बुटवल । नेकपा (माओवादी केन्द्र) लुम्बिनीका नेता तथा कार्यकर्ताहरूले रुपन्देहीको शुद्धोधन गाउँपालिका–३ वेतहीका शहीद रमेश यादवको परिवारको खेतमा धान रोपेर राष्ट्रिय धान दिवसको अवसर मनाएका छन् ।
माओवादी केन्द्र लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालको नेतृत्वमा आयोजित रोपाइँ कार्यक्रममा केन्द्रीय सदस्यहरू रामु परियार, मक्सुद अली, देवेन्द्र पाण्डे, संविधानसभा सदस्य शारदा घिमिरे, वाईसीएलका केन्द्रीय उपाध्यक्ष माधव बस्नेतसहित जिल्लास्तरीय नेता तथा कार्यकर्ताहरू सहभागी थिए । कार्यकर्ताहरूले दिनभर १० कठ्ठा खेतमा धान रोपेका थिए ।

पार्टीका रुपन्देही संयोजक नारायण जिसीले श्रमसँग पार्टीको सम्बन्धलाई सुदृढ गर्दै शहीद परिवारप्रतिको सम्मान स्वरूप यो अभियान चलाइएको बताए ।
रोपाइँ कार्यक्रमले शहीद परिवारलाई सघाउने मात्र नभई, नेताहरूलाई शहीद परिवारको पिरमर्का नजिकबाट बुझ्ने अवसर जुटाइदिएको उनले बताए । श्रममा संलग्न नेता तथा कार्यकर्ताहरूको सहयोगप्रति शहीद यादवको परिवारले खुसी व्यक्त गरेको छ ।

शहीद रमेश यादवको २०६२ सालमा हत्या गरिएको थियो ।
Facebook Comment
Comment