कांग्रेस नेताहरूको दाबी- राष्ट्रपतिका लागि प्रधानमन्त्रीजीले बचन दिइसक्नुभएको छ

एमालेमा 'छटपटी'

प्रतिनिधि सभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस राष्ट्रपति पाउनेमा ढुक्कप्राय: हुँदै गएको छ । नेताहरूको दाबी छ— कांग्रेसकै उम्मेदवार राष्ट्रपति बन्छ ।

नेपालभ्युज

कांग्रेस नेताहरूको दाबी- राष्ट्रपतिका लागि प्रधानमन्त्रीजीले बचन दिइसक्नुभएको छ

काठमाडौं । प्रतिनिधि सभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस राष्ट्रपति पाउनेमा ढुक्कप्राय: हुँदै गएको छ । नेताहरूको दाबी छ— कांग्रेसकै उम्मेदवार राष्ट्रपति बन्छ ।

यो दाबी शुक्रबारमात्रै कांग्रेका पूर्वमहामन्त्री प्रकाशमान सिंहले पनि दोहोर्‍याएका थिए । यसपछि नेपालभ्यूजले राखेको जिज्ञासामा पनि उनले भनेका छन्, ‘कांग्रेसकै उम्मेदवार राष्ट्रपतिको उम्मेदवार हुन्छ, र उही राष्ट्रपति बन्छ ।’

त्यसो त कांग्रेस नेताहरू प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपतिका लागि बचन दिइसकेको दाबी गर्छन् । कांग्रेसका एक नेताले नेपालभ्यूजसँग भनेका छन्, ‘प्रधानमन्त्रीजीले राष्ट्रपतिका लागि बचन दिइसक्नुभएको छ । यसमा कांग्रेस ढुक्क छ ।’

प्रधानमन्त्रीले कांग्रेसबाटै राष्ट्रपति बन्ने कुरामा सुनिश्चितता दिनुभएको हो ? भन्ने प्रश्नमा उनले भनेका छन्, ‘राष्ट्रिय सहमतिमार्फत टुङ्गो लगाउने भन्नुभएको छ, उहाँले बचन दिइसक्नुभएको छ मैले यत्ति भनेँ ।’

उसो त कांग्रेसले राष्ट्रपति पाए प्रधानमन्त्रीमा पाँचै वर्ष प्रचण्डलाई नै समर्थन गर्ने सुनिश्चितता प्रदान गरेको छ । कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले भनेका छन्, ‘राष्ट्रपतिमा कांग्रेसको उम्मेदवारलाई समर्थन गर्दा कांग्रेसले पनि प्रधानमन्त्री प्रचण्डलाई दिएको विश्वासको मतलाई पूर्णकालका लागि निरन्तरता दिनेछ ।’

यसलाई प्रधानमन्त्री प्रचण्डको दल नेकपा (माओवादी केन्द्र) का नेताहरूले पनि स्वाभाविक र सामान्यरूपमा लिएको प्रतिक्रिया दिएका छन् । माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा ‘प्रभाकर’ ले कांग्रेसको यो अभिव्यक्तिले दुई दलबीच थप छलफलको वातावरण बनेको बताएका छन् । नेपालभ्यूजसँग शर्माले भनेका छन्, ‘यसले दुई दलबीच तत्‌विषयमा छलफलका लागि थप वातावरण बनेको छ ।’

माओवादी केन्द्रका अर्का एक पदाधिकारीको भनाइ छ— सम्भावना हुँदैन भनेर भन्न सकिँदैन ।

कांग्रेस-माओवादी केन्द्रबीचको निकटताले सत्ता साझेदार दल नेकपा (एमाले) भने सशंकित बनेको छ । यसपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री प्रचण्डमाथि राजनीतिक निगरानी बढाएका छन् । उनले कहिले बालुवाटार पुगेर त कहिले आफ्नै निवास बालकोट बोलाएर प्रधानमन्त्री प्रचण्डसँग वार्ता गरिरहेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved