतिसहितको टोलीले तस्वीर खिचेको थियो ।

त्यसैगरी, राष्ट्रपति भण्डारीका केही अभिव्यक्ति पनि विवादमा आए। जस्तैः राष्ट्रपति भण्डारीले गणेशमान सिंह स्मृतिसम्बन्धी कार्यक्रममा बोल्दा कांग्रेस सभापति शेरबहादुर देउवा रिसाउने अवस्थासमेत आयो ।

‘यो मञ्चमा वक्ताले बोलेको केही बुझिँदो रहेनछ । नेताहरू जोसिएर बोल्नुभयो । फ्लोरबाट एकदम स्वागत भयो, ताली बज्यो । राम्रै बोल्नुभएको होला भन्नेचाहिँ लाग्यो’ भन्दै राष्ट्रपतिले सम्बोधन गरिन् । तर, त्यसभन्दा अगाडि बोल्ने उनै कांग्रेस सभापति देउवाले थिए । त्यसको भोलिपल्टै नेविसंघले विरोध जुलुस निकाल्यो ।

त्यस्तै, राष्ट्रपति भण्डारीलाई प्रदेश प्रमुख बर्खास्ती र नियुक्ति प्रकरणले पनि विवादमा तान्यो । उनले जम्मा आधा घन्टाभित्रै प्रधानमन्त्री केपी ओलीको निर्देशन पालना गरेजस्तै गरी बर्खास्ती गरेकी थिइन्।

यस्तै–यस्तै घटना क्रमले विवादमा तानिए पनि राष्ट्रपति भण्डारीको सात वर्षको कार्यकाल पूरा भइसकेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप विश्लेषण/टिप्पणी

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved