इरानले खोल्यो हवाई क्षेत्र

नेपालभ्युज

इरानले खोल्यो हवाई क्षेत्र
तस्वीर स्रोत - इरना

काठमाडौं । इरानले इजरायलसँगको युद्धका कारण जुन १३ मा बन्द गरिएको आफ्नो हवाई क्षेत्र पुनः खोलेको छ ।

“मेहराबाद र इमाम खोमेनी विमानस्थलहरूका साथै देशको उत्तर, पूर्व, पश्चिम र दक्षिणका विमानस्थलहरू पुनः सञ्चालनमा ल्याइएको छ र उडान सेवाहरू प्रदान गर्न तयार छ”, आधिकारिक इरना समाचार एजेन्सीले भनेको छ ।

इस्फहान र तब्रिज विमानस्थल बाहेक देशका सबै विमानस्थलबाट घरेलु र अन्तर्राष्ट्रिय उडानहरू स्थानीय समयानुसार शुक्रबार बिहान ५ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन गरिने अधिकारीहरूले बताएका छन् ।

साथै, इस्फहान र तब्रिज विमानस्थलको पूर्वाधार तयार भएपछि यी दुई विमानस्थल पनि देशको हवाई यातायात नेटवर्कमा सामेल हुनेछन् ।

यसैबीच, संयुक्त राज्य अमेरिकाले गत महिना इजरायल र इरानबीच युद्धविराम लागू भएपछि इरानी तेल निर्यातविरुद्ध बिहीबार नयाँ प्रतिबन्धको शृङ्खला जारी गरेको अल जजिराले जनाएको छ ।

प्रतिबन्धले लक्षित गर्नेहरूमध्ये इराकी व्यापारी सलिम अहमद सइद र उनको संयुक्त अरब इमिरेट्समा आधारित कम्पनी पनि छन् । सइदमाथि अमेरिकाले इराकी तेलमा मिसाएर इरानी तेल तस्करी गरेको आरोप लगाएको छ ।

यस वर्षको जुनमा इजरायल र अमेरिकाले हवाई आक्रमणको लहर सुरु गरेपछि इरानले आफ्नो हवाई क्षेत्र पूर्ण रूपमा बन्द गरेको थियो । इजरायल र अमेरिकाले आक्रमण गरेपछि इरानले जवाफी क्षेप्यास्त्र प्रहार गरेको थियो ।

इजरायलले जुन १३ मा इरानमाथि गरेको लक्षित आक्रमणमा शीर्ष इरानी सेना र सुरक्षा अधिकारीहरू मारिएका थिए । सोही दिन इरानले इजरायली कब्जामा रहेका क्षेत्रहरूमा क्षेप्यास्त्र र ड्रोनद्वारा लक्षित गरी जवाबी कारबाही गरेको थियो ।

जुन २२ मा अमेरिका इजरायली अभियानमा सामेल भयो र तीन इरानी आणविक सुविधाहरू–नातान्ज, इस्फहान र फोर्डोमा आक्रमण गर्‍यो ।

त्यसको एक दिनपछि इरानले कतारमा रहेको अमेरिकी वायु सेनाको केन्द्रीय कमान्डको मुख्यालय पश्चिम एसियामा रहेको अमेरिकाको सबैभन्दा ठूलो सैन्य अड्डामा क्षेप्यास्त्र प्रहार गरेर जवाफ दियो । त्यसको एक दिनपछि जुन २४ मा दुई देशबिच युद्धविराम भएको थियो ।

यसैबीच, पेन्टागनले हालैको मूल्याङ्कनमा इरानको आणविक सुविधाहरूमा अमेरिकी आक्रमणपछि आणविक हतियार निर्माण गर्ने इरानको क्षमता ‘दुई वर्षको नजिक’ रहेको बताएको छ ।

पछिल्लो गुप्तचरले के देखाउन सक्छ भनेर सोधिएको प्रश्नमा पेन्टागनका प्रमुख प्रवक्ता सीन पार्नेलले पेन्टागन ब्रिफिङमा पत्रकारहरूलाई इरानको आणविक साइटहरू ‘पूर्ण रूपमा नष्ट’ भएकोमा प्रशासनको स्थिति अपरिवर्तित रहेको बताएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved