एकपक्षीय समाचार सम्प्रेषण नगर्न प्रेस काउन्सिलको ध्यानाकर्षण

नेपालभ्युज

एकपक्षीय समाचार सम्प्रेषण नगर्न प्रेस काउन्सिलको ध्यानाकर्षण

काठमाडौं ।  प्रेस काउन्सिल नेपालले निर्वाचन केन्द्रित समाचार तथा विज्ञापनहरू एकपक्षीय रूपमा सम्प्रेषण नगर्न आग्रह गरेको छ ।

सोमबार काउन्सिलले जारी गरेको प्रेस विज्ञप्तिमा सञ्चार माध्यमलाई निर्वाचनको प्रचारप्रसारको क्रममा निर्वाचनमा सहभागी राजनीतिक दलका आमसभा/भेलाजस्ता कार्यक्रम चलिरहेको अवस्थामा यस्ता कार्यक्रमको समाचार एकपक्षीय रूपमा सम्प्रेषण नगर्न भनिएको हो ।

सञ्चार माध्यमबाट राजनीतिक दल तथा उम्मेदवारको मत आह्वान विज्ञापनहरू प्रकाशन/प्रसारण गर्दा निर्वाचन आचारसंहिताबमोजिम सो विज्ञापनमा सःशुल्क भएको जनाउ दिनुपर्नेमा ध्यानाकर्षण गरेको छ । काउन्सिलले आफ्नो अधिकार क्षेत्रभित्र रहेर गरिएका कतिपय अनुगमन, कारबाही, अपिलजस्ता विषयलाई अन्यथा रूपमा नबुझ्न सम्बन्धित पक्षलाई आग्रह पनि गरेको छ ।

‘प्रेस काउन्सिल नेपाल स्वस्थ, स्वतन्त्र र उत्तरदायी पत्रकारिताको विकास तथा सम्वर्द्धनका लागि कटिवद्ध रहि आफ्नो अधिकार क्षेत्रभित्र रहेर गरिएका कतिपय अनुगमन, कारबाही, अपिलजस्ता विषयलाई अन्यथा रूपमा नबुझ्न र भ्रमपूर्ण तवरले प्रचार–प्रसार नगर्न प्रेस काउन्सिल नेपाल सरोकारवाला पक्षहरूसँग अनुरोध गर्दछ’ काउन्सिलका प्रवक्ता एवं सूचना अधिकारी रामशरण बोहोराद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

निर्वाचन आचारसंहिता, २०७९ को दफा २५ (घ) मा ‘राजनीतिक दल वा उम्मेदवारको निर्वाचन प्रचारप्रसारको लागि निःशुल्क विज्ञापन प्रकाशन, प्रसारण वा सम्प्रेषण गर्न नहुने’ र २५(ङ) मा दफा १५ बमोजिम राजनीतिक दल वा उम्मेदवारको निर्वाचनसम्बन्धी विज्ञापन प्रकाशन, प्रसारण वा सम्प्रेषण गर्दा सो विज्ञापनमा सःशुल्क भएको जनाउ दिनुपर्ने’ व्यवस्था रहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved