काठमाडौं । हामीमध्ये धेरैले पिरो खान मन पराउँछौँ । कसैले पिरो खानु स्वास्थ्यका हिसाबले हानिकारक मान्छन् भने कसैले पिरो खानाले स्वास्थ्यलाई फाइदा पुर्याउने तर्क गर्छन् । तर, के तपाईंलाई थाहा छ ? यही पिरोले हाम्रो जीवन लम्ब्याउन सक्छ भन्ने कुरा वैज्ञानिकहरूले प्रमाणित गरिसकेका छन् ।
सन् २०२० मा भएको एक अनुसन्धानका अनुसार, खुर्सानीले भरपुर खाना खानाले मोटोपना, मुटुसँग सम्बन्धित रोग र मधुमेहको जोखिम कम गर्न सक्छ ।
अमेरिकन जर्नल अफ प्रिभेन्टिव कार्डियोलोजीमा प्रकाशित अध्ययनअनुसार जसले धेरै खुर्सानी खान्थे, तिनीहरूमा समयभन्दा पहिले मृत्युको जोखिम नखानेको तुलनामा २५ प्रतिशत कम थियो ।
खुर्सानीमा छ लुकेको शक्ति
खुर्सानीको पिरोपना दिने तत्त्व क्याप्साइसिन भन्ने यौगिक हो । यसले शरीरको TRPV1 रिसेप्टर सक्रिय पार्छ, जसले एड्रेनालिन उत्पादन बढाउँछ ।
फलस्वरूप यसले शरीरमा बोसो पगाल्छ, ब्लड सुगर नियन्त्रणमा आउँछ र दीर्घकालीन रोगहरूको जोखिम कम हुन्छ । त्यति मात्र होइन, खुर्सानीले शरीर सुन्निएको पनि घटाउँछ, जुन मुटुका रोग, मधुमेह र क्यान्सरजस्ता रोगहरूको मुख्य कारण मानिन्छ ।
पिरो खान कसरी सुरु गर्ने ?
यदि तपाईंले पिरो खान सक्नुहुन्न भने सुरुमा थोरै पिरो जस्तै जिरे खुर्सानी खानामा प्रयोग गर्न सक्नुहुन्छ । बिस्तारै शरीरको सहनशीलता बढ्दै जाँदा तपाईं अन्य पिरोको विकल्पमा जान सक्नुहुन्छ । एक हप्ता २–४ दिन पिरो खान खानु स्वास्थ्यका लागि राम्रो मानिन्छ ।
(नोट : यो जानकारी स्वस्थ व्यक्तिहरूका लागि मात्र हो। यदि तपाईं बिरामी हुनुहुन्छ वा कुनै औषधि सेवन गर्दै हुनुहुन्छ भने पिरो खानुअघि आफ्नो डाक्टरसँग परामर्श लिनुहोस्।)
Facebook Comment
Comment