काठमाडौं । ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिका लगायतका देशहरू सम्मिलित ब्रिक्स समूहले इरानविरुद्धको सैन्य आक्रमणप्रति चिन्ता व्यक्त गरेको छ ।
‘ब्रिक्स’ले जारी गरेको संयुक्त विज्ञप्तिमा भनिएको छ, “हामी जुन १३ देखि इरानविरुद्ध भइरहेको सैन्य आक्रमणप्रति गम्भीर चिन्ता व्यक्त गर्दछौं । यो आक्रमण अन्तर्राष्ट्रिय कानून र संयुक्त राष्ट्र संघको बडापत्रको उल्लङ्घन हो ।”
ब्रिक्सले सबै पक्षहरूलाई शान्तिपूर्ण माध्यमबाट मतभेद समाधान गर्न संवाद र कूटनीति जारी राख्न पनि आह्वान गरेको छ ।
ब्रिक्सको यो बयान यस्तो समयमा आएको हो, जब हालै भारतले सांघाई सहयोग संगठन (SCO) को बयानबाट आफूलाई टाढा राखेको थियो जसमा इरानमाथिको आक्रमणको लागि इजरायलको आलोचना गरिएको थियो ।
तर, भारतले ब्रिक्सको यो भनाइबाट आफूलाई टाढा राखेको छैन ।
ब्रिक्सले यो पनि भन्यो, “हामी शान्तिपूर्ण आणविक प्रतिष्ठानहरूविरुद्ध हुने कुनै पनि आक्रमणको बारेमा “गम्भीर चिन्ता” व्यक्त गर्दछौं, जुन अन्तर्राष्ट्रिय कानुन र अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (IAEA) को सान्दर्भिक प्रस्तावहरूको उल्लङ्घन गरेर गरिन्छ ।”
अमेरिका र इजरायलले इरानको आणविक स्थलहरूमा आक्रमण गरेका थिए ।
ब्राजिल, रूस, भारत, चीन र दक्षिण अफ्रिका मिलेर बनेको यो समूहलाई ब्रिक्स भनिन्थ्यो, तर यो विस्तार भयो । ब्रिक्समा अब साउदी अरेबिया, इजिप्ट, इथियोपिया, इरान, संयुक्त अरब इमिरेट्स र इन्डोनेसिया पनि सामेल छन् ।
Facebook Comment
Comment