काठमाडौं। विश्वकप फुटबलको नकआउट खेलमा आज जापान र क्रोएसिया भिड्दै छन्। अल जनुब रंगशालामा हुने खेलमा जापान र क्रोएसिया नेपाली समयअनुसार राति पौने ९ बजे आमने सामने हुनेछन्।समूह ईको विजेता बन्दै जापान नकआउट चरणमा पुगेको हो। क्रोएसिया समूह एफको उपविजेता बन्दै अन्तिम १६ मा पुगेको हो।
यसअघि, जापान र क्रोएसियाबीच ३ खेल भएका छन्। जसमा १ मा जापान र १ मा क्रोएसिया विजयी भएका छन्। बाँकी १ खेल भने बराबरीमा सकिएको छ।
कतार विश्वकपमा सन् २०१८ को उपविजेताको रूपमा प्रस्तुत भएको क्रोएसिया उग्ररूपमा प्रस्तुत हुन बाँकी नै छ। कप्तान लुका मोड्रिचले इवान पेरिसिक र डेजान लोभरेनसँगको राम्रो साझेदारीले क्रोएसिया समूह चरण पुग्न सफल भयो। यस्तै तयारी क्रोएसियाले जापानविरुद्ध पनि गरेको देखिन्छ।
समूह चरणमा जापानले जर्मनी र स्पेनलाई आश्चर्यमा पार्न सफल भयो । जापानले आफ्नो पहिलो ३ खेलमा समान रणनीति प्रयोग गरेको छ। पहिलो हाफमा डिफेन्सलाई जोड दिने, दोस्रोमा भने जापान आक्रमक रूपमा प्रस्तुत हुँदै आएको छ। क्रोएसियाविरुद्धको खेलमा जित निकाल्न भने जापानले केही पृथक रणनीति अपनाउनुपर्ने हुन्छ।
जापानको डिफेन्ससामु स्पेन र जर्मनीले धैर्यता गुमाएको पनि देखिएको थियो। क्रोएसियाले भने धैर्यतापूर्वक निरन्तर आक्रमण गरेर जापानको डिफेन्सलाई कमजोर बनाउन पर्ने देखिन्छ।
विगतको खेलहरूमा जापान रणनीतिक रूपले बलियो रूपमा प्रस्तुत हुँदै आएको छ । जापानका काउरु मितोमा र रित्सु डोन पनि फर्वाडमा तीव्र गतिलाई निरन्तरता दिइरहेका छन्।
जापानी प्रशिक्षक हाजिमे मोरियासु स्बस्टिच्युट र रणनैतिक फेरबदलको लागि लोकप्रियता कमाइरहेका छन्।
जापानले कतार विश्वकपमा गरेको ४ गोलमध्ये ३ गोल स्ब्स्टिच्युटका रुपमा मैदान प्रवेश गर्ने खेलाडीले गरेका छन्। चौथो गोलमा पनि स्बस्टिच्युट मितोमाको पासले महत्त्वपूर्ण भूमिका खेलेको थियो। जापानी प्रशिक्षक मोरियासुले मैदानमा आफ्नो खेलाडीहरू बेसबलमा जस्तै ‘स्टाटर्स्, रिलिभर्स र क्लोजर्स्’ को भूमिकामा खेल्ने गरेको पनि जनाएका थिए।
स्पेनविरुद्धको खेलमा पहेँलो कार्ड पाएका डिफेन्डर कोउ इटाकुरको स्थानमा भने अर्को खेलाडी आउन सक्छन्। यता, नियमित रूपमा खरो रुपमा उत्रिँदै गरेका हिरोकी सकाइ र ताकेहिरो तोमियासु पनि जापानको स्तम्भका रूपमा रहेका छन्।
यता, सन् २०१८ को उपविजेता क्रोएसिया भने आफ्नो साख जोगाउन चाहन्छ। २ गोलरहित बराबरी र क्यानडामाथि ४–१ को जितले अन्तिम १६ मा पुगेको क्रोएसियाको चुनौतीपूर्ण रुप देख्न बाँकी नै छ।क्रोएसियाको बलियो पक्ष नै अनुभवी खेलाडी र युवा खेलाडीको मिश्रण हो।
कप्तान लुका मोड्रिचको नेतृत्वमा टोलीबीचको साझेदारी र सहजता मैदानमा देख्न सकिन्छ। साथै, टोलीको एकाग्रता पनि जापानको लागि चुनौती हुन सक्छ। तथापि, पाएको अवसरलाई गोलमा परिणत गर्न भने क्रोएसिया अग्रसर हुनुपर्ने देखिन्छ।
यता, विश्वकपको उपाधि जितिसकेका जर्मनी र स्पेनलाई पराजित गरेको जापान भने उच्च मनोबलको साथ मैदानमा प्रतिस्पर्धा गर्नेछ। पहिलो पटक पूर्व संस्करणका विजेतालाई पराजित गर्दै इतिहास रचेको जापान थप कीर्तिमान थप्न चाहन्छ।
Facebook Comment
Comment