काठमाडौं । रास्वपाले भिजिट भिसा प्रकरणको छानबिन गर्न नेपाल सरकारका पूर्वमुख्य सचिव शंखरदास बैरागीको संयोजकत्वमा बनाइएको उच्चस्तरीय छानबिन समिति अस्वीकार गरेको छ ।
मंगलबारको प्रतिनिधिसभा बैठकमा रास्वपा उपसभापति स्वर्णिम वाग्लेले कर्मचारी संयन्त्रबाट छानबिन हुन नसक्ने जनाएका हुन् । संसद्मा बोल्दै उपसभापति वाग्लेले उच्चस्तरीय छानबिन समितिको नाममा चोख्याउने समिति नचाहिएको बताए ।
‘हामी नयाँ हौ, बेबकुफ होइनौँ’ वाग्लेले गृहमन्त्री रमेश लेखकलाई इंकित गर्दै जवाफ दिए ।
बैरागीबारे उनले भने, “शंकरदासप्रति मेरो कुनै पूर्वाग्रह छैन । उहाँलाई राम्ररी चिन्छु । उहाँ १० वर्षदेखि सत्ताको प्रिय पात्र हुनुहुन्छ । सात वर्ष परराष्ट्र सचिव, ३ वर्ष मुख्य सचिव र रहस्यमय ढंगले उक्त पदबाट बहिर्गमन हुनुहन्छ । फेरि राष्ट्रिय सुरक्षा सल्लाहकार बन्नुहुन्छ । एक दुई दिनमा निवृत हुन लाग्दा अर्का मुख्य सचिव आउनु हुन्छ र अर्बौंको टेलिकम माफियाद्वारा रचिएको घोटाला भएका छन् । त्यसैले शंकरदास बैरागी स्वार्थको द्वन्द्वले घेरिएको पात्र हुनुहन्छ ।”
यता, माओवादी केन्द्रले भने छानबिन समितिको स्वागत गरेको छ । सांसद वर्षमान पुनले भने, “सरकारले छानबिनका लागि बनाएको समितिका लागि धन्यवाद व्यक्त गर्दछु । यस विषयमा संवैधानिक निकाय अख्तियारले पनि छानबिन गरिरहेको छ । निष्पक्ष छानबिन हुनेछ भन्नेमा हाम्रो विश्वास छ । सरकारले बनाएको उच्चस्तरीय समितिले सक्षम ढंगले आफ्नो काम गरोस् शुभेच्छा छ । शुभकामना छ ।”
सोमबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले पूर्वमुख्यसचिव बैरागीको नेतृत्वमा छानबिन समिति बनाएको छ । उक्त समितिमा सम्बन्धित मन्त्रालयहरूका सहसचिवहरू रहने गृहमन्त्री लेखकले जवाफ सदनमा जानकारी गराएका थिए ।
Facebook Comment
Comment