नेदरल्याण्ड्समाथि नेपालको जित, कुशल भुर्तेलको अर्धशतक

नेपालभ्युज

नेदरल्याण्ड्समाथि नेपालको जित, कुशल भुर्तेलको अर्धशतक

काठमाडौं । कुशल भुर्तेलको शानदार अर्धशतकको मद्दतले नेपालले स्कटल्याण्डमा जारी त्रिदेशीय टी-२० आई शृङ्खलामा आफ्नो दोस्रो जित दर्ता गरेको छ । ग्लास्गोमा बिहीबार भएको खेलमा नेपालले नेदरल्याण्ड्सलाई ६ विकेटले पराजित गर्दै प्रभावशाली जित हात पारेको हो ।

नेदरल्याण्ड्सले दिएको १७५ रनको लक्ष्य नेपालले १९.४ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्‍यो । नेपालका लागि ओपनर कुशल भुर्तेलले सर्वाधिक ६५ रन बनाए । ५१ बल खेलेका उनले ६ चौका प्रहार गरे । यस्तै, आरिफ शेखले ३९ रन बनाए तर नेपालको स्कोर १६८ रन हुँदा रिटायर्ड हर्ट भए । टी-२० आईमा डेब्यु गरेका भीम सार्कीले २७ रनको योगदान दिए ।

बलिङतर्फ, नेदरल्याण्ड्सका बेन फ्लेचर, आर्यन दत्त, रोलफ भान डर मर्वे र जाच लायन काचेटले १-१ विकेट लिए । त्यसअघि, टस हारेर पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्सले २० ओभरमा ७ विकेट गुमाएर १७४ रन बनाउँदै नेपाललाई १७५ रनको लक्ष्य दिएको थियो ।

नेदरल्याण्ड्सका लागि ओपनिङ ब्याटर माइकल लेभिटले ५३ बलमा ६ चौका र ५ छक्कासहित ८६ रनको आक्रामक पारी खेले । भेट्रान अलराउण्डर रोलफ भान डर मर्वेले २१ बलमा अविजित ३६ रन बनाए ।

नेपालका लागि करण केसीले ४ ओभरमा ४० रन दिएर २ विकेट लिए । त्यस्तै, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, सन्दीप लामिछाने र रुपेश सिंहले १-१ विकेट लिए ।

नेपालले अब शृङ्खलाको अन्तिम खेल  आज स्कटल्याण्डसँग खेल्दैछ । यसअघि नेपाल नेदरल्याण्ड्ससँगको एक खेलमा तीन सुपर ओभरमा पराजित भएको थियो भने स्कटल्याण्डलाई  पराजित गरेको थियो ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved