काठमाडौं । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेटको प्रभावकारी कार्यान्वयनमा आशंका नगर्न आग्रह गरेका छन् ।
सोमबार प्रतिनिधिसभा बैठकमा बजेटमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै उनले बजेटको घोषणा मात्रैले नपुग्ने र त्यसको प्राण कार्यान्वयनमा रहने कुरामा सरकार स्पष्ट रहेको बताए ।
बजेटको कार्यान्वनमा सम्बद्ध मन्त्रालय र आयोजना प्रमुखहरूलाई जवाफदेही बनाइने मन्त्री पौडेलले स्पष्ट पारे । उनले बजेटलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न योजना तयार गरेर अघि बढ्ने जानकारी दिए ।
मन्त्री पौडेलले बजेट निर्माणमा स्रोतको प्रस्ताव कार्यान्वयनयोग्य हुनुपर्नेमा आफू होसियार भएको धारणा राखे । त्यस्तै उनले आगामी आर्थिक वर्षको बजेटमा तीन करोड रुपैयाँभन्दा कम लागतका नयाँ आयोजना नराख्ने सरकारको नीति रहेको उल्लेख गरे ।
सम्पन्न हुने अवस्थामा पुगेका आयोजनाहरूमा भने ३ करोडभन्दा कम रकम विनियोजन गर्नु परेको उनको भनाइ छ ।
मन्त्री पौडेलले निजी क्षेत्रलाई विद्युत् उत्पादन र व्यापार गर्न खुला गर्ने गरी विधुत विधेयक सदनमा विचाराधीन रहेको जानकारी दिँदै उक्त विधेयक पारित भएपछि विधुत प्राधिकरणले मात्रै विद्युत् बिक्री गर्नुपर्ने अवस्थाको अन्त्य हुने उल्लेख गरे । ‘अब निजी क्षेत्रले समेत विद्युत् व्यापार गर्न पाउने भएकाले टेक एन्ड पे को चिन्ता गर्नु पर्दैन,’ उनले भने ।
अर्थमन्त्री पौडेलले ऋणको सन्दर्भमा बित्त आयोगले निर्धारण गरेको ५ दशमलव ५ प्रतिशतको सीमाभन्दा कम ५ प्रतिशत ३ प्रतिशतमात्रै आन्तरिक ऋण उठाउने प्रस्ताव गरिएको जानकारी दिए ।
प्रतिनिधिसभामा अर्थमन्त्री पौडेलले जवाफ दिइरहँदा प्रतिपक्षी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले निरन्तर नाराबाजी गरेको थियो ।
रास्वपाका सांसदहरूले नारावाजी गर्दा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बहिष्कार गरेको छ ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने र त्यसबारे उच्चस्तरीय छानबिन हुनुपर्ने माग राखी रास्वपा र राप्रपाले बैठक अवरोध गर्दै आएका छन् ।
Facebook Comment
Comment