एजेन्सी । अमेरिकी सरकारका स्रोतहरूले दिएको जानकारीअनुसार इराकको बग्दादमा रहेको अमेरिकी दूतावासका गैर-आवश्यक कर्मचारी र अन्य व्यक्तिहरू सुरक्षा खतराका कारण इराक छोड्दै छन् । अधिकारीहरूले उनीहरूले इराक छोड्नुको कारण स्पष्ट रूपमा बताएका छैनन् । तर हालै इरानको आणविक कार्यक्रममा अड्किएको वार्ता यसको एक कारण हुन सक्छ ।
अमेरिकी विदेश मन्त्रालयका एक अधिकारीले बीबीसीलाई भने, ‘हामी हाम्रा सबै दूतावासहरूमा कर्मचारीहरूको उचित अवस्थाको मूल्याङ्कन गरिरहेका छौँ । हालको विश्लेषणको आधारमा हामीले इराकमा हाम्रो उपस्थिति घटाउने निर्णय गरेका छौँ ।’ अमेरिकाले यो कदम इरानसँग धेरै हप्तासम्म चलेको वार्तापछि चालेको हो । राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई आणविक हतियार विकास गर्नबाट रोक्ने सम्झौतामा पुग्ने आशा व्यक्त गरेका थिए ।
ट्रम्पले बुधबार भने कि उनलाई इरानले युरेनियम संवर्धन बन्द गर्नेछ भन्नेमा कम विश्वास छ ।
ट्रम्पले यस हप्ताको सुरुमा इजरायलका प्रधानमन्त्रीसँग ४० मिनेटको फोन कुराकानी गरेका थिए, जसलाई ‘तनावपूर्ण’ भनिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार एक पोडकास्टमा भने कि उनलाई इरानको आणविक कार्यक्रममा कुनै सम्झौता हुनेमा कम विश्वास छ ।
अमेरिका चाहन्छ कि इरानले युरेनियम संवर्धन बन्द गरोस्, जसको प्रयोग आणविक बम बनाउन सकिन्छ । यसको बदलामा अमेरिकाले इरानमाथिको आर्थिक प्रतिबन्धहरूमा केही राहत दिनेछ ।
यता, इरानका रक्षा मन्त्री अजिज नसिरजादेले भने कि यदि वार्ता सफल भएन र ट्रम्पले इरानविरुद्ध सैन्य आक्रमणको आदेश दिए भने इरानले यस क्षेत्रमा रहेका अमेरिकी अड्डाहरूमा जवाफी कारबाही गर्नेछ ।
समाचार एजेन्सी रोयटर्सको रिपोर्टअनुसार अमेरिकी रक्षा सचिव पीट हेगसेथले कुवेत र बहराइनलगायत मध्य-पूर्वका देशहरूबाट अमेरिकी सैन्य कर्मचारीका परिवारहरूलाई फिर्ता आउन अनुमति दिएका छन् । हेगसेथले बुधबार एक कंग्रेस प्यानलसामु भने, ‘मलाई लाग्छ कि ‘धेरै संकेतहरू छन् । इरान कुनै यस्तो चीजतर्फ अघि बढिरहेको छ, जो आणविक हतियारको नजिक छ ।’
यद्यपि, इरानले उसको युरेनियम संवर्धन कार्यक्रम ऊर्जा उत्पादनका लागि भएको र उसले आणविक बम बनाउने प्रयास नगरेको बताइरहेको छ ।
बुधबार नै बेलायतको म्यारिटाइम ट्रेड अर्गनाइजेसन, जो रोयल नेभीको हिस्सा हो, ले चेतावनी जारी गर्दै मध्य-पूर्वमा सैन्य तनाव बढ्दा शिपिंगमा असर पर्न सक्ने बताएको थियो ।
अमेरिकी दूतावासले यी कदमहरू चालेको खबर आएपछि तेलको मूल्यमा चार प्रतिशतभन्दा बढी वृद्धि भएको छ । क्षेत्रमा असुरक्षाको अवस्थाले आपूर्तिसम्बन्धी समस्याहरू उत्पन्न हुने आशंका छ । मध्य-पूर्व विश्वको एक महत्वपूर्ण तेल आपूर्तिकर्ता क्षेत्र हो ।
इराकमा करिब २,५०० अमेरिकी सैनिक तैनाथ छन् । वासिङ्टन पोस्टले बुधबार रिपोर्ट गरेको थियो कि इरानमाथि सम्भावित इजरायली आक्रमणको आशंकालाई ध्यानमा राख्दै अमेरिकाले इराकबाट केही कर्मचारीहरूलाई निकाल्ने अनुमति दिएको छ ।
यसबाहेक, पेन्टागनले मध्य-पूर्वमा सैन्य परिवारका सदस्यहरूको फिर्तीलाई स्वीकृति दिएको छ । अमेरिकी उपराष्ट्रपति जेडी भान्सले बुधबार केनेडी सेन्टरमा भने कि उनलाई थाहा छैन कि इरानले आणविक हतियार चाहन्छ कि चाहँदैन ।
त्यसपछि द जेरुसेलम पोस्टलाई एक स्रोतले बतायो कि अमेरिका र इरानको आणविक कार्यक्रमबारे छैटौँ चरणको वार्ता हुने सम्भावना कम छ ।
अमेरिकी राष्ट्रपति ट्रम्पले यस सम्बन्धमा एक प्रश्नको जवाफ दिँदै भने कि तपाईंलाई चाँडै थाहा हुनेछ । तर पछि उनले भने, ‘अमेरिकी कर्मचारीहरू मध्य-पूर्व छोड्दै छन् । यो खतरनाक ठाउँ हुन सक्छ । हामी हेर्छौँ के हुन्छ । इरानसँग आणविक हतियार हुनु हुँदैन । हामी त्यसलाई अनुमति दिँदैनौँ ।’
यता, द टाइम्स अफ इजरायलका अनुसार अमेरिका र इरानबीच आणविक कार्यक्रमबारे छैटौँ चरणको वार्ताबारे एक स्रोतले भन्यो कि मिटिङ कहिल्यै पक्का भएको थिएन र अहिले पनि त्यही अवस्था छ ।
राष्ट्रपति ट्रम्पले पनि यस्ता संकेत दिएका छन् कि उनलाई इरानसँगको वार्ता सफल हुने आशा कम छ । उनले न्यूयोर्क पोस्टको ‘पोड फोर्स वन’ पोडकास्टमा भने कि उनी यो सम्झौताबारे कम आश्वस्त छन् ।
सोमबार एक अन्तर्वार्तामा ट्रम्पले भने, ‘उनीहरू ढिलाइ गरिरहेका छन् । मलाई लाग्छ यो लज्जास्पद छ । म अब त्यति आश्वस्त छैन जति केही महिना अघि थिएँ । उनीहरू (इरान) सँग केही भएको छ ।’
द टाइम्स अफ इजरायलका अनुसार इरानका रक्षा मन्त्री अजिज नसिरजादेले बुधबार पत्रकारहरूसँग भने कि उनलाई अमेरिकासँगको वार्ताबाट नतिजा निस्कने आशा छ ।
उनले भने, ‘यदि हामीमाथि युद्ध थोपारियो भने स्वाभाविक रूपमा विपक्षी पक्षलाई हामीभन्दा बढी क्षति हुनेछ । यही अवस्थामा अमेरिकाले यो क्षेत्र छोड्नुपर्छ । उनीहरूका सबै अड्डाहरूमा हाम्रो पहुँच छ र हामी ती सबै अड्डाहरूलाई निशाना बनाउनेछौँ ।’
यता, अमेरिकी राष्ट्रपति ट्रम्पले ट्रुथमा एक पोस्ट गर्दै आणविक सम्झौता नभएको अवस्थामा इरानमाथि बमबारी गर्ने चेतावनी दिएका छन् ।
उनले लेखेका छन्, ‘आगामी दिनहरूमा अमेरिकी सेनाले वैभव देखाउनेछ । तपाईं (सेना) ले अमेरिकी भूमिको प्रत्येक इन्चको रक्षा गर्नुहुनेछ । पृथ्वीको प्रत्येक कुनासम्म अमेरिकाको रक्षा गर्नुहुनेछ ।’
Facebook Comment
Comment