राष्ट्रपति एवं उपराष्ट्रपति उम्मेदवारले ४ लाख मात्रै खर्च गर्न पाउने

बुधबारदेखि आचारसंहिता लागू हुने

नेपालभ्युज

राष्ट्रपति एवं उपराष्ट्रपति उम्मेदवारले ४ लाख मात्रै खर्च गर्न पाउने

काठमाडौं। फागुन २५ मा हुने राष्ट्रपति र चैत्र ३ गते हुने उपराष्ट्रपति निर्वाचनलाई लक्षित गरी भोलि (बुधबार) देखि आचारसंहिता लागू हुने भएको छ।

राष्ट्रपति एवं उपराष्ट्रपति निर्वाचनको लागि खोलिएको निर्वाचन कार्यालयले साँझ ५ बजे राष्ट्रपति उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेपछि बुधबारदेखि ५ चैतसम्म आचारसंहिता लागू हुनेछ । राष्ट्रपतिमा रामचन्द्र पौडल र सुवासचन्द्र नेम्वाङ उम्मेदवार छन्। राष्ट्रपति निर्वाचन सम्पन्न भएपछि उपराष्ट्रपतिको निर्वाचन प्रक्रिया सुरु हुनेछ।

यसैगरी, निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपति पदका उम्मेदवारहरूले गर्ने चुनावी खर्चको सीमासमेत तोकिदिएको छ।

राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐनको दफा ६२ मा मनोनयनपत्र दर्तादेखि परिणाम घोषणासम्मको अवधिमा उम्मेदवारले गर्ने खर्चको सीमासम्बन्धी व्यवस्था छ । त्यस व्यवस्थाअनुसार उम्मेदवारले अधिकतम चार लाखसम्म खर्च गर्न पाउँछन्।

तोकिएको सीमाअनुसार सवारी साधनमा र गोष्ठी तथा अन्तर्क्रियामा १-१ लाख खर्च गर्न पाइने छ । कार्यालय सञ्चालनमा ६० हजार, प्रतिनिधि परिचालनमा ४० हजार, विविधमा २४ हजार, सवारी इन्धन, प्रचार प्रसार सामग्री, अन्य प्रचार-प्रसार, छापा एवम् विद्युतीय माध्यममा २०-२० हजार, ढुवानीमा १५ हजार र मतदाता नामावली खरिदमा १ हजार खर्च गर्न पाइनेछ।

चुनावको नतिजा घोषणा भएको ३० दिनभित्र उम्मेदवारले निर्वाचन आयोगमा खर्च विवरण बुझाउनुपर्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved