किलोकै ३ लाखभन्दा बढी पर्ने ‘ताईयो नो टोमागो’ आँप

नेपालभ्युज

किलोकै ३ लाखभन्दा बढी पर्ने ‘ताईयो नो टोमागो’ आँप
तस्वीर - नेपाल फोटो लाइब्रेरी

काठमाडौं । तीनदिने ‘नेपाल म्याङ्गो फेस्ट २०२५’ मा अत्यन्तै महंगो ‘ताईयो नो टोमागो’ जातको आँप पनि प्रदर्शनीमा राखिएको छ ।

उक्त आँपको मूल्य नै प्रतिकिलो ३ देखि ४ लाख रुपैयाँसम्म पर्ने बताइएको छ । यससँगै उक्त आँपको चर्चा हुन थालेको छ । उक्त आँप के हो ? कस्तो हो भनेर खोजी हुन थालेको छ ।

के हो ताईयो नो टोमागो आँप ?

ताईयो नो टोमागो आँपलाई मियाजाकी आँप पनि भनिन्छ । यो जापानको क्युशु टापुको मियाजाकी प्रिफेक्चरमा उत्पादन हुन्छ । यसलाई संसारकै सबैभन्दा महंगो आँपका रूपमा चिनिन्छ ।

चम्किलो रातो बाहिरी भाग, अत्यधिक गुलियो स्वाद र उत्कृष्ट बनावटका कारण यस आँपलाई ‘ताइयो नो तामागो’ अर्थात् ‘सूर्यको अण्डा’ भनेर चिनिन्छ ।

मियाजाकी आँपलाई जापानमा विलासी फलफूलका रूपमा लिइन्छ । उक्त आँपहरू अत्यन्तै उच्चस्तरको प्रविधि, कडाइका साथ पालना गरिने गुणस्तर मापदण्ड र वातावरणमैत्री तरिकाबाट विशेष गरी हरितगृह (greenhouse) मा उत्पादन गरिन्छ ।

जापानमा आँपको आगमन मेइजी युग (१८६८–१९१२) मै भएको मानिन्छ, मियाजाकीमा आँपको व्यावसायिक खेती भने १९८० को दशकदेखि मात्र सुरु भएको हो ।

प्रारम्भिक किसानहरूले विशेष प्रविधिबाट एक–एक आँपलाई जालीमा राखेर रुखबाट आफैँ झर्ने समयसम्म पर्खिने अभ्यास सुरु गरेका थिए ।

मियाजाकी आँपको मूल स्रोत अमेरिका हो । तर, जापानी किसानहरूले यसलाई परिष्कृत गर्दै एक विलासी ब्रान्डमा रूपान्तरण गरेका छन् ।

खेतीमा मधुमक्खी भाडामा लिएर परागण गराउने, हरितगृहमा तापक्रम र हावापानीको नियन्त्रण गर्ने, प्रत्येक आँपलाई समान घाम लाग्ने गरी समायोजन गर्ने र नियमित मलपानीको व्यवस्थापन गर्ने गरिन्छ ।

रोचक कुरा के छ भने ‘ताइयो नो तामागो’ ब्रान्डको आँप हुन विशेष मापदण्ड पूरा गर्नुपर्छ । जसमा तौल ३५० ग्रामभन्दा बढी, चिनीको मात्रा १५ प्रतिशत वा सोभन्दा बढी, आकार, रंग र बनावट पूर्ण रूपमा आकर्षक हुनुपर्छ ।

यी मापदण्ड पूरा गर्ने आँपहरू हरेक वर्ष अप्रिल महिनामा लिलामीमा राखिन्छ । जापानको मियाजाकी बजारमा यस्ता आँपहरूको जोडी कहिलेकाहीँ ४ हजार अमेरिकी डलरसम्ममा बिक्री हुने गरेको छ ।

स्वादमा अब्बल

ताईयो नो टोमागो आँपको स्वाद अरु आँपभन्दा धेरै फरक हुन्छ । जापानको मियाजाकी पर्यटन संघका अनुसार उक्त आँप अत्यन्तै रसिलो, क्रिमी बनावटयुक्त र मीठो स्वादका कारण अत्यन्तै विशिष्ट मानिन्छन् ।

जापानमा महंगो फलफूल उपहार दिने परम्परा छ, विशेषतः गर्मी र जाडोमा हुने दुई मुख्य उपहार सिजनमा । यो परम्परा शिन्तो र बौद्ध संस्कृतिसँग जोडिएको मानिन्छ, जहाँ फलफूल पूर्वज वा देवी–देवताका लागि चढाउने गरिन्छ । ‘ताइयो नो तामागो’ आँप यस्ता मौकामा आदरप्रदर्शक उपहारका रूपमा दिइन्छ ।

कसरी खानु उपयुक्त ?

यी आँपहरू प्रायः काँचो हुँदा काटेर खाने गरिन्छ । यसबाहेक उच्चस्तरीय रेस्टुरेन्टहरूमा यी आँप प्रयोग गरी विशेष परिकार बनाइन्छ – जस्तैः पार्फे, माउस, पन्ना कोट्टा आदि । स्वादको विशेषता जोगाउन प्रायः अन्य तत्वको प्रयोग अत्यन्तै न्यून गरिन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved