निर्वाचित भएपछि सोबिता भन्छिन्, ‘प्रदेशको संरचना भद्दा भयो’

'सोबितालाई किन जिताएछौँ भन्ने बनाउँदिनँ'

‘यो ५ वर्षमा घण्टीलाई भोट दिँदा खेर जाँदैन रहेछ भन्ने दृष्टान्त निर्माण गर्छु । हामी नीतिगत भ्रष्टाचारको विषयलाई पनि मुख्यरूपमा उठाउँछौँ’

नेपालभ्युज

निर्वाचित भएपछि सोबिता भन्छिन्, ‘प्रदेशको संरचना भद्दा भयो’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अहिले अचम्मले उदाएको छ । अब यसपछि उसको अवस्था कस्तो हुन्छ, त्यो यही संसदीय कार्यकालभित्र देखिएला नै । तर, अहिलेको चुनावी परिणामले धेरै सिट नजिते पनि स्वतन्त्रको घण्टीले पुराना दललाई तर्साएको छ ।

अहिलेसम्मको समानुपातिकतर्फ गणना भएको मतसंख्या हेर्ने हो भने रास्वपा तेस्रो स्थानमा छ । असार ७ गतेमात्रै स्थापना भएको रास्वपाले यसबीचको ५ महिनामा ठुलो राजनीतिक प्रगति गरेको देखिएको छ । रास्वपाका उपसभापति डीपी अर्यालले भने, ‘हाम्रो पार्टीको पास्नीसमेत गर्नेबेला भएको छैन । तर, यसबीचमा भएको प्रगति हेर्ने हो भने हामी ठूला दलभन्दा कम छैनौँ ।’

हुन पनि यसपटकको चुनावी माहोल यस्तै देखिएको छ । अहिलेसम्म यो पार्टीले ३ स्थानमा जितिसकेको छ भने ५ स्थानमा अग्रता कायम गरिरहेको छ । १३१ स्थानमा उम्मेदवारी दिएको रास्वपाले अझै धेरै क्षेत्रहरूमा जित हात पार्ने दाबी उपसभापति अर्यालको दाबी छ ।

संघीयताबारे त्यत्ति नखुलेको रास्वपाले प्रदेश सभा सदस्यका लागि भने उम्मेदवारी दिएको थिएन । यही सन्दर्भमा गरिएको प्रश्नमा काठमाडौं २ बाट निर्वाचित सोबिता गौतम भन्छिन्, ‘प्रदेश संरचना भद्दा भयो ।’

जितेपछि जडिबुटीको मजेस्टिक बैंक्वेटमा आयोजित पत्रकार सम्मेलनमा सोबिताले भनिन्, ‘प्रदेश संरचनाबारे पार्टीको अबका बैठकले थप धारणा बनाउला/सार्वजनिक गर्ला । तर, हामीले प्रदेश संरचना बढी भद्दा भयो भनेरै त्यहाँ उम्मेदवार दिएको छैनौँ । तर हामीले भनेका छौँ कि, संवैधानिक समाजवादलाई स्वीकारेका छौँ ।’

‘सोबितालाई किन जिताएछौँ भन्ने बनाउँदिनँ’

सोबिता आफूले काठमाडौं २ का मतदाताहरूको समस्याको दीर्घकालीन समाधान खोज्ने बताउँछिन् । ‘तपाईंहरूले समस्याको समाधान गर्न सक्ने छोरीलाई जिताउनुभएको छ । अब तपाईंहरू ढुक्क रहनुस् सोबिता गौतमले काठमाडौं २ का मतदाताहरूको समस्याको दीर्घकालीन समाधान खोज्छ ।’

त्यसअघि उनले भनिन्, ‘सोबितालाई किन जिताएछौँ भन्नेचाहिँ बनाउँदिनँ । पाँच वर्षमा घण्टीलाई भोट हाल्दा खेर जाँदैन रहेछ भन्ने दृष्टान्त निर्माण गर्ने प्रण सोबिताको छ, भन्छिन्— ‘यो ५ वर्षमा घण्टीलाई भोट दिँदा खेर जाँदैन भन्ने बनाउँछौँ ।’

आफूहरूले संसद्‌मा खासगरी जनजीविकाकै कुरा उठाउने सोबिताले बताइन् । उनले भनेकी छन्, ‘त्यससँगै हामी नीतिगत भ्रष्टाचारको विषयलाई मुख्यरूपमा उठाउँछौँ ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप फिचर

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved