कोशीले जता लखेट्छ, उतै घर सार्न बाध्य

पूर्वमा कञ्चनजंघादेखि पश्चिममा लाङटाङ राष्ट्रिय निकुञ्जको पूर्वी भागसम्मको पानी कोशीमा बग्छ । कोशीको कुनै पनि जलाधार क्षेत्रमा ठूलो वर्षा हुँदा कोशीमा बाढी आउँछ । कोशीको बाढीसँगै कटान पनि बढ्छ । मनसुनको समयमा जतिखेर पनि बाढी आउने र कटानमा पर्ने जोखिमयुक्त ठाउँमा रहेका कोशी किनाराका बासिन्दाको जोखिम घटाउन कुनै पहल भएको छैन । विपन्न परिवारका उनीहरू कोशीले जता लखेट्छ, हरेक वर्ष उतै घर सारेर बस्न बाध्य छन् ।

कोशीले जता लखेट्छ, उतै घर सार्न बाध्य
कोशी नदी कटान गर्दै घरनजिक आएपछि घर सार्दै पूर्वी टोलका स्थानीय । फाइल तस्वीर

कोशीटप्पु । कोशी नदी किनारको श्रीलंका टप्पुभित्रको पूर्वी टोलमा २०७९ सालतिर बाक्लै बस्ती थियो । सुनसरीको बराहक्षेत्र नगरपालिका–६ मा पर्ने यो पूर्वी टोलको करिब एक किलोमिटर पूर्वमा कोशी बग्थ्यो । कोशी र बस्तीबीचकोे जमिनमा पूर्वी टोलका बासिन्दाले वस्तुभाउ चराउने र खेती गर्थे ।बस्तीभन्दा पश्चिमको जमिनमा पनि स्थानीय बासिन्दाले खेती गर्दै आएका थिए ।

तर, ०७८ सालको मनसुनी वर्षापछि कोशी नदी बस्तीतिर मोडियो । कोशीले बस्तीतिर कटान गर्न थालेपछि स्थानीय बासिन्दाले आफूहरूको घर करिब २ सय मिटर पश्चिमतिर सरिसकेका थिए ।

यसरी बस्ती सार्नेमध्येका एक हुन्, शनिचर कविरथ । कोशी किनारमा बस्दै आएका उनले २०७८ सालअघि पनि आफ्नो घरलाई केही पश्चिम सारेका थिए । जल तथा मौसम विज्ञान विभागले असोज २५ गते मनसुन बाहिरिएको घोषणा गर्दा शनिचरलाई लागेको थियो– अब केही नहोला ।

तर त्यस्तो भएन, मनसुन सकिएपछि पनि कात्तिक पहिलो साता फेरि पानी पर्‍यो । कात्तिकमा भएको वर्षाले कोशीमा बाढी ह्वात्तै बढ्यो । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (National Disaster Risk Reduction And Management Authority -NDRRMA) को मनसुनजन्य विपद् २०७८ : अनुभव, समीक्षा र सिकाइ प्रतिवेदनअनुसार त्यतिबेला कोशी बेसिनमा धेरै वर्षा भएको थियो ।

जल तथा मौसम विज्ञान विभागका अनुसार कात्तिक ३ मा सुनसरीमा २६९.९ मिलिमिटर वर्षा भएको थियो । कात्तिकको वर्षाले कटान गर्दै कोशी अझै पश्चिमतर्फ आएपछि शनिचरले ५ महिनाभित्र दोस्रो पटक घर सारे । शनिचरसँगै त्यहाँका ३ परिवारले पनि पश्चिमतर्फ घर सारेका थिए ।

पूर्वमा कञ्चनजंघादेखि पश्चिममा लाङटाङ राष्ट्रिय निकुञ्जको पूर्वी भाग कोशीको जलाधार क्षेत्र हो । कोशीमा मिसिएका नदीको मुहान तिब्बतमा पनि छ । कोशीको कुनै पनि जलाधार क्षेत्रमा ठूलो वर्षा हुँदा कोशीमा बाढी आउँछ ।

भारत बिहारको जल संशाधन विभागको तथ्यांक अनुसार असोज १३, २०८१ को बिहान ५ बजे कोशी ब्यारेजमा ६ लाख ६१ हजार २ सय ९५ क्युसेक बहाब रेकर्ड भएको थियो । जुन ५६ वर्ष यताकै उच्च र खतराको तहभन्दा निक्कै माथि हो । त्यसअघि अक्टुबर ५, १९६८ (असोज २०, २०२५) मा कोशी ब्यारेजमा ७ लाख ८८ हजार २ सय क्युसेक बहाब रेकर्ड भएको थियो । त्यतिबेला बराहक्षेत्र मन्दिर नजिकको बाढी मापन केन्द्रमा भने ९ लाख १३ हजार क्युसेक पानीको बहाब रेकर्ड भएको थियो ।

बाढी बढेसँगै कोशीले कटान पनि गर्छ । मनसुनको समयमा जतिखेर पनि बाढी आउने र कटानमा पर्ने जोखिमयुक्त ठाउँमा रहेका कोशी किनाराका बासिन्दाको जोखिम घटाउन कुनै पहल भएको छैन । विपन्न परिवारका उनीहरू कोशीले जता लखेट्छ, हरेक वर्ष उतै घर सारेर बस्न बाध्य छन् ।

२०७८ सालको मनसुनमा २ पटक घर सारेका शनिचरका लागि १८ साउन, २०७९ मा अर्को विपद् आइलाग्यो । त्यो दिन कोशीमा बाढी बढेपछि मदन भण्डारी राजमार्गमा पर्ने चतरास्थित कोशी पुलको पश्चिममा उदयपुरको बेलका नगरपालिकाको डुम्री बोटेबाट कटान सुरु भयो । पुलको २ किलोमिटर तल कटान तीव्र पार्दै कोशी करिब ४ दशकअघिको पुरानो धारबाट पनि बग्न थाल्यो ।

कोशीले पश्चिमको धार पक्रिएपछि पूर्वी टोलमा कटान ह्वात्तै बढ्यो । कटान बढ्न थालेपछि पूर्वी टोलका बासिन्दाले आआफ्नो घरको खाँबा खुट्टी निकाल्न थाले । उनीहरूले केही पश्चिमतर्फ रहेको खाली जमिनमा आफ्नो घर सारे । हेर्दाहेर्दै भदौ अन्तिमसम्ममा पूर्वी टोल कोशीको भेलमा मिसियो ।

पूर्वीटोलबाट पश्चिममा सरेकी शकुन्तला चन्द्रवंशी गरैया टप्पुुमा बस्न थालेको २५ वर्षभन्दा बढी भयो । सप्तकोशीले बगाउँदै ल्याएर थुपारेको बालुवाको टापुमा शकुन्तलाले घरखेत गर्दै आएकी छन् ।

शकुन्तलाको अहिले बस्ने घर कोशीको भँगालोभन्दा करिब ४ सय मिटरको दूरीमा छ । तर, उनले खेती गर्दै आएको जमिनलाई कोशीले आफ्नो बनाइसकेको छ । ‘धेरै पहिले कोशीले कटान गरेपछि एक पटक घर सारेको थिएँ,’ उनले भनिन्, ‘त्यसपछि ३ वर्ष लगातार कटान गरेपछि फेरि यहाँ सारेको हुँ ।’

Shakuntala-Rajbanshi-koshi-Flood-NIMJN-1750839803.jpg
शकुन्तला चन्द्रवंशी । तस्वीर : कृष्ण बहाब/निमजिन

२०३९ सालअघि कोशी नदीको मूल भँगालो श्रीलंका टापु हुँदै बग्थ्यो । २०३९ सालमा कोशीले आफ्नो बहाब क्षेत्र विस्तारै पूर्वी भागतर्फ सार्‍यो । २०४१ सालसम्म आइपुग्दा कोशीले पश्चिमको बाटो छोड्यो र पूर्वी भागबाट बग्न थाल्यो ।

बराहक्षेत्र– ९ का बासिन्दा रूपनारायण निरौलाका अनुसार कोशीको पूर्वी किनारमा राम्रो उब्जाउ हुने भएकाले मुख्य बस्ती त्यही थिए । जहाँबाट अहिले कोशी बगिरहेको छ ।

कोशी पूर्व मोडिँदा त्यस बेलाका प्रकाशपुर र महेन्द्रनगर गाउँ पञ्चायतका ठूला बस्तीहरू कोशीको मुख्य भेलमा परे । मान्छेका घर र कृषियोग्य निजी जमिनबाट कोशी बग्न थाल्यो ।

घर र जमिन गुमाएका प्रकाशपुर र महेन्द्रनगरका बासिन्दा कोशीको पारिपट्टि सरे, जहाँ पहिला कोशी बगेको थियो । स्थानीय बासिन्दा शम्भु चन्द्रवंशीका अनुसार पानी सुक्दै गएपछि त्यति बेला नै यहाँ बस्ती सुरु भएको हो ।

नदी उकास भएकाले यी चिलिया टापु, गरैया टापुलगायत नामले चिनिन थालियो । पूर्वतर्फ कोशी र पश्चिमतर्फ कोशीबाटै रसाएको पानी बग्ने भएकाले बीचको क्षेत्रलाई श्रीलंका टप्पु भन्न थालिएको उनी बताउँछन् । श्रीलंका टप्पु उदयपुरको बेलका नगरपालिका र सुनसरीको बराहक्षेत्र नगरपालिकामा पर्छ ।

टप्पु नरहने जोखिम 

२०७९ सालतिर पूर्वी टोल रहेको ठाउँमा अहिले कोशी बगिरहेकोे छ । कोशी बगिरहेको ठाउँतिर देखाउँदै स्थानीय बासिन्दा शुकदेव कविरथले भने, ‘मेरो १५ कट्ठा जमिन ऊ त्यहाँ पानीमूनि छ ।’

कोशी केही वर्षमै एकाएक बस्तीतिर सोझिन्छ भन्ने शुकदेवलाई लागेको थिएन ।’ ५–६ वर्षअघिसम्म कोशी पुग्न डेढ किलोमिटर हिँड्नुपर्थ्यो तर अहिले कोशी यहीं छ,’ कोशीतिर देखाउँदै शुकदेवले भने, ‘यस्तै हुने हो भने अब ४–५ वर्षमा यो टप्पु नै रहँदैन होला !’

Suka-Dev-Kabirath-Koshi-Flood-NIMJN-1750840574.jpg
शुकदेव कविरथ । तस्वीर : कृष्ण बहाब/निमजिन

सुकदेवलाई मात्र होइन, टापुको गरैया स्वास्थ्य चौकीमा अहेबसमेत रहेका पाण्डव चन्द्रवंशीलाई समेत टप्पुको भविष्य लामो छैन कि भन्ने लागेको छ । २०७३ सालदेखि स्वास्थ्य चौकीमा काम गर्दै आएका चन्द्रवंशी पूर्वी टोलमा बस्थे ।

पहिला घर रहेको ठाउँलाई कोशीले आफ्नो बनाएपछि उनले पनि अन्य छिमेकी जस्तै केही पश्चिमतर्फ रहेको खाली ठाउँमा घर सारेका छन् । ‘कोशीको बाढी जति आए पनि पहिला त्यति तनाव लाग्दैन थियो,’ पाण्डवले सुनाए, ‘२०७९ सालमा टोलै उठेपछि चाहिँ अब यहाँको भविष्य लामो छ जस्तो लागेको छैन ।’

पहाडका खोंचखोंचै हुँदै आउने सप्तकोशी नदी सुनसरीको चतराबाट तराईको सम्म भागमा प्रवेश गर्छ । नेपालको तराई क्षेत्रमा कोशीको उत्तर दक्षिणको लम्बाई ४८ किलोमिटर छ भने चौडाई कुनै ठाउँमा ७ किलोमिटरसम्म फैलिएको छ ।

त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थानको विपद् अध्ययन केन्द्रका निर्देशक उपप्राध्यापक वसन्तराज अधिकारी विभिन्न अध्ययनहरूले कोशी नदी पश्चिमतर्फ सरिरहेको देखाएको बताउँछन् ।

‘कोशी अन्तर्देशीय नदी हो, चुरे, महाभारत र हिमालबाट बालुवा आउँछ, जब नदीमा बालुवा थुप्रिँदै जान्छ, त्यसपछि धार परिवर्तन गर्दै जान्छ,’ उपप्राध्यापक वसन्तराजले भने, ‘बर्खामा इनर्जी धेरै भएको बेला त बगाएर लैजान्छ, तर इनर्जी कम भएको बेला थुप्रिएर बस्छ, बालुवा थुप्रिएर कोशी पश्चिमतिर सरेको देखिन्छ ।’

सौम्य पाण्डेको सन् २०२४ मा प्रकाशित ‘टु मच स्यान्ड, नट वाटर : ए जियोस्टोरी अफ हिमालयन रिभरिन सेडिमिन्ट्स एज प्रोब्लम (‘TOO MUCH’ SAND, NOT WATER: A Geostory of Himalayan Riverine Sediments as ‘Problem‘)’  शीर्षकको रिसर्च आर्टिकलका अनुसार कोशीले वार्षिक १० करोड टनभन्दा बढी बालुवा ल्याउँछ ।

तटबन्ध र कोशी ब्यारेजका कारण त्यो बालुवा थुप्रिएका कारण कोशीको सतह बढेको बताउँछन् पूर्वजलस्रोत मन्त्रीसमेत रहेका जलस्रोतविद् दीपक ज्ञवाली । ‘कोशीलाई तराई झरेपछि ज्याकेटिङ गरेर लागिएको छ, तटबन्ध र ब्यारेजका कारण बालुवा थुप्रिएको छ,’ उनले भने, ‘तपाईंले याद गर्नुभएको होला, कोशी बस्तीभन्दा माथिबाट बगेको देखिन्छ नि ! यो सबै बालुवाका कारण हो ।’

ज्ञवालीले भनेको ज्याकेटिङको अर्थ नदीलाई चाहेअनुसारको सिमानामा मात्र बग्ने गरी सीमित बनाउनु हो । यसले नदी बग्ने प्राकृतिक बाटोलाई बाँध, तटबन्ध बनाएर कुनै निश्चित सिमानाभित्र बन्द गर्न खोजिएको बुझाउँछ । कोशी नदीलाई दुवैतर्फ तटबन्ध बनाएर सानो क्षेत्रमा बाँधिएको छ । जसले गर्दा कोशी खुला रूपमा फैलिन सक्दैन । यस्तो नियन्त्रणलाई नै ज्याकेटिङ भनिन्छ ।

भारतको इन्स्टिच्युट अफ टेक्नोलोजी कानपुरको डिपार्टमेन्ट अफ अर्थ साइन्सका राजीव सिन्हाले सन् २०२१ मा अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (ICIMOD) का लागि तयार पारेको ‘सेडमेन्ट म्यानेज्मेन्ट इन द कोशी बेसिन : लेसन लर्नड एन्ड च्यालेन्जेज अहेड’ (Sediment Management in the Koshi Basin: Lessons Learned and Challenges Ahead)  शीर्षकको नीतिगत संक्षिप्त विवरणका अनुसार कोशीको चतरा–वीरपुर खण्डमा करिब ४ सय ८ मिलियन घनमिटर बालुवा नदीभित्रै थुप्रिएको छ । जसका कारण नदीको सतह वरपरको जमिनभन्दा माथि उठेको पनि त्यो विवरणमा उल्लेख छ ।

प्राकृतिक कटानले मात्र होइन, भारतीय पक्षले कोशीलाई पश्चिमतर्फ धकेल्न बनाएका कृत्रिम ‘च्यानल’ ले समेत टप्पु जोखिममा पर्दै गएको छ । भदौ २, २०६५ मा कोशीले पूर्वी तटबन्ध भत्काएर बस्ती पसेपछि भारतको बिहार सरकारअन्तर्गत रहेको कोशी प्रोजेक्टले कोशीको बहाब पश्चिम धकेल्न विभिन्न उपायहरू प्रयोग गरिरहेको छ ।

यूएनडीपीले तयार पारेको ‘कोशी फ्लड २००८, हाउ वी कोप्ड ! ह्वाट वी निड, प्रिसिप्सन सर्भे अन इम्प्याक्ट एन्ड रिकोभरी स्ट्राटिजिक्स’ (Kosi Floods 2008 – How we coped! What we need ?) प्रतिवेदनअनुुसार त्यति बेला भारतका १ हजार गाउँका ३० लाख बासिन्दा प्रभावित भएका थिए । तीमध्ये १० लाख जनालाई उद्धार गरेर सुरक्षित ठाउँमा सारिएको थियो ।

त्यो बाढीपछि भारतले कोशी पश्चिमतिर सार्न विभिन्न पूर्वाधार बनाएको स्वीकार गर्छन्, कोशी योजनाअन्तर्गत नेपाल सरकारको सम्पर्क तथा सह–भू–आर्जन अधिकृतसमेत रहेर काम गरेका सन्तोषकुमार चोङवाङ ।

भारतीय पक्षले पश्चिमपट्टिको किनारबाट कोशी बगाउन च्यानल खन्दै गर्दा आफूले रोक्न खोजे पनि नसकेको उनी बताउँछन् । ‘त्यति बेला धेरै पटक मन्त्रालय (सिँचाइ तथा जलस्रोत मन्त्रालय) लाई मैले भनेको हो, तर भारतीय पक्षले निर्माण गरेरै छोड्यो,’ उनले भने ।

सरकारसँग पूर्वसूचना न तथ्यांक 

जल तथा मौसम विज्ञान विभागले असोज ९, २०८१ मा विशेष मौसम बुलेटिन जारी गरेर १० गतेदेखि १३ गतेसम्म धेरै भारी वर्षा हुने सक्ने भविष्यवाणी गरेको थियो । बाढी पूर्वानुमान महाशाखाले पनि १० गते साँझ ५ बजे विशेष बाढी पूर्वानुमान बुलेटिन जारी गरेको थियो ।

Weather-and-Flood_bulletion-NIMJN-1750841341.jpg
विशेष बाढी पूर्वानुमान बुलेटिनमा असोज ११ र १२ गते कोशीमा मध्यम जोखिम हुने र १३ गते न्यून जोखिम उल्लेख थियो । तर त्यो पूर्वानुमानविपरीत असोज १३, २०८१ को बिहान कोशीमा ६ लाख ६१ हजार क्युसेक बहाब रेकर्ड भएको थियो । यो बाढी पछिल्लो ५६ वर्षयताकै सबैभन्दा ठूलो बाढी भएको विभागले नै पछि बतायो । बाढीले श्रीलंका टप्पुसहित बेलका नगरपालिकाका वडाहरू प्रभावित भए । पछि सरकारले बेलका नगरपालिकालाई विपद् क्षेत्र घोषणासमेत गरेको थियो ।

बाढी पूर्वानुमान महाशाखाले विशेष बुलेटिन जारी गर्नुभन्दा अघिल्लै दिन भारतीय सरकारी निकायले कोशीमा बाढीको इतिहास ब्रेक हुन सक्ने भन्दै चेतावनीसहितको पूर्वसूचना जारी गरेको थियो । विहार सरकार जल संशाधन विभागले निकालेको सूचनामा असोज १२ गते दिउँसो १२ बजे कोशी ब्यारेजबाट ६ लाख ८१ हजार क्युसेक पानी बग्ने भनिएको थियो ।

जोखिमको पूर्वानुमानसँगै भारतले कोशी प्रोजेक्टसँगै जल संसाधन विभागमा कार्यरत सबै कर्मचारीको बिदा रद्द गरेर काममा फर्काएको थियो । कोशीको छेउमै क्याम्प राखेर बस्न निर्देशन दिएको थियो ।

Dik-Ram-Kulung-Koshi-NIMJN-1750839803.jpg
डिकराम कुलुङ । तस्वीर : कृष्ण बहाब/निमजिन

कोशीको बाढीले घर डुबेका मध्येका एक बराहक्षेत्र– ६ मा पर्ने श्रीलंका टप्पुका बासिन्दा डिकराम कुलुङ ठूलो बाढी आउँदै छ भन्ने पूर्वजानकारी नपाएको बताउँछन् । ‘छाती–छाती लेदोसहितको पानी आएको थियो, मेरा एक दर्जन जति कुखुरा मरे, छिमेकीहरूको पनि धेरै बिगार गर्‍यो,’ डिकरामले भने, ‘त्यत्रो ठूलो बाढी आउने थाहा पाएको भए अगाडि नै निस्किन्थ्यौँ नि !’

जल तथा मौसम विज्ञान विभागका सूचना अधिकारी दिनकर कायस्थ गएको असोजमा आफूहरूले गरेको बाढी पूर्वानुमानको जानकारी धेरै हदसम्म मिलेको बताउँछन् । ‘वर्षाको पूर्वानुमानपछि हामीले स्पेसल बुलेटिन निकालेर बाढी पूर्वानुमान गरेका थियौँ,’ उनी भन्छन्, ‘त्यति बेलाको हाम्रो पूर्वानुमान धेरै हदमा मिलेको थियो ।’

कोशीमा बाढी आउँछ है भनेर मात्र नहुने बताउँछन् श्रीलंका टप्पुका बासिन्दा शम्भु चन्द्रवंशी । ‘कोशीमा बर्खामा बारैपिच्छे बाढी आउँछ,’ उनी भन्छन्, ‘यस्तो बाढी आउँदै छ, पानी यहाँसम्म आउँछ भन्नुपर्‍यो नि ! अनि पो मान्छेले घर छोड्ने/नछोड्ने भन्ने टुंगो लगाउँछन् ।’

विपद्‍विज्ञ डा. मीनबहादुर पौडेल क्षेत्री सरकारी नीतिका कारण पूर्वसूचना प्रणाली नागरिक पहुँचसम्म नपुगेको बताउँछन् । जल तथा मौसम विज्ञान विभागले पूर्वानुमान गरे पनि अन्य सरोकार जोडिएका सरकारी निकायबीच समन्वय हुन नसक्नाले विपद्‍मा थप क्षति व्यहोर्नुपर्ने स्थिति बनेको उनी बताउँछन् ।

‘एक दिन, दुई दिनअगाडि विभागले अलर्ट (Alert), रेड अलर्ट (Red Alert) त जारी गर्छ, तर सरकारका अन्य निकायहरू पूर्वानुमान आएपछि सक्रिय बन्नुपर्थ्‍यो,’ डा. मीनबहादुर भन्छन्, ‘बाढी आउँदा कता समस्या पर्छ, हेर्न सक्नुपर्थ्यो , त्यसरी हेर्दा अन्तरनिकाय समन्वयको नीतिगत समस्या छ ।’

के हुँदै छ काम ?

श्रीलंका टप्पुमा बराहक्षेत्र नगरपालिकाका– ६ र ९ वडाका केही भाग तथा बेलका नगरपालिका– २, ३, ८ र ९ वडाका केही भाग पर्छन् । नदीको बहाब परिवर्तन भएपछि उकास भएको क्षेत्रमा बसोबास हुने गरेको छ । त्यसैले टप्पुमै कति परिवारको बसोबास छ भन्ने यकिन तथ्यांक सरकारी निकायसँग छैन ।

यो क्षेत्रलाई कोशीबाट सुरक्षित बनाउन केही काम भइरहेको बेलका नगरपालिकाका मेयर अशोक कार्कीले बताए । पश्चिमतर्फ कोशीलाई सर्न नदिन ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयसँग मिलेर बिग बोर्डर ड्याम बनाउनेलगायतका काम भइरहेको उनले बताए ।

‘कोशीले निम्त्याउने विपद् व्यवस्थापनको विषयमा तत्काल त्यस्तो ठूलो योजना छैन, तर संघ सरकारसँगको समन्वयमा बाँध निर्माणसँग सम्बन्धित कामहरू भइरहेका छन्, गरिरहेका छौँ,’ मेयर अशोकले भने ।

बराहक्षेत्र नगरपालिका मेयर रमेश कार्की द्विदेशीय चासोको नेपालको सबैभन्दा ठूलो नदी भएकाले बस्ती जोगाउने योजना संघीय सरकारले बताउनुपर्ने बताउँछन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता रामबहादुर केसीका अनुसार कोशी क्षेत्रको लागि विशेष कार्ययोजना नबने पनि विपद्‍ग्रस्त क्षेत्रको क्षति आकलनको काम भइरहेको छ । ‘कोशीमै भनेर ठ्याक्कै काम भएको छैन तर कोशी क्षेत्रको बेलका नगरपालिकामा चाहिँ विस्तृत क्षति आकलनको काम भइरहेको छ,’ उनले भने ।

विस्तृत क्षति आकलनको काम सकेपछि मात्रै उक्त क्षेत्रमा कस्तो नीति अवलम्बन हुने भन्ने निर्णय गरिने उनले बताए । ‘यदि बस्ती सार्नुपर्ने स्थिति छ भने स्थानीय तहको सिफारिसमा जिल्ला विपद् व्यवस्थापन समितिले लाभग्राही स्थापित गरेर बस्ती सार्न सक्छ,’ प्रवक्ता रामबहादुरले भने ।

यो सामग्री मूलरूपमा www.nimjn.org मा प्रकाशित भएको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved