महेन्द्रनगर । भारतको उत्तराखण्डस्थित काशिपुरलगायत विभिन्न स्थानमा बन्धकपछि उद्धार गरिएका नेपालीले आफूहरुलाई कुटपिट गरिएको, काँचो भात साथै नुनपानी र बेसार हालेर दिने गरेको बताएका छन् ।
बुधबार अपरान्ह पश्चिमी नाका गड्डाचौकीबाट स्वदेश फर्किएका उनीहरुले दलालहरुले चरम यातनासमेत दिएको बताए । भनेको नमाने कुटपिटसमेत गर्ने गरेको पनि उनीहरुको भनाइ छ ।
नयाँदिल्लीस्थित नेपाली दूतावास, उत्तराखण्ड प्रहरी र सामाजिक संस्था ‘किन इन्डिया’को समन्वयमा उत्तराखण्डको विभिन्न ठाउँमा अमानवीय रुपमा बन्धक बनाइएका उनीहरूको उद्धार गरि नेपाल ल्याइएको हो ।
उद्धार गरिएको मनोज कटुवाल भन्छन्, ‘राम्रो जागिर दिन्छु भनेर झुटो आशा देखाएर बोलाइयो । अन्त्यमा आफू त फसियो नै आफन्तहरुलाई नै फसाउन बाध्य पारियो ।’
यस्तै, उनले सुत्नको लागि पातलो डसना, खानाको लागि आधा मात्र पाकेको चामल अनि पानीमा नुन र बेसार हालेर दिने गरेको सुनाए ।
‘पढे लेखेकालाई त्यहीअनुसार नपढेकालाई त्यहीअनुसार जागिर दिन्छु भनियो । धेरै साथीहरुलाई यस्तै झुटो आशा देखाएर बोलाएको रहेछ । हामीलाई त्यहाँ काम त दिइएन, तर अन्य नेपालीहरुलाई पनि फसाउन धमाधम बोलाउने र फसाउने काम भयो । उनीहरुले भनेको मानेन भने कुटपिट गर्ने, मार्ने धम्की दिइयो । कुटपिटमा मलगायत मेरा धेरै साथीहरु परेका थिए । अरु धेरै नेपाली युवाहरु भारतमा गएर फसिरहेका छन् । उनीहरुलाई पनि छिटोभन्दा छिटो निकाल्नुपर्छ,’ उनले भने ।
सुरुमा नेपाली ४० हजार रुपैयाँ तिरेर काम गर्न भनेर गएकाहरुलाई एउटा कोठाभित्रै थुनेर खाना पनि राम्रो नदिएको अर्का पीडित राजेश राईले बताए । ‘मलाई नराम्ररी फसाइयो, नेपाल फर्किन खोज्दा मार्ने धम्की दिइयो । आमाको निधन हुँदापनि नेपाल आउन दिइएन । चरम अमानवीय व्यवहार गरियो,’ राईले भने ।
‘मलाई सुरुमा उनीहरु(दलाल)सँगै रहेका साथीले काम गर्न आउ भनेर बोलाए । पढेलेखेको छैन भनेपछि प्याकिङको काम मिल्छ भनियो । तर, पाँच महिना भइसक्दा पनि काममा लगाइएन । एक महिनापछि मात्र काम के हो भनेर थाहा भयो, नेपालका मान्छे तान्ने काम मात्र रहेछ । आफ्नै मान्छेलाई फसाउने रहेछ । त्यो कुरा थाहा पाएपछि घर जान्छु भन्दा कुटपिट भयो । आमाको अन्तिम सार फेरेको हेर्ने इच्छा थियो तर नेपाल आउनै दिइएन,’ उनले भने ।
बिरामी हुँदा बेसार–पानी खाए जस्तो खाना खाएर १६ महिना काम गरेपनि एक रुपैयाँ नदिएको सौगात काफ्ले नाम गरेका अर्का पीडित बताउँछन् ।
‘कम्प्युटरमा डाटा इन्ट्री र प्याकेजिङको लागि भनेर बोलाइएको हो । मलाई मेरो काकाको फोनबाट बोलाएको थियो । त्यहाँ गएर हेर्दा काकासँग फोननै छैन रहेछ । त्यहाँ जानेबेला मसँग नेपाली ५० हजार असुलियो । त्यसपछि १०–१२ दिन एउटै कोठामा राखियो । मलाई मेरै आइडी प्रयोग गराएर आफन्तहरुलाई बोलाउन मात्र लगाइयो । मेरो आईडी प्रयोग गरेर अरु छ/सात जनालाई बोलाइएको रहेछ । त्यसपछि उनीहरुलाई कुटपिट गरेर पठाउने गरेको रहेछ । यसैक्रममा करिब पाँच लाख मेरो ऋण भयो,’ उनले भने ।
‘बाउन्सर प्रयोग गरेर यातना दिइयो’
नेपालीहरुको उद्धारमा अगुवाइ गरेका ‘किन इन्डिया’का निर्देशक यस्तो घटनाका बारेमा एक महिनाअघि नै पत्ता लगाएर प्रक्रिया सुरु गरिएको बताए । एकजना ताप्लेजुङका युवा मृत भेटिएपछि घटनाका बारेमा अध्ययन सुरु गरेको जानकारी दिए ।
‘उत्तराखण्डको प्रहरीको सहयोगमा हामी घटनास्थलमा पुग्दा लाइन लगाएर मान्छेहरुलाई बोलाउन लगाइएको थियो । बाउन्सरहरु प्रयोग गरेर बोल्न वा बोलाउन बाध्य पारिएको रहेछ । वीरेन्द्र शाहीको अगुवाइमा त्यहाँ नेपालीहरुलाई चरम यातना दिइएको रहेछ । पीडितहरुले निज शाही र मनिष तिवारी नाम गरेका दलालहरुको विरुद्धमा उत्रिएका हुन् । युवाहरु सुरुमा डराइरहेका थिए । तर, शाही पक्राउ परेपछि मनोबल बढेको हो,’ जोशीले भने,‘यो घटनाविरुद्ध मुद्दा अघि बढाइएको छ ।’
उद्धार गरिएका व्यक्तिहरू चितवनका १० जना, कैलालीका ९ जना, सुनसरीका ५ जना, पाँचथर, तेह्रथुम, उदयपुरका ४/४ जना, दाङ, स्याङ्जा, बाँकेका ३/३ जना, डोटी, ताप्लेजुङ, धादिङका २/२ जना, सर्लाही, कास्की, रुकुम, बाग्लुङ, इलाम, रुपन्देहीका १/१ जना छन् ।
उद्धार गरि नेपाल ल्याइएका युवाहरुको स्वागतमा नाकामा पुगेका सुदूरपश्चिम प्रदेशका प्रहरी प्रमुख डीआईजी डम्बरबहादुर विकले उद्धार गरिएका युवाहरुलाई सुरक्षित आफ्नो घरसम्म पुर्याइने बताए ।
कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले उद्धार गरिएका युवाहरुलाई गन्तव्यसम्म पुर्याउने काम भइरहेको जानकारी दिए ।
आकर्षक जागिरको प्रलोभनमा नेपालका विभिन्न जिल्लाका युवालाई भारत बोलाएर बन्दी बनाउने गरिएको छ । उनीहरूलाई कुटपिट र यातना दिँदै विभिन्न शीर्षकमा रकम असुली गर्ने गरिन्छ । भारतका विभिन्न शहरमा अझै सयौं युवा फसिरहेको आशंका गरिएको छ । – नेपाल न्युज बैंक
Facebook Comment
Comment