काठमाडौं । नेपाल क्रिकेट संघ क्यानको आयोजनामा भएको नेपाल टी–२० लिगको विवाद अझै सकिएको छैन । ‘स्पट फिक्सिङ’, ‘लाईभ बेटिङ’ जस्ता विषयमा अनुसन्धान चलिरहेको छ ।
अर्कातिर फिक्सिङ प्रकरणका कारण खेलाडीहरुको पारिश्रमिक र पुरस्कार राशीको विषय ओझेलमा परेको छ । लिग दोस्रो चरणमा पुग्दा खेलाडीले पारिश्रमिक नपाएको भन्दै खेल्नै अस्वीकार गरेका थिए । त्यतिबेला विवाद मिलाएर लिग संचालन गरिएको थियो ।
सम्झौताअनुरूप खेलाडीले प्रतियोगिता सुरु हुनु एक दिन अगाडि ४० प्रतिशत र खेलको दौरान ६० प्रतिशत रकम पाउनुपर्ने थियो। तर लिग सकिएको लामो समयसम्म पनि खेलाडीको पारिश्रमिक र पुरस्कार राशीको विषय समाधान हुन सकिरहेको छैन।
यसबारे उठेको प्रश्नमा क्यानका कार्यवाहक सचिव प्रशान्त विक्रम मल्ल कमर्सियल पार्टनर सेभेन थ्री स्पोर्ट्सका पदधिकारीलाई ताकेता गरिररहेको बताउँछन् ।
उनले भने, ‘लिगमा केहि प्राविधिक समस्याको कारण पारिश्रमिकमा ढिलाईं भएको हो। किनभने विवाद उत्पन्न हुँदा बैंकले खाता ब्लक गर्यो। त्यो समस्या एक दुई दिनमा समाधान हुने र यो हप्ताभित्र कसैको पुरै त कसैको ६० प्रतिशतसम्म पारिश्रमिक उपलब्ध हुनेछ ।’
खेलाडीको पारिश्रमिकका साथै पुरस्कार राशीको पनि अन्योल छ। कसले दिने हो, कहिले सम्म पाउने हो, कुनै ठोस उत्तर छैन। यस विषयमा मल्ल भन्छन्, ‘पुरस्कारको सम्पूर्ण जिम्मेवारी सेभेन थ्री स्पोर्ट्सको थियो। सिक्सर एपको सहयोगमा भनेर पनि घोषणा भएको थियो। त्यसो नगरे त्यो कम्पनीसँग कानुनी लडाई लड्नु पर्ने हुन्छ। उताबाट उपलब्ध गराउने आश्वासन भने पाएका छौँ।’
कम्पनी आरोपित भएपनि क्यानले लाइसेन्स फिको समस्या आउन सक्ने भन्दैँ सम्पर्क नतोडेको मल्लले बताए। बुधबार सेभेन थ्री स्पोर्टसका निर्देशक जतिन आहलुवालिया र अभिषेक सक्लानीले आफूहरु नभागेको भन्दै क्यानलाई जिम्मेवारी सुम्पेर भारत आएको प्रतिक्रिया दिएका थिए ।
सम्झौता अनुरुप अम्पायर तथा एसीयूका अधिकारीको पारिश्रमिक क्यानको जिम्मेवारीमा पर्छ । त्यसबाहेकको व्यवस्था सेभेन थ्री स्पोर्ट्सको रहेको मल्लले बताए। सेभेन थ्री स्पोर्ट्ससँग ३० प्रतिशत पहिले नै पाउने र बाँकी ७० प्रतिशत रकम खेल हुन एकदिन आगाडि पाउने भनेर क्यानले सम्झौँता गरेको थियो।
क्यानका अध्यक्ष चतुरबहादुर चन्दले भने, ‘पुस ७ गते क्यानले रकम नपाएपछि, सेभेन थ्री स्पोर्ट्ससँग अर्को सम्झौँता भएको थियो । जसमा पुस ९ गते लिग संचालन भएको दशौँ दिनमा क्यानलाई सम्पूर्ण रकम उपलब्ध गराउने उल्लेख गरिएको थियो। यदि गर्न नसकेको खण्डमा भने ८ वर्षे रकम स्वतः खारेज हुने बुँदा रहेको छ। सोही अनुरुप हामी प्रक्रियामा जानेछौँ।’
सेभेन थ्री स्पोर्टससँगको सम्झौँताले खेलाडी मात्र नभई क्यान आफै पनि पीडित भएको देखिन्छ। स्पट फिक्सिङले दुषित भइरहँदा खेलाडी भने मौनतापूर्वक पारिश्रमिकको पर्खाईंमा देखिन्छन्।
Facebook Comment
Comment