सभामुखलाई अमरेश सिंहको चुनौती– एमालेको मागअनुसारको रुलिङ मान्दैनौँ

नेपालभ्युज

सभामुखलाई अमरेश सिंहको चुनौती– एमालेको मागअनुसारको रुलिङ मान्दैनौँ

काठमाडौं । प्रतिनिधिसभामा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल चलिरहँदा स्वतन्त्र सांसद अमरेशकुमार सिंहले दिएको अभिव्यक्ति संसद्को रेकर्डबाट हटेको छ ।  बजेट कम परेका जिल्लाहरू अन्य देशमा गाभ्नुपर्ने उनको अभिव्यक्ति एमालेको नियामपत्तिपछि सभामुख देवराज घिमिरेले सो अभिव्यक्ति रेकर्डबाट हटाउन रुलिङ गरेका थिए ।

सिंहले तराईका केही जिल्लाहरूबाट कर मात्र असुल्ने हो भने त्यसलाई अर्को कुनै देशमा पठाइदिनुपर्ने भनेका थिए । उनले भने थिए, ‘चार–पाँच जिल्ला भाग्यमानी जिल्लालाई नेपालमा राखौँ बाँकी ७७ मध्ये ७२ जिल्लालाई लिजमा दिऔँ  । अमेरिकालाई दिऊँ, चाइनालाई दिऊँ, भारतलाई दिऊँ । बजेट नै जाँदैन भने त्यो जिल्लालाई किन राख्ने ? ट्याक्स मात्र लिन राख्ने?’

त्यसपछि सिंहले शहरी विकास मन्त्रालयको उदाहरण दिँदै काठमाडौंं र सर्लाहीमा परेको बजेटको विनियोजन भएको विषय उठाए ।

त्यसपछि एमाले प्रमुख सचेतक महेश बर्तौलाले नियामत्ति जनाउँदै सिंहले बोलेको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन र सिंहलाई कारबाही गर्न माग गरे । उनले सिंहको अभिव्यक्ति राष्ट्रघाती रहेको बताएका थिए ।

सभामुख घिमिरेले सिंहको अभिव्यक्ति असंसदीय रहेको भन्दै त्यसलाई रेकर्डबाट हटाउन रुलिङ गरे । तर, बोल्न रोस्ट्रममा उभिएका सिंहले भने एमालेको माग मात्र सुन्ने सभामुखको रुलिङ नमान्ने बताए । उनले स्वतन्त्र सांसदहरूलाई मात्र सभामुखले रुलिङ गर्ने गरेको र एमालेको मात्र कुरा सुनेको आरोप लगाए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved