प्रतिनिधिसभाबाट विनियोजन विधेयक बहुमतले पारित

नेपालभ्युज

प्रतिनिधिसभाबाट विनियोजन विधेयक बहुमतले पारित
प्रधानमन्त्री केपी शर्मा ओली

काठमाडौं । संघीय संसद्अन्तर्गतको प्रतिनिधिसभाबाट आर्थिक वर्ष २०८२/८३ को बजेटको मूल विधेयक (विनियोजन विधेयक) बहुमतले पारित भएको छ । मंगलबार बसेको प्रतिनिधिसभा बैठकले विनियोजन विधेयक बहुमतले पारित गरेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओली लगायत मन्त्रीहरूले विनियोजन विधेयकमाथि भएको छलफलमा उठेका प्रश्नको जवाफ दिएपछि उक्त विधेयकलाई निर्णयार्थ पेस गरिएको थियो । त्यसपछि बहुमतले पारित भएको हो ।

विद्युत खरिद्बारे बजेटमा समावेश गरिएको ‘टेक एन्ड पे’सम्बन्धी व्यवस्था हटाइएपछि विनियोजन विधेयक पारित भएको हो ।

प्रतिनिधिसभा मंगलबारको बैठकले खर्च कटौतीका विभिन्न २३ प्रस्तावलाई भने बहुमतले अस्वीकार गरेको छ ।

मंगलबारको बैठकमा रास्वपा र राप्रपा भने अनुपस्थित रहेका थिए ।

आर्थिक/कर विधेयक र राष्ट्र ऋण उठाउने विधेयक पारित भएपछि मात्र बजेट पारित भएको मानिने छ ।

बजेट दुवै सदनबाट पारित भएर राष्ट्रपतिले प्रमाणीकरण गरेपछि साउन १ देखि कार्यान्वयनमा जानेछ ।

उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले जेठ १५ मा सरकारको आगामी आर्थिक वर्षका लागि १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँ बराबरको बजेट संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गरेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved