अष्ट्रेलियामा नेपाली समुदायमाथि लक्षित आक्रमणको एनआरएनएले गर्‍यो भर्त्सना

नेपालभ्युज

अष्ट्रेलियामा नेपाली समुदायमाथि लक्षित आक्रमणको एनआरएनएले गर्‍यो भर्त्सना

काठमाडौं ।  गैर-आवासीय नेपाली संघ (NRNA) अष्ट्रेलियाले अष्ट्रेलियामा नेपाली समुदायका सदस्यहरूमाथि भएका हालका जघन्य र लक्षित हिंसात्मक कार्य तथा लुटपाटको भर्त्सना गरेको छ। एनआरएनए अष्ट्रेलियाका अध्यक्ष अनिल पोखरेलले आइतबार एक विज्ञप्ति जारी गर्दै  हिंसात्मक कार्य तथा लुटपाटको कडा शब्दमा निन्दा गरेका हुन् ।

पोखरेलले  क्विन्सल्याण्डको  चेर्मसाइडस्थित श्री गणेश ज्वेलर्समा  जुनमा भएको क्रूर सशस्त्र लुटपाट र त्यसअघि लुटविचेमा रहेको नेपाली स्वामित्वको ज्वेलरी स्टोरमा  मेमा   भएको लुटपाटप्रति गहिरो दुःख व्यक्त गरेका छन्  ।  उनले यी घटनाहरूले नेपाली समुदाय माथि लक्षित आक्रमणको चिन्ताजनक प्रवृत्तिलाई प्रतिबिम्बित गर्ने बताएका छन् ।  तस्मानियामा पनि  गत वर्ष नेपाली समुदायका सदस्यहरूले जातीय दुर्व्यवहार, शारीरिक धम्की र तोडफोडका  घटनाहरूको सामना गरेको विज्ञप्तिमा उल्लेख छ ।

एनआरएनए अष्ट्रेलियाले अष्ट्रेलिया एक गर्वले बहुसांस्कृतिक समाज भएको र यसको विविधताले गर्दा यो अझ बलियो र समृद्ध भएको बताएको छ। संघले यी अपमानजनक र कायरतापूर्ण कार्यहरू आपराधिक मात्र नभई मौलिक रूपमा ‘अष्ट्रेलियन’ समेत नरहेको टिप्पणी गरेको छ।

पीडित र उनीहरूका परिवारहरूप्रति ऐक्यबद्धता जनाउँदै, एनआरएनए अष्ट्रेलियाले सरकारका सबै तह र कानून प्रवर्तन अधिकारीहरूलाई यी मामिलाहरूलाई अत्यन्त गम्भीरताका साथ लिन र सबै समुदायका लागि न्याय, सुरक्षा र मर्यादा सुनिश्चित गर्न द्रुत कदम चाल्न विज्ञिप्तिमार्फत आग्रह गरेको छ।

नेपाली डायस्पोराको प्रमुख प्रतिनिधि संस्थाको रूपमा, एनआरएनए अष्ट्रेलिया नेपाली अष्ट्रेलियालीहरूको कल्याण, सुरक्षा र अधिकारको वकालत गर्न प्रतिबद्ध रहेको जनाएको छ। संघले सबै राज्य र क्षेत्रहरूमा आफ्नो स्थापित सञ्जाल रहेको र प्रभावित व्यक्ति तथा परिवारहरूलाई सम्भव भएसम्म हर प्रकारले सहयोग र समर्थन गर्न तयार रहेको बताएको छ।

अध्यक्ष पोखरेलद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, “अष्ट्रेलिया सबैका लागि, पृष्ठभूमि जस्तोसुकै भए पनि, सुरक्षित र समावेशी घर बनिरहोस् भन्ने सुनिश्चित गर्न हामी सबै मिलेर काम गरौं।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved