अमेरिकाले आफूले आफैँलाई एक दुविधामा फसाएको छ । अमेरिका एकसाथ चीन र रुससँग टक्कर लिने स्थितिमा आएको छ । अमेरिकी हितमा लागि यी दुवैसँग लड्न जरुरी छ भन्ने कुरा ठीकै हो । तर, यो बिर्सन मिल्दैन कि हामी त्यसका लागि मजबुत धरातलमा उभिएका छैनौं ।
अमेरिका त्यस्ता युद्धहरूमा कहिल्यै अल्झिनु हुँदैन, जसको कुनै अन्त्य हुँदैन । रुससँग अमेरिकाको संघर्ष त्यस्तै हो । जगजाहेर छ, अमेरिका–रुस तनाव तीव्रतापूर्वक हिंस्रक संघर्षतिर जाँदै छ । अमेरिकाले युक्रेनलाई स्मार्ट क्षेप्यास्त्र र जासुसी संयन्त्र उपलब्ध गराइरहेको छ । युक्रेनलाई अमेरिकी सहयोगको अर्थ युक्रेनीहरूले त्यहाँबाट रुसीहरूलाई खेद्न सकून् भन्ने नै हो ।
युक्रेनीहरू जसरी लड्दै छन्, त्यो अभिनन्दन गर्न योग्य छ । तर, यो कुरा भुल्न हुँदैन कि अमेरिका र नेटोको सहयोगविना युक्रेन यसरी टिक्न सक्दैनथ्यो । यो कुरा रुसीहरूले पनि राम्रो बुझेका छन् । तर, यो लडाईं कहिले अन्त्य होला ? यसको जवाफ त कसैले दिन सक्दैन ।
यस आलेखको मुख्य विषय भने अमेरिका–चीन तनाव हो । अमेरिका–रुस तनाव युद्धस्तरमै देखिने खालको छ । तर, चीनसँगको तनाव नदेखिने र शस्त्र प्रयोग गर्न नमिल्ने खालको छ । अमेरिका–चीनको लडाइँ दोस्रो प्रकारको मोर्चा हो । यो दोस्रो मोर्चाको युद्धले अहिलेको विश्व शक्ति सन्तुलनमा त्यति असर पर्दैन तर, रुस–युक्रेन लडाइँको असर पर्नेवाला छ। तर, यसको ताइवानसँग सीधा सम्बन्ध छैन । यो हो– सेमीकन्डक्टर्सको लडाइँ । सूचना क्रान्तिको युगमा यो एक आधारभूत प्रविधि हो।
अब जुन शक्तिसँग सबैभन्दा स्मार्ट चिप्स बनाउने क्षमता हुन्छ, सबैभन्दा स्मार्ट हतियार पनि उसैले बनाउन सक्नेछ । स्मार्ट उद्योगहरू पनि उसैसँग हुनेछन् । स्मार्ट क्वान्टम कम्प्युटिङ उपकरणहरू पनि उसैसँग हुनेछन्। अहिलेसम्म यो मोर्चामा अमेरिका र उसका सहयोगी राष्ट्रहरू नै अगाडि छन । तर, चीन तीव्र गतिले अघि बढिरहेको छ। यस मामिलामा अमेरिका चीनलाई आफ्नो समकक्षमा आएको देख्न चाहँदैन । त्यसैले त यो एक प्रकारको लडाइँ नै हो ।
गतहप्ता बाइडेन प्रशासनले एक नयाँ निर्यात नियम जारी गर्यो, जसको आशय यस्तो थियो कि, चीन अमेरिकाभन्दा मेमोरी–चिप्स तथा अन्य सम्बन्धित उपकरण निर्माणमा कम्तीमा तीन पिंढी पछाडि छ । र यो नियमले यो सुनिश्चित गर्ने छ कि चीन कहिल्यै अमेरिकाको छेउछाउ आइपुग्ने छैन । राष्ट्रिय सुरक्षा सल्लाहकार जैक सुलिवनले यसलाई अझ गज्जबको कुटनीतिक भाषामा भने– ‘कतिपय प्रविधिको प्रकृति नै यस्तो हुन्छ, जस्तो कि एडभान्स लजिक वा मेमोरी–चिप्स, यस मोर्चामा हामीले जति धेरै र जति धेरै बेरसम्म सम्भव हुन्छ– आफ्नो अग्रतालाई कायम राखिरहनुपर्दछ ।’,
चीनसम्बन्धी मामिला र प्रविधि विशेषज्ञ पौल ट्रिओलो भन्छन्–‘ एक प्रकारले चीनविरुद्ध अमेरिकाले युद्ध घोषणा गर्दिएको छ, त्यो के भने अमेरिकाले चीनलाई आर्थिक सुरक्षा लाभका लागि हाई–परफर्मेन्स कम्प्युटिङसम्बन्धी चीनको क्षमतास्तरलाई ललकारिरहेको छ।’ चिनियाँ दूतावासले त्यसै यसलाई अमेरिकाको ‘साइबर–टेक वर्चश्व’ ठहर गरेको हैन । तर, भन्न सकिन्न, यो लडाइँको पनि सीमा के हो ? कहाँ गएर रोकिन्छ यो ?
चीन आज यस्तो देश भएको छ, जो आफ्नो प्रविधिको उपयोग आफ्नै जनतामाथि नियन्त्रण कायम गर्न र बाँकी विश्वलाई आफ्नो ताकत देखाउँनका लागि गर्दछ । तर, अमेरिकाले फेरि पनि यो बिर्सन हुन्न कि । यदि, हामीले चीनलाई उन्नत प्रविधि निर्यात गर्न अस्वीकार गर्यौँ भने जलवायु परिवर्तन र साइबर अपराधजस्ता मुद्दामा चीनसँग कुनै प्रकारको सहयोग र सहकार्यको अपेक्षा गर्न सकिन्न । यी यस्ता मुद्दा हुन्, जसमा अमेरिका र चीन मिले भने मात्र केही सार्थक काम गर्न सकिन्छ ।
यो नयाँ निर्यात नियमअनुसार अमेरिकाले चीनलाई उन्नत प्रविधिको सेमिकन्डक्टर्स उपलब्ध गराउने छैन । साथै, अमेरिकी इन्जिनियर र वैज्ञानिकहरूले व्यक्तिगत तबरमा समेत सरकारको विना अनुमति चीनलाई चिप्स उत्पादनमा सहयोग गर्न मिल्दैन । वाइडन प्रशासनले एक विदेशी प्रत्यक्ष उत्पादन नियम पनि बनाएको छ। त्यसअनुसार कम्पनीहरूले अमेरिकी प्रविधिमा आधारित हार्डवेयर र सप्टवेयरहरू चिनियाँ कम्पनीहरूलाई आपूर्ति गर्न सक्ने छैनन्।
उन्नत सेमीकन्डक्टर्सको निर्माण एक जटिल तर सर्वलाभकारी साझेदारीअन्तर्गत गर्ने गरिन्छ । यसमा अमेरिकादेखि युरोप र एसियासम्मका कम्पनीहरू सहभागी हुन्छन् । यद, अमेरिकाले यस्ता कठोर प्रतिबन्धहरू लगायो भने कम्पनीहरूले त्यसको डिजायन र उत्पादनका लागि आवश्यक पार्टपुर्जा पर्याप्त विकास र उपलब्ध गराउन सक्ने छैनन्।
ताइवानका सेमी कन्डक्टर्स उत्पादन कम्पनीहरू यस क्षेत्रमा अब्बल ठहरिनुको अर्थ आन्तरिक व्यापार गोप्यतामा उनीहरूको पहुँच हो । यो कुरा यसका सबै साझेदार र सहयोगीहरूलाई थाहा छ। यसको उपयोग अन्तिम वस्तुलाई अझ उन्नत बनाउनका लागि हुन्छ।
यसरी अमेरिका रुससँग पहिलो मोर्चाको युद्धमा छ भने चीनसँग दोस्रो मोर्चाको । दुवैलाई एक साथ सामना गर्नु अमेरिकाका लागि त्यति सहज भइरहेको छैन।
न्युयोर्क टाइम्सबाट अनुदित
Facebook Comment
Comment