इरानमा अमेरिकी हमलाको असर : उत्तर कोरियाले आणविक हतियार बढाउने (भिडिओ)

नेपालभ्युज

इरानमा अमेरिकी हमलाको असर : उत्तर कोरियाले आणविक हतियार बढाउने (भिडिओ)

काठमाडौं । इरानका परमाणु केन्द्रमा अमेरिकी हमलासँगै त्यसले उत्तर कोरियालाई पुगेको सन्देशबारे बहस हुन थालेको छ । पूर्वी एसियाका नीति निर्माता तथा भूराजनीतिक विज्ञहरूले परमाणु हतियार उत्पादन र परीक्षणलाई तीव्रता दिइरहेको उत्तर कोरियालाई पुगेको सन्देशबारे चर्चा गर्न थालेका हुन् । आणविक हतियारमा इरानभन्दा पनि अत्याधुनिक उत्तर कोरियाको इरानमाथि हमलाबारेको दृष्टिकोणबारे विज्ञहरूले विभिन्न कोणबाट विश्लेषण गरेका छन् ।

पोङ्याङ्ले अब  परमाणु हतियार उत्पादन र कार्यक्रमलाई तीव्र बनाउनुका साथै रुससँगको  सहकार्यलाई गहिरो बनाउने विज्ञहरूको मत छ । शासन परिवर्तनको अमेरिकी नीतिको कडा प्रतिवादका लागि, आणविक हतियार एक मात्रै विकल्प रहेको नेता किम जो उनको विश्वासलाई इरानमाथिको हमलाले थप बलियो बनाउने जानकारहरू बताउँछन् ।

दक्षिण कोरियाको क्युनम विश्वविद्यालयमा उत्तर कोरिया मामिला अध्यापन गराउने प्राध्यापक हुन् लीम उल चू । इरानको आणविक केन्द्रमा अमेरिकी हमलाका कारण आणविक हतियारबारे उत्तर कोरियाली नीतिलाई थप बलियोसँग अघि बढ्न प्रेरित गर्ने उनको भनाइ छ । ‘उत्तर कोरियाले इरानमाथिको हमलालाई आफूमाथिको सैन्य खतराका रूपमा लिएको छ । त्यसैले हमला भएका बखत परमाणु मिसाइलबाट सशक्त प्रतिवादको क्षमता बढाउने कार्यलाई उसले तीव्रता दिनेछ,’ लीले सीएनएनसँग भनेका छन् ।

अमेरिकाले पटक–पटक आणवकि हतियार कार्यक्रम बन्द गर्न आग्रह गरे पनि उत्तर कोरियाली नेता किम उनले त्यसलाई बढाइरहेका छन् । सन् २००६ देखि हालसम्म परमाणु हतियार ६ वटाभन्दा बढी परीक्षण गरिसकेको छ । तीमध्ये सबैभन्दा बढी सन् २०११ पछि किम जोन उनको शासनकालमा भएका छन् ।

उत्तर कोरियासँग अमेरिकालाई मार हान्न आणविक क्षेप्यास्त्र रहेको बताइन्छ । त्यसैले अमेरिकाले कोरियाली प्रायद्वीपमा हमला गरेमा उसलाई समेत ठूलो जोखिम पर्नेछ । उत्तर कोरियाले रुससँगको सहकार्यमा आणविक हतियार उत्पादन परीक्षणमा वृद्धि गर्नसक्ने विज्ञहरूको मत छ । सन् २०२४ देखि रुस र उत्तरकोरियाबीच औपचारिक रणनीतिक साझेदारी अघि बढेको थियो ।

पश्चिमा प्रतिबन्धका बाबजुद आर्थिक र सैन्य गतिविधि चलायमान बनाइराख्न उत्तर कोरियालाई यो साझेदारी निकै महत्त्वपूर्ण थियो ।
उत्तर कोरियाले युद्धमा रहेको रुसलाई १५ हजार सैनिक, लाखौँ संख्यामा हतियार र क्षेप्यास्त्र पठाएर सहयोग गरेको राष्ट्रसंघको बहुपक्षीय प्रतिबन्ध निगरानी टोली (MSMT) को प्रतिवेदन छ । उत्तर कोरियाली सहयोगपछि रुसले पनि हतियार प्रविधि, हवाई प्रतिरक्षा प्रणाली, विमानभेदी क्षेप्यास्त्र र विद्युतीय युद्ध प्रणाली सहयोग गरेको थियो ।

रुसी सहयोगले उत्तर कोरियालाई राष्ट्रसंघीय सुरक्षा परिषद्को प्रस्तावले प्रतिबन्ध लगाएको व्यालेस्टिक क्षेप्यास्त्र निर्माणका लागि उत्तर कोरियालाई सहयोग पुग्ने MSMT को प्रतिवेदन छ ।

अमेरिकी हमलाले आणविक हतियार नभएका मुलुकहरू इराक, लिबिया र इरानलाई कमजोर बनाएको बुझाइ कीम जोन उनको रहेको विश्लेषक भिक्टर चाले सीएनएनसँग बताएका छन् । इरानविरूद्ध इजरायल प्रयोग गरेर हमला गरेजस्तो विकल्प उत्तर कोरियामाथि हमलाका लागि अमेरिकाले प्रयोग गर्न नसक्ने भिक्टर बताउँछन् । इरानमाथिको हमलापछि उनको दिमागमा आणविक हतियारको संख्या र गुणस्तर बढाउनुपर्ने छाप बलियो भएको उनको भनाइ छ । उनले भनेका छन्, ‘इरानमाथि हमलापछि उत्तर कोरियाको बुझाइ अमेरिकी नीति अनुकूल छैन ।’

इरान र उत्तर कोरियाको परमाणु क्षमतामा निकै ठूलो अन्तर छ । इरानसँग संवर्धित युरेनियम रहे पनि उसले आणविक हतियार बनाइसकेको छैन । यता, ६ पटकसम्म आणविक हतियार परीक्षण गरिसकेको उत्तर कोरियाले नयाँ प्रविधिमा आधारित अन्तरमहादेश मार हानसक्ने  इन्टर कन्टिनेन्टल व्यालिस्टिक मिसाइल (ICBM) परीक्षण गर्न लागेको छ । उत्तर कोरियासँग ४० देखि ५० को संख्यामा आणविक हतियार रहेको बुझिन्छ । ती हतियारमध्ये अधिकांश अमेरिकासम्म पुग्ने क्षमताका छन् ।

इरानमाथिको अमेरिकी हमलापछि उत्तर कोरियाली शासकमा अमेरिकाप्रति थप अविश्वास पैदा गरेको जानकारहरू बताउँछन् । इरामाथिको हमलापछि उत्तर कोरियाको विदेश नीति थप रुसपरस्त हुनुका साथै इरान र रुसबीच रणनीतिक र सैन्य सहकार्य थप बढाउने प्राध्यापक लीको विश्लेषण छ ।

(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यहरूको सहयोगमा शिशिर ढकालले तयार पारेको सामग्री)


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved